काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सख्या १० हजार नाघेको छ । मंगलबार ५३८ संक्रमित भेटिएसँगै कुल संक्रमण हुनेको सख्या १० हजार पुगेको हो । माघ १० गते पहिलो संक्रमित फेला परेको नेपालमा त्यसपछिको पाँच महिनाभित्र १० हजार पुगेको हो ।
चैत अन्तिम सातामा पनि निक्कै कम देखिएको कोरोना संक्रमण त्यसपछि भने विस्तारै आक्रमक रुपमा बढ्दै जान थालेको छ । संक्रमण बढ्नुको प्रमुख कारण भारतबाट आएका व्यक्तिहरुलाई व्यवस्थित तरिकाले नेपाल नभित्र्याउनु रहेको छ । केन्द्रीय सरकार, स्थानीय सरकार र भारतको प्रशासनसँग तालमेल नमिल्दा धेरै नेपाली संक्रमित हुन पुगेका हुन् । सरकारले चैत ११ गतेबाट लकडाउन शुरु गर्दै सबै अन्तराष्ट्रिय सीमा बन्द गरिदिएको थियो । तर, भारतबाट आउनेहरु दशगजामा लामोसमयसम्म अलमलमा परे ।
केहीलाई भारतले आफ्नै भूमिमा पूर्वसहमति अनुसार नै क्वारेन्टाइनमा राख्यो । तर, त्यो नाममात्रको क्वारेन्टाइन थियो । भारतका विभिन्न शहरबाट सीमासम्म आउदा जोखिम र त्यहासम्म बचेर आएका पनि क्वारेन्टाइनमा बस्न थालेपछि संक्रमित भएको देखिएको छ । दशगजा क्षेत्रमा लामो समयको बसाई पछि नेपाल प्रवेश गरेका उनिहरुको परिक्षणमा सहजता आउन सकेन् । एकै पटक धेरै व्यक्ति स्वदेश फर्किएपछि सरकारले समेत आवश्यक सतकर्ता उपनाउन सकेन भने उनिहरुलाई व्यवस्थित पनि गर्न सिमित स्रोत र साधनले सकेन । जसका कारण कोरोना संक्रमण क्वारेन्टाइनमै फैलियो ।
स्थानीय तहले पनि विना मापदण्ड विद्यालयमा ओछ्यान र कार्पेट राखेर त्यसलाई क्वारेन्टाइनको नाम दिदै एउटै कोठामा कोचाकोच गरेर मानिसहरु राखे । जहाँबाट कोरोना सरेको देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पनि हालसम्म नेपालमा देखिएका कोरोना संक्रमित मध्ये करिव ९५ प्रतिशत क्वारेन्टाइनमै रहेका व्यक्तिहरु छन् । अझै पनि क्वारेन्टाइनमा ८५ हजार ८१३ जना व्यक्ति रहेकाले संक्रमितको सख्या बढ्ने अनुमान गरेको छ । मन्त्रालयले करिव ३० देखी ४० हजार संक्रमित भेटिन सक्ने पूर्वानुमान गरेको छ ।
भारतबाट आउने सख्या अहिले न्युन भएपनि तेस्रो मुलुकबाट आउनेमा समेत कोरोना देखिन थालेको छ । यद्यपी उनिहरुलाई सम्बन्धित पालिकाले बनाएको क्वारेन्टाइनमा राखेकाले समुदायमा संक्रमण सर्न सक्ने सम्भावना भने कम नै देखिएको छ । तर, कर्णाली प्रदेशमा भने समुदायमा संक्रमण देखिन थालेको आशंका गरिएको छ । शुरुमा उदयपुरको भुल्केमा समुदायमा देखिएको संक्रमण अहिले कर्णाली प्रदेशमा देखिन थालेको हो ।
कर्णालीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको र उनको ट्राभल हिस्ट्री नभएकाले समुदायमा संक्रमण सरेको आशंका गरिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारत दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको सोमबार राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । कोरोना परीक्षण गर्दा ४ गते उनमा संक्रमण देखिएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेलले जानकारी दिए ।
‘उनी समुदायबाट उपचारमा आएका बिरामी हुन्, उनको फोक्सोमा पनि समस्या थियो’, उनले भने, ‘क्षयरोगको २ महिनादेखि औषधि खाइरहेको तर ठिक नभएकाले बिरामीको मृत्यु भएको हो ।’ डा. पौडेलका अनुसार मृतकमा अन्य समस्या पनि थिए, साथमा कोरोना संक्रमण पनि देखिएको थियो । मृतकका श्रीमती उनीसँगै अस्पताल आए पनि उनलाई भने कोरोना नभएको डाक्टर पौडेलले जानकारी दिए । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट सुर्खेतका २ जना, दैलेखका २ जना र डोल्पाका १ जना गरी मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
मंगलबार एकैदिन ५३८ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा कुल संक्रमितको सख्या १० हजार ९९ पुगेको छ । मृत्यु हुनेको सख्या पनि २४ पुगेको छ । मंगलबार थप ७६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको सख्या २ हजार १२४ पुगेको छ ।
यसैगरी अहिलेम्म एक लाख ८६ हजार ३६६ जनाको पीसीआर र दुई लाख ७१ हजार ५८४ जनाको आरडीटी परीक्षण गरिएको छ । विगत २४ घण्टामा चार हजार ९९५ पीसीआर र तीन हजार ४८१ आरडीटी गरिएको छ । अहिलेसम्म ८५ हजार ८१३ जना क्वारेन्टिन र सात हजार ८५१ जना आइसोलेशनमा रहेका छन् ।
प्रतिक्रिया