सप्तकोशीमा पानीको वहाव बढ्ने क्रम सुरु, ब्यारेजका २६ ढोका खोलियो

इनरुवा । तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा सुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आज मध्याह्न १२ः०० बजे गरिएको मापनानुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । अहिले कोशी ब्यारेजका २६ ढोका खुल्ला गरिएको छ ।

बिहीबार बिहान कोशी व्यारेज भएर एक लाख सात हजार क्युसेक प्रतिसेकेन्ड तथा १२ः०० बजे एक लाख १८ हजार क्युसेक प्रतिसेकेन्ड पानीको वहाव थियो । आज बिहान ९ः ०० बजे गरिएको मापनानुसार भने एक लाख ५९ हजार ९४० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको थियो । कोशी ब्यारेजका २४ ढोका खुल्ला गरिएको थियो । कोशीमा पानीको वहाव बढ्ने क्रम सुरु भए पनि ब्यारेजमा कुनै खतरा नरहेको सुुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

प्रतिक्रिया