पहिरोले विद्यालयको दुईकोठे भवन पुरियो

दैलेख । जिल्लाको महाँवु गाउँपालिका– ५ मा रहेको एक विद्यालयमा निर्माण गरिएको दुईकोठे भवन पहिरोले पुरिएको छ । विद्यालय माथिबाट पहिरो आएपछि श्री सरस्वती प्राथमिक विद्यालय काशिकाँध–६ साजु डाँडाखर्कमा निर्माण गरिएको उक्त दुईकोठे पक्की भवन निर्माण पुरा गरेको एक हप्ता नपुग्दै पुरिएको हो । करिब १६ लाखमा निर्माण भएको उक्त भवन निर्माण सम्पन्न भएको केही दिनमै पहिरोले पुरेपछि विद्यालय नै जोखिममा परेको छ ।

भौगोलिक अवस्थालाई नहेरी विद्यालयको भवन पहिरो जाने स्थानमा बनाएको कारण भवन माथिबाट पहिरो आएर भवन पुरिएको र भवन निर्माण गर्दा घाटा लागेको कारण काम गर्ने कामदारलाई ज्याला घटाएर दिन खोजिएको स्थानीयले आरोप लगाएका छन् । उक्त भवनको उपभोक्ता समिति एउटा छ, विद्यालयमा काम भने दोस्रो व्यक्तिले गराएका छन् ।

उनका अनुसार यस विद्यालयको दुईकोठे पक्की भवन निर्माणको रकम गाउँपालिकाबाट फेरफार भइसकेको र विद्यालयमा पहिरोले क्षति पुर्याएको कारण समस्या परेको छ । विकासको पहिलो खुड्किलो सडक नै भए पनि ग्रामीणस्तरमा खनिएका कतिपय सडक तथा विकास निर्माणका कामहरू भौगोलिकतालाई ध्यान नदिई बनाइँदा आम नागरिकहरू जोखिम मोल्न बाध्य छन् ।

ग्रामीणस्तरमा बनेका सडक होस् वा कुनै पनि भवन तथा विकासका गतिविधिहरू मापदण्ड नहेरी हचुवाको भरमा निर्माण गर्दा कतै पहिरोको जोखिम हुने गरेको छ भने गाउँ बस्तीमा खनिने अधिकांश सडकहरू मनोमानी खनिँदा डोजर चालक नै इन्जिनियर हुने गरेका छन् । गाउँमा निर्माण गरिएका विकासका आयोजना हतारमा काम सक्नुपर्ने बाध्यताले काम गुणस्तर नहेरी निर्माण गरिन्छन् ।

आर्थिक वर्ष सुरु हुँदा बजेट पारित भएपनि आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका कामहरू गर्ने प्रवृत्तिले सधैँका वर्ष जस्तै यस वर्ष पनि कतिपय गाउँबस्तीहरू पहिरोको जोखिम रहेको देखिन्छ । गत हप्ता लगातार परेको पानीले भगवतीमाई गाउँपालिका– ३ सान्तडा लगायतका अन्य धेरै ठाउँका किसानहरूले रोपेका खेतहरू बगरमा परणित भएका छन् ।

किसानले रोपेका खेत र रोप्न ठिक्क पारेको बिउ कच्ची सडकका कारण खेतहरू पुरिएर बगर बनेका हुन् । वर्ष भरी खानको लागि लगाउने गरेको धान सडकका कारण बगर भइदिँदा स्थानीय किसानलाई समस्या परेको भगवतीमाई गाउँपालिका– ३ का अध्यक्ष दानबहादुर खड्काले बताए ।

डोजर प्रयोग गरेर निर्माण गरिएका सडकहरू पानी पर्नासाथ भत्किने र सामान्यबाट जटिल पहिरोको रूप लिने गरेको स्थानीयले बताउने गरेका छन् । भगवतीमाई गाउँपालिकाका अन्य ठाउँमा सामान्य क्षेती भए पनि वडा नं. ३ को सान्तडा, कइन्तडा, भगवतीमाई गाउँपालिका वडा ५ मलुकाका नरु शाहीको १० कट्ठा मकै र उनको घरसमेत क्षति भएको इलाका प्रहरी चौकी बेस्तडाका असई जितबहादुर खड्काले बताए ।

प्रतिक्रिया