‘महामारीको खराब चरण आउन बाँकी नै छ’

विश्व स्वास्थ्य संगठनका महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोरोना भाइरसको महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको बताएका छन्।

गत वर्षको डिसेम्बरदेखि चीनबाट फैलिइरहेको कोरोना भाइरस विश्वभरका एक करोडभन्दा धेरै मानिसमा संक्रमण भइसकेको छ भने पाँच लाख चार हजार ३४५ संक्रमितको ज्यान गएको छ।

महामारीकै कारण धेरै देशमा स्वास्थ्य प्रणाली निकै खराब भएको छ। विश्वभरको अर्थव्यवस्था र सामाजिक जनजीवनमा निकै असर परेको छ। यति धेरै मानवीय र आर्थिक–सामाजिक क्षति भइसक्दा पनि महामारीको सबैभन्दा खराब स्थिति आउन बाँकी नै रहेको उनले बताएका छन् ।

डा. टेड्रोसले सोमबार एक भचुअल ब्रिफिङमा भने, ‘यो महामारी चाँडै अन्त्य होस् भन्ने चाहन्छौं, तर सत्य यो हो कि हामी अझै यो महामारी अन्त्य हुने विन्दुबाट धेरै टाढा छौं। केही देशले नियन्त्रणमा लिएजस्तो देखिएपनि विश्वभर यो समस्या कायमै छ। राष्ट्रिय र विश्वव्यापी एकतामा कमी देखिएकाले भाइरस फैलन मद्दत मिलिरहेको छ, त्यसैले खराब समय आउन बाँकी नै छ।’

यदि विश्वभरका सरकारले महामारी नियन्त्रणका लागि सही नीतिहरु पालना गरेनन् भने यसले अरु धेरै मानिसलाई संक्रमित बनाउन सक्ने उनले बताएका छन्। महामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया र जापानले झैं काम गर्न टेड्रोसले आग्रह गरेका छन्। बीबीसी

प्रतिक्रिया