फर्जी श्रम सम्झौताबाट युएई लगिएर बिचल्ली भएकी सन्जुको उद्धार

काठमाडौं । गत फेब्रुअरी २६ तारिखमा ललितपुरस्थित गल्फ ईनोभिजन म्यानपावरले रोजगारीको लागि भन्दै फर्जी श्रम सम्झौता बनाएर युएई पुर्याइ बिचल्ली भएकी चितवन माइत तथा स्थायी घर पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर ६ भएकी सन्जु लामा तामाङलाई उद्धार गरिएको छ ।

केही समयअघि मात्रै उनी युएईको दुबईमा बिचल्ली परेको खबर प्राप्त भएसँगै ‘फर्जी श्रम सम्झौता बनाएर दुबई पु¥याइएकी सन्जुको बिचल्ली’ शिर्षकको समाचार प्रकाशन गरिएको थियो भने उक्त समाचार प्रकाशन भएलगत्तै उनलाई उद्धारको कार्य सुरु गरिएको थियो । उद्धार कार्यमा नेपालबाट दुई जना पत्रकार बाबुराम सिग्देल, श्याम सुन्दर पुडासैनी र युएईमा रहेका बुलिङटार गाउँपालिका वडा नम्बर ६ मा नै स्थायी घर भएका भरत रानामगर को समन्वय भएको थियो ।

बिचल्ली अवस्थामा छटपटाएर बसेकी सन्जु लामा तामाङ यही असार १६ गते नेपाल एअरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबडी जहाजबाट स्वदेश फर्किएकी हुन् । उक्त जहाजमा सन्जुसहित १५३ जना नेपाली स्वदेश फर्किएका छन् । युएईबाट उनलाई स्वदेश फर्काउँन युएईबाटै टिकट खरिदलगायत विभिन्न विषयमा भरत रानामगरले सहजिकरण गरेका थिए भने नेपालबाट पत्रकारद्वय बाबुराम सिग्देल र श्यामसुन्दर पुडासैनीले सञ्चारमाध्यम लगायत विभिन्न क्षेत्रमा पहल गरेका थिए । शनिबार स्वदेश फर्किने मध्ये १८ महिला र १३५ जना पुरुष रहेका छन् ।

उक्त उडान पहिलो चरण अन्तरर्गत अन्तिम उडान हो । नेपाल एअरलाइन्सले यसअघि गत जुन १९ र २२ मा दुई उडान भरेको थियो । कोरोना भाइरसका कारण विश्वमै लकडाउन भएपछि विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन भन्दै नेपाल सरकारले युएईस्थित नेपाली दूतावासमा फारम भर्न भनेपछि सन्जुले पनि फारम भरेकी थिइन् । तर, उनले फारम भरेपनि नेपाल फर्कन पालो नपरेर नपाएपछि पटक–पटक फोन गर्दा पनि दूतावासमा फोन नउठेर पीडामाथि झन् पीडा थपिएको सन्जुले दुखेसो पोखेकी थिइन् ।

यता नेपालबाट उनलाई युएई पठाउने बेलामा म्यानपावरले उनीसँग एक लाख रुपैयाँ असुलेको सन्जुले बताइन् । उक्त म्यानपावरले सुरुमा एक लाख तीस हजार मागेको तर, सन्जुले एक लाख मात्रै दिएपछि बाँकी रकम पछि चुक्ता गर्नुपर्ने म्यानवापरले सर्त राखेको उनको भनाइ छ । दुबईको एक कम्पनीमा क्लिनर कामको लागि भनेर म्यानपावरले पठाएको थियो ।

                                                                               फर्जी श्रम सम्झौतापत्र

मासिक पारिश्रमिक १४ सय दिराममा एग्रिमेन्ट गराएर ८ घण्टा ड्युटी, बाँकी ओभर टाइम र हप्तामा एक दिन बिदा कम्पनीले दिने भनेर म्यानवापरले सन्जुलाई काठमाडौंबाट युएईको लागि उडाएको उनले बताएकी छन् । त्यसपछि सन्जु युएई पुग्दा त्यहाँ भने जस्तो काम, एग्रिमेन्टमा उल्लेख गरिए अनुसार पारिश्रमिक पनि नभएको उनले बताइन् ।

विदेशको नयाँ ठाउँमा छोरी मान्छे भएपछि सन्जु पहिलो दिन काममा गएको र एग्रिमेन्टमा भनिए अनुसार काम, पैसा तथा सेवा सुविधा केही नभएपछि दोस्रो दिनबाट आफू काममा नगएर नेपालमा म्यानपावरलाई सम्पर्क गरेर गुनासो राख्दासमेत म्यानपावरले उल्टै ‘त्यहाँ जे जस्तो काम लगाइन्छ, चुपचाप त्यही गर्नु, जे जति तलब दिन्छ, चुपचाप त्यति लिनु, नत्र अर्काको देशमा अफ्ठेरामा परिएला’ भन्दै चेतावनीको दिएको सन्जुको भनाइ छ ।

