देश भक्ति प्रति लांक्षित गर्नु अन्याय

नेकपा माओवादी केन्द्रसँग चुनावी एकता गर्दा कमरेड प्रचण्ड राष्ट्रवादी भए । पार्टी एकता गर्दा महान राष्ट्रवादी नहुने कुरै भएन । संसदीय दलको नेतामा सर्वसम्मति हुदाँ सवै राष्ट्रवादी भएकै हुन । सचिवालयले लिम्पियााधुरा–लिपुलेक र कालापानी सहितको नक्सा जारी गर्न निर्देशन दिदाँ झन राष्ट्रवादी भए । कालापानी सहितको नक्सालाई लिएर सर्वसम्मतिबाट संविधान संसोधन गर्दा राष्ट्रवादी नहुने कुरै भएन । नागरिकता विधेयक सर्वसम्मतिमा पारित गर्दा अझ अखण्ड राष्ट्रवादी भएका सवै नेताहरू कसैको पद धरापमा पर्ने वित्तिकै हठात राष्ट्रघाती

राष्ट्र प्रेम र राष्ट्र मोह फरक कुरा हुन् । प्रेमले समर्पण गर्दछ, मोहले आकर्षण खोज्दछ । हामी राष्ट्र प्रेम गर्छौ । देशप्रति माया गर्छौ भने निश्वार्थ आफुलाई देशका लागि समर्पण गराैँ । होईन राष्ट्रबाट मोह राखेका हौ भने जे गर्दा पनि हुन्छ । जे भए पनि राष्ट्र प्रेमलाई कमसेकम आफ्नो पदिय स्वार्थको निम्ती सौदावाजीको विषय वनाउने काम नगरौँ । समस्या जहाँ छ त्यही छलफल गरौँ र समाधान निकालाैँ । समस्या एकातिर छ अरू चिज देखाएर दुनियाँको आखामा धुलो छर्ने काम नगराैँ । आफ्नो दुनिँया दारी मोह मायालाई राष्ट्रवादसँग जोडेर कमसेकम देश र जनताको निम्ती जीवन बिताएका व्यक्तिहरूलाई पदपन्थी अनुचर लगाएर बदनाम गर्ने अन्याय नगराैँ ।

कुनै पनि व्यक्तिको चरित्र एक दिन या एउटा घट्ना क्रमले निश्चित गर्दैन । एउटा घट्नामा मानिस भूल या खास कारण ले फस्न सक्छ । खास बेलामा मान्छेको एउटा होइन धेरै कमजोरी क्षम्य हुन सक्छन् । व्यक्तिको मनसाय र नियत खराव छैन भने धेरै कुरा मिल्न सक्छ । तर, बार–बार त्यही कुरा भई रहन्छ, जानेर वा हेपेर पनि हुन्छ । अनी योजना बनाएर भई नै रहन्छ भने अर्को पक्षले सही रहनु पर्ने वाध्यता हुदैँन । त्यस्तो काम चाहे राष्ट्रवादका नाममा होस, चाहे लोकतन्त्र, गणतन्त्र र अन्य कुनै नाममा । वरिपरि भएका सवैले त्यसलाई नतमस्तक भएर स्वीकार गरिदिनु पर्छ भन्ने आशा गर्नु हुदैन । ठिक–वेठिक छुट्याउने, सत्य–असत्य पहिचान गर्ने हरेकका अधिकार सुरक्षित छन् ।

