कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

कोरोना भाइरस महामारीका कारण विश्वभरि मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ। कुल संक्रमतिको संख्या एक करोड १० लाख जनाभन्दा बढी पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढी प्रभावित अमेरिकामा एक लाख २५ हजार जनाभन्दा धेरैले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या पनि सबैभन्दा बढी २५ लाख भन्दा धेरै पुगेको छ। अमेरिकामा संक्रमण झन् बढ्ने चिन्ता अधिकारीहरूले गरेका छन् ।

यस्तै भाइरसले दक्षिण एशिया र अफ्रिकालाई पनि प्रभावित पारेको छ र त्यो जुलाई महिनामा अझै उच्च विन्दुमा पुग्ने ठानिएको छ। विश्वका कुल संक्रमितमध्ये आधा अमेरिका र युरोपमा छन्।

बीबीसीका एक संवाददाता भन्छन्, ‘अधिकांश युरोपली देशहरूले त्यहाँ स्थिति नियन्त्रणमा रहेको विश्वास गरिरहेका बेला अमेरिकामा भने संक्रमण जंगलमा लागेको डढेलो जसरी फैलिरहेको छ।’

जोन्स् हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्यांक अनुसार अमेरिकापछि सबैभन्दा प्रभावित देश ब्रजिल हो। १३ लाखभन्दा बढी संक्रमित रहेको ब्रजिलमा ५७ हजार मानिसको मृत्यु भएको छ। त्यसपछि सबैभन्दा धेरैको मृत्यु हुने देशहरूमा ब्रिटेन, इटली र फ्रान्स छन्।

तर बढी संक्रमित भएका देशहरूमा तेस्रोस्थनमा रहेको रुसमा छ लाखभन्दा धेरै र भारतमा ५ लाखभन्दा बढी संक्रमित छन्। त्यस्तै पाँचौँ स्थानमा रहेको ब्रिटेनमा संक्रमितको संख्या तीनलाख भन्दा बढी छ। रुस र भारतमा मृत्यु हुनेको संख्या कम भए पनि संक्रमणको गति तीव्र छ। बीबीसी

प्रतिक्रिया