म्यानपावरले उनको समस्या नजरअन्दाज गरेपछि उनले विभिन्न निकायमा हारऔगुहार गरेकी थिइन् । सन्जु गएको उक्त कम्पनीले उल्टै पासपोर्ट खोसेर राखेको थियो । पासपोर्ट खोसेर राखे पनि कम्पनीले बस्नको लागि बास दिएको तर, आजै निस्की, भोलि निस्की भनेर दुव्र्यवहार गरेको सन्जुको भनाइ छ ।

यसरी बनाइएको थियो फर्जी श्रम सम्झौता

उनलाई विदेश पठाउनुभन्दा अगाडि श्रम सम्झौतामा हस्ताक्षर गर्न लगाएर म्यानपावरका प्रतिनिधिले सन्जुलाई श्रम सम्झौतापत्र दिएको र उक्त पत्रमा उनको आफ्नै फोटो नभएको सन्जुले बताइन् ।

त्यस पत्रमा फोटो अन्य कोही महिलाको टाँसीएको थियो । तर, नाम ठेगाना भने सन्जुकै रहेको थियो । उनले आफ्नै फोटो र नाम दुवै भएको पत्र नआएसम्म विदेश नजाने अडान लिए पनि म्यानपावरले हस्ताक्षर नगरे पनि विदेश पुर्याएको सन्जुको गुनासो छ ।

‘समाचार किन छपाइस् ? स्वदेश फर्काउँनबाट हात झिकिदिन्छु’

जब ‘फर्जी श्रम सम्झौता बनाएर दुबई पु¥याइएकी सन्जुको बिचल्ली’ शिर्षकको समाचार प्रकाशन भएपछि म्यानपावरका व्यवसायिले उल्टै सन्जुकी आमा धनमाया तामाङलाई म्यानपावरबाट फोन गरेर धम्कीको पारामा ‘समाचार किन छपाएको ? झन् तिम्रै छोरीको बेइज्जेत हुन्छ, यताबाट तिम्री छोरीलाई नेपाल फर्काउँनबाट हात झिकिदिन्छु’ भनेको सन्जुकी आमा धनमायाले बताएकी छन् ।

जब उक्त समाचार प्रकाशन भएपछि ती म्यानपावरका व्यवसायिको शरिरमा काँडा उम्रिएको पाइएको छ । उनकी आमाले भनिन्, ‘समाचार आएपछि मलाई म्यानपावरले फोन गरेर छोरीलाई नेपाल फर्कीनबाट बाधा पुर्याउन खोजेको थियो, तर मैले पनि साहस गरेर जवाफ दिएँ ।’

टिकट लिएर पासपोर्ट लिन जाँदा कम्पनीको पनि धम्की

ठूलो संघर्षले टिकट लिएर स्वदेश फर्कीन सन्जु आफू कामको लागि भनेर गएको उक्त कम्पनीले पनि उल्टै समाचार निकालेको भन्दै आफ्नो पासपोर्ट दिन आनकानी गरेको सन्जु लामा तामाङले बताएकी छन् । कम्पनीकै नेपाली नबुझ्ने एक विदेशीले समाचार किन छपाएको भन्दै धम्कीको व्यवहार गरेको उनको भनाइ छ ।

‘टिकट हातमा लिएर ढुक्कसँग पासपोर्ट लिन कम्पनीको कार्यालयमा पुगेँ, तर कम्पनीले त्यस्तो ब्यबहार गरेर त्यही कम्पनीमा कार्यरत पुरानो नेपाली दिदीलाई नेपाली समाचारमा के–के लेखिएको छ पढेर मलाई बुझाउ भन्यो,’ सन्जुले भनिन् । उनका परिवारमा उनिसहित श्रीमान र दुई छोरी रहेका छन् ।

के छ कानूनी बेवस्था ?

वैदेशिक रोजगार विभागले अरूको फोटो हालेर फर्जी सम्झौतापत्र जबरजस्ती हातमा थमाएर विदेश पठाउने कुनै पनि वैदेशिक रोजगार व्यवसायी एवं म्यानपावर कम्पनीहरुलाई कारबाही गरिने बताएको छ ।

देशका कुनै पनि म्यानपावरहरुले त्यस्ता खालका गतिविधि तथा ठगी गरेको उजुरी आएको खण्डमा तत्कालै कारबाहीको दायरा अघि बढाउने वैदेशिक रोजगार विभागले जनाएको छ । यस्ता किसिमका गतिविधि तथा अपराधका विषयमा वैदेशिक रोजगार ठगी र मानव बेचबिखन सम्बन्धी कानूनसमेत भएको विभागले जनाएको छ ।

स्वदेश फर्किएकी सन्जु लामा तामाङ

प्रतिक्रिया