प्रसंग अहिले नेकपा भित्र देखिएको अन्तरविरोध र सामाजिक सञ्जालमा छाएकोे अनर्गल प्रचारको हो । सामाजिक सञ्जालमा एकथरी मान्छेहरूले पार्टीका अध्यक्ष देखि वरिष्ठ नेताहरूलाई छिमेकी राष्ट्रसँग जोडेर वहाँहरूको राष्ट्रभक्ति माथि प्रश्न उठाउने दुष्कर्म गरिरहेका छन् । त्यती मात्र होईन् तल्लो स्तरमा ओर्लेर लाक्षित गर्ने प्रयास गरि रहेका छन् । यसले ति व्यक्तिहरूलाई क्षणिक आनन्द त आयो होला तर देशलाई भने कुनै फाईदा हुँदैन । मान्छेहरूले आफ्नो देश र जनताको निम्ती जीवन बिताएका छन् । कतिपयले सारा चिज गुमाएका छन् । अझैपनि सम्पूर्ण त्याग र समर्पणका साथ लागि रहेका छन् । उनिहरूको देशप्रेम प्रति नै लक्षित गर्नु सर्वथा अनुचित र निन्दनिय कार्य हो । अझ देश प्रेम प्रतिको लान्छना पनि कसैको पदसँग जोडेर गर्नु झन अनुचित र अमान्य कुकर्म हो ।

महाकाली सन्धिमा सघाउँदै गर्दा माधवकुमार नेपाल राष्ट्रवादी भए । आठौ महाधिवेशनमा अध्यक्ष बनाउन प्रस्ताव गर्दा तीनै नेपाल भयंकर राष्ट्रवादी थिए । पार्टी एकताको पहिलो चरणमा झलनाथ खनाललाई तल झारेर वरिष्ट नेता बनाउँदै गर्दा माधवकुमार नेपाल सुपर राष्ट्रवादी भए । अहिले कता कस्को पद शंकटमा पर्यो उनै वरिष्ठ नेता नेपाल पदलोलुप र अरूको इशारामा चल्ने गोटी भए

नेकपा माओवादी केन्द्रसँग चुनावी एकता गर्दा कमरेड प्रचण्ड राष्ट्रवादी भए । पार्टी एकता गर्दा महान राष्ट्रवादी नहुने कुरै भएन । संसदीय दलको नेतामा सर्वसम्मति हुदाँ सवै राष्ट्रवादी भएकै हुन । सचिवालयले लिम्पियााधुरा–लिपुलेक र कालापानी सहितको नक्सा जारी गर्न निर्देशन दिदाँ झन राष्ट्रवादी भए । कालापानी सहितको नक्सालाई लिएर सर्वसम्मतिबाट संविधान संसोधन गर्दा राष्ट्रवादी नहुने कुरै भएन । नागरिकता विधेयक सर्वसम्मतिमा पारित गर्दा अझ अखण्ड राष्ट्रवादी भएका सवै नेताहरू कसैको पद धरापमा पर्ने वित्तिकै हठात राष्ट्रघाती र अन्य देशको भान्छे देख्ने कुरा चरम स्वार्थ प्रेरित दृष्टीदोष वाहेक अरू केही हुनै सक्दैन ।

लिम्पियाधुरा लिपुलेक र कालापानी समेतलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने, उक्त नक्सा सहितको संविधान संसोधन गरेर निसान छाप परिवर्तन गर्ने र वैवाहिक अंगिकृत नेपालीका शन्दर्भमा नागरिकता विध्येकमा आवश्यक संसोधन गर्ने विषयको निर्णय र सिफारिस पार्टीको सचिवालयले सर्वसम्मतिबाट गरेको हो । त्यहाँ राष्ट्रियताको पक्षमा सिगो पार्टी उभिएको हो । नेकपासँगै प्रमुख प्रतिपक्ष र अरू दलहरू समेत सिंगो देश एक ढिक्का भएको हो । अनी राष्ट्रवादलाई चाहिँ एक जनाको मात्र रक्षा कवच बनाएर प्रचार गर्ने कुरा कसरी तर्क संगत हुन्छ ? यो अहंकार वोकेर हामी अघि जान सक्दैनौ । यस्तो खालको दोषी चस्मा हामीले लगाई रहनु हुदैन ।

