पर्सा । पर्साको कालिकामाई गाउँपालिका– २ गदियानीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्रिलिएन्ट युवा क्लबको आयोजनामा भएको कार