वीरगञ्ज । वीरगञ्ज पीसीआर किटको अभावमा कोरोनाको टेष्ट ३ दिनदेखि ठप्प रहेको छ । स्वाब परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले पठाएको पीसीआर किट काम नलागेपछि वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा किट अभावका कारण कोरोना परीक्षण कार्य ३ दिनदेखि ठप्प हुँदै आएको हो । किट अभावका कारण आइतवारदेखि परीक्षण अवरुद्ध भएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।
रिएजेन्ट पीसीआर किट र आरएनए एक्सट्रयाक्सनको अभावमा आइतबार अपरान्हदेखि पीसीआर ल्याब संचालनमा नआएको ल्याब प्रमुख डाक्टर नीरा पाठकले जानकारी दिइन् । पछिल्लो समय स्वास्थ्य मन्त्रालयले पठाएको चिनियाँ कम्पनी सनस्योर बायोटेकको पीसीआर किट अस्पतालको ल्याबमा रहेको पीसीआर मेसिनसँग मेल नखाएकाले ल्याब ठप्प नै भएको उनले बताइन् ।
मन्त्रालयले पठाएको किट वीरगञ्ज अस्पतालको मेसिनसँग मेल नखाएपछि कोरोनाको परीक्षण अवरुद्ध भएको हो । किटले देखाएको समस्याबारे मन्त्रालयमा जानकारी गराइएको भए पनि मन्त्रालय अहिलेको लागि होल्ड गर्न भनेपछि परीक्षण बन्द गरिएको नारायणी अस्पतालले जनाएको छ । प्रदेश सरकारको आग्रहमा संघीय सरकाले नारायणी अस्पतालमा बैशाख ३ मा पठाइ दिएको पीसीआर मेसिन जडान गरी बैशाख २३ देखि पीसीआर ल्याब संचालनमा ल्याइएको थियो ।
नारायणी अस्पतालको ल्याबमा प्रदेश २ का पर्सा, बारासहित ६ जिल्लामा संकलन गरिएका स्वाबको पीसीआर परीक्षण हुँदै आएको थियो । विभिन्न प्राविधिक समस्याका कारण पटक–पटक वीरगञ्ज पीसीआर परीक्षण अवरुद्ध हुँदै आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार ल्याब संचालनमा आएदेखि यता आठ वटा कम्पनीका पीसीआर किट स्वास्थ्य मन्त्रालयले पठाएको र ती सबै किट पीसीआर मेसिनसँग मिल्दो भएकाले प्रयोगमा आएको थियो ।
तर, पछिल्लो समय मन्त्रालयले पठाएको सनस्योर बायोटेक कम्पनीको पीसीआर किट भने मेसिनसँग मिल्दो नभएकाले स्वाब परीक्षण कार्य रोकिएको उनले बताए । उपाध्यायका अनुसार सनस्योर बायोटेक कम्पनीको पीसीआर किट वीरगञ्ज ल्याबमा मात्र नभइ भरतपुर, हेटौंडा, नेपालगञ्ज र काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत प्रयोगमा आउन सकेको छैन ।
नारायणीको ल्याबमा परीक्षण बन्द हुँदा पर्सासहित विभिन्न जिल्लाबाट संकलन गरी अस्पतालमा ल्याइएका १ हजार ३ सय स्वाब, चेकजाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको मेडिकल सुपरिटेन्डेट डा. मदन उपाध्यायले जानकारी दिए ।
प्रतिक्रिया