महाकाली सन्धिमा सघाउँदै गर्दा माधवकुमार नेपाल राष्ट्रवादी भए । आठौ महाधिवेशनमा अध्यक्ष बनाउन प्रस्ताव गर्दा तीनै नेपाल भयंकर राष्ट्रवादी थिए । पार्टी एकताको पहिलो चरणमा झलनाथ खनाललाई तल झारेर वरिष्ट नेता बनाउँदै गर्दा माधवकुमार नेपाल सुपर राष्ट्रवादी भए । अहिले कता कस्को पद शंकटमा पर्यो उनै वरिष्ठ नेता नेपाल पदलोलुप र अरूको इशारामा चल्ने गोटी भए ? नवौँ महाधिवेशनमा पार्टी अध्यक्ष बनाउन मरी मेटेर लाग्दा वामदेव गौतम राष्ट्रवादी भए । दलको नेता बनाएर प्रधानमन्त्री बनाई दिदाँ कमरेड गौतम अतुलनीय राष्ट्रवादी हस्ती कहलिए । अस्तिको पाली आएको खड्गो टार्दा पनि उनी घनघोर राष्ट्रवादी नै थिए । अहिले एक दुई दिन भित्र आश्चर्य जनक ढंगले वहाहरूको चरित्र कसरी बदलिएछ ?

२०३९ सालमा महासचिव भएका झलनाथ खनाललाई मान्छेहरू राष्ट्रवादी नेताका रूपमा चिन्दछन् । महाकाली सन्धि गर्दा देखि एमसीसीसम्म उनले लिएका अडान राष्ट्रवादी छन् । प्रधानमन्त्री हुदाँ उनी पटक–पटक निम्ता आउँदा पनि पहिला भारत भ्रमणमा जाने नेपाली प्रधानमन्त्रीहरूको परम्परा तोड्ने प्रधानमन्त्री भएको कसैले भूलेको छैन । आज यस्ता व्यक्तित्वहरू सवैलाई विदेशीको इशारामा चलखेल गरेको आरोप लगाउनु कसरी उचित ठहर्छ । यो सव अनुचरहरूको पद बचाउ महिमा वाहेक केही पनि होइन । सवैले सधैनै नतमस्तक भएर पद दिलाउने र पद जोगाई दिने काम गरी दिए सुन्दर कार्य अन्यथा अलिकती आफ्नो भूमिका खोज्यो की अनेक आक्षेप लगाउने तरिका सरासर गलत र वेइमानी मात्र ठहरिन्छ ।

यस्तै पार्टीका आन्तरिक कार्यमा समेत स्पष्ट दुई वर्ग देखिन थालेको छ । कम्युनिस्ट पार्टीको आमसभाको मञ्चमा समेत मालिक र रैतीहरूलाई जस्तै छुट्टा छुट्टै आसनको व्यवस्था गर्न थालियो । पार्टीको वैठकमा स्पष्ट देखिने गरी फरक व्यवस्था गर्ने परम्परा बसाल्न खोजियो । अरू त अरू दुई अध्यक्षहरूका लागि समेत फरक व्यवस्था गरेर नेताहरूको हुर्मत लिन सुरू गरियो । आफु चाहिँ मालिक पार्टीका अरू नेता कार्यकर्ताहरुलाई चाहिँ रैती जस्तो बनाएर राख्ने अभ्यास सुरू भयो ।

लाखौ कार्यकर्ताहरूको लामो संघर्ष र वलिदानबाट प्राप्त वहुमतको सरकारलाई केवल आफ्नो निजी सत्ता जस्तो बनाएर पार्टीका आफुभन्दा वरिष्ठ र समान हैसियतका नेताहरूलाई समेत हेपेर व्यवहार गरेको दुनियाँले छर्लङ्गै देख्न थाले । त्यती मात्र होइन पार्टीलाई एकलौटी बनाएर सरकारका सवै राजनीतिक नियुक्तिहरूलाई केवल आफ्नो गुटको पेवा बनाएर सचिवालय, स्थायी कमिटी अनी सवै नेताहरू र पार्टीको संस्थागत परिपाटीको खिल्ली उडाउन सुरू गरियो । यसले नै अहिलेको स्थायी कमिटी वैठकमा विशिष्ट अवस्था देखियो ।

