फिल्ममा नराम्रो अनुभव भोगेकी छुः साम्राज्ञी

काठमाडौं । आफूले काम गरेका केही चलचित्रमा नराम्रो व्यवहार भोग्नुपरेको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताएकी छन् । उनले अहिलेसम्म ८ वटा चलचित्रमा काम गरेको र यसमध्ये ३ वटा चलचित्रमा निकै नराम्रो व्यवहार भोग्नुपरेको जिकिर गरेकी छन् । आफूले के भोगे त्यो विषय बताउन नसक्ने उनले जनाएकी छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै आफूले चलचित्र क्षेत्रमा भोगेको नराम्रो व्यवहारका बारेमा चर्चा गरेकी छन् । उनले भिडियोमा भनेकी छन्, ‘मैले १७ वर्षको उमेरमा नै चलचित्र क्षेत्रमा डेब्यु गरेँ । त्यतिबेला चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनेर मलाई भन्नुहुन्थ्यो ।

हरेक चलचित्रको प्रमोसनमा पुग्दा मलाई किन घमण्डी हुनुहुन्छ भनेर प्रश्न सोधिन्थ्यो । यसले मलाई दिक्क बनाउथ्यो ।’ अभिनेत्री साम्राज्ञीले सो समयमा आफ्नाबारेमा धेरै ट्रोल बनेको उल्लेख गरेकी छन् । उनले काम गरेका प्रायः ब्यानरमा उनी दोहोरिएकी छैनन् । उनले यसबारेमा भनेकी छन्, ‘म नदोहोरिनुको कारण उहाँहरूले मलाई गर्ने व्यवहार नै हो ।

एउटा कलाकारले पाउनुपर्ने सम्मान पनि पाइँदैन यहाँ । कैयौं पटक ह्यारेसमेन्ट भएको छ । तर यी सबै कुरालाई सामान्य जस्तो सोचेर अनुहारमा खुसी देखाएर काम गर्नुपथ्र्यो ।’ अभिनेत्री साम्राज्ञीले चलचित्र सुटिङका बेला समयमै खाना, पानी उपलब्ध नहुँदा यसबारेमा बोल्दासमेत अपशब्द प्रयोग गरिएको गुनासो गरेकी छन् ।

उनले काम गर्नेवेला आफूलाई यस्तो विषयमा बोल्दा निकै नै नराम्रो व्यवहार भएको भन्दै धेरैबेर रोएर फेरि केही नभएजस्तो गरी काममा फर्किएको सुनाइन् । उनले आफूले काममा विश्वास गर्ने भएकाले त्यसप्रति उच्च सम्मान रहेको बताएकी छन् । अभिनेत्री साम्राज्ञीले चलचित्र क्षेत्रमा भोगेका दुखान्तका बारेमा आफूलाई केही निर्देशकले बोल्न हुँदैन भनेर सुनाएको बताइन् ।

उनले एक जना निर्देशकको रुष्ट व्यवहारको विषयमा आफूले सुनेको तर त्यस्तो हुनुहुन्न होला भनेर काम गरेको बताइन् । त्यसबारेमा उनले भनिन्, ‘तर, मैले काम गरेपछि सबै सोचाइहरू टुटेर गए । मेकरहरू यस्तो विषयमा बोल्न हुन्न भन्नुहुन्छ । तर यस्तो विषय बाहिर नआओस् भनेर सोच्ने मेकरले कलाकारलाई सम्मान गर्न पनि सिक्नुपर्छ ।’

भिडियोमा उनले आफूले यसबारेमा बोल्दा आफूलाई माया वा घृणा जे पनि आउन सक्ने जिकिर गरेकी छन् । तैपनि उनले आफूलाई नराम्रो प्रतिक्रियाको बानी परिसकेको उल्लेख गरेकी छन् । भिडियोमा भावुक देखिएकी उनले केही समयअघि फ्यानहरूसँग कुरा गर्दै आफूले अब पहिलेको जसरी धेरै चलचित्रमा काम नगर्ने बताएकी थिइन् ।

उनले ‘ड्रिम्स’ बाट चलचित्र क्षेत्रमा डेब्बु गरेकी थिएन् । अभिनेत्री साम्राज्ञीले अभिनय गरेको पछिल्लो चलचित्र अशोक शर्मा निर्देशित ‘रातो टिका निधारमा’ हो ।

प्रतिक्रिया