विरालोलाई कोठामा थुनेर सवै प्वालहरू वन्द गरी ठोक्न थालियो भने कप्पुमा समात्न आई पुग्छ । यहा त हामी जस्ता सचेत भुई मान्छेहरूको कुरा मात्र होइन । लामो संघर्षको इतिहास बोकेका, पटक–पटक देशको प्रधानमन्त्री र उपप्रधानमन्त्री भइसकेका व्यक्तिहरुकोे समेत कुराछ । कसैको पनि हुर्मत लिनुको पनि सिमा हुन्छ । पार्टीको कार्यकारी अध्यक्ष बनाएको छ । सामान्य वैठक गर्नको लागि समेत बक्साउनु पर्ने, त्यो पनि नदिएर हल्लाएको हल्लायै गरिएकोछ ।

आफु सरहको अध्यक्षको हुर्मत लिएको छ । पार्टीको वरिष्ठ नेता भनेको छ । कुनै सोधनी पुछनी छैन, पटक–पटक घटुवा र वढुवा गरेको छ, हुर्मत लिएको छ । पार्टीको उपाध्यक्षलाई वडाध्यक्षमा समेत हारेको व्यक्ति बसेको राष्ट्रियसभाको सदस्यमा समेत अयोग्य भन्दै प्रचार गरेको छ । आफु समेत बसेर सचिवालयले गरेको सिफारिस समेत कार्यान्वयन नगरेर अलमल्याऊने काम भएको छ । मान्छेले कती सहन्छ । सहनुको पनि सिमा हुन्छ, आखिर मान्छे न हो ।

पार्टी एकता भएको तीन वर्ष हुन लाग्यो । आफुलाई सर्व सक्षम अध्यक्षको नेतृत्वमा एकता प्रकृया बाटैमा हरायो । कमसे कम एकता प्रकृया टुंगो लगाएको भए स्यावास भन्ने ठाउ थियो । वैठक छल्ने र अलमल्याउने काम गरेर सारा समय वित्यो । यस्तो दिन आउला र पार्टीमा दरार ल्याउन सजिलो होला भनेर राखेको पक्कै होइन होला । त्यसो हो भने पनि जनता कार्यकर्ता कुनै हालतमा विभाजनको पक्षमा छैनन । सरकार बनेको तीन वर्ष हुन लाग्यो कता के भयो खोज्नु पर्ने अवस्था छ ।

लिम्पियाधुरा लिपुलेक र कालापानी को नक्सा जारी गर्ने कामले अली कती इज्जत धानेको थियो । फेरि पनि पार्टीमा व्याप्त असन्तुष्टीले छायामा पारेको छ । कार्यकर्तामा व्यापक निराशा छाएको छ । आम जनतामा आशा जगाउन सकिएको छैन । अव त सोच्नु पर्यो नी । जति जोगी आए पनि कानै चिरेका भने जस्तो सधै नैतीकताको खडेरी पार्न मिल्छ ?

भनिन्छ अहंकारले व्यक्तिको बुद्धि भ्रष्ट हुन्छ । बुद्धि भ्रष्ट व्यक्ति तर्क हिन हुन्छ । तर्क हिन व्यक्तिले कुतर्कको सहारा लिन्छ । कुतर्कको परिणाम व्यक्तिको अनिवार्य पतन हुन्छ । पतन हुने वेलामा कमिलाको प्वाँख आउछ, निभ्ने वेला को वत्ति वढि चम्किन्छ । अहिले वजारमा देखिएको कुतर्क पनि त्यस्तै पो होकी । यसरी कुतर्क नगरे राम्रो हुन्थ्यो ।

आखिर एउटै पार्टी हो, अझ एउटै कम्युनिस्ट आन्दोलन हो । दुनियाँ सवै हाम्रो सामुन्ने छ । सारा दुनियाँले कसलाई पो नचिनेको छ र । फेरि यहि संसारमा यिनै साथीहरूसँग काम गर्नु छ । विगतका थुप्रै अनुभव हाम्रो सामु छ । यती धेरै आत्तिनु पर्ने किन आवश्यकता ? तर्क संगत ढंगले छलफल गरौँ । समस्याको सहि समाधान निकालेर अघि वढाैँ ।

प्रतिक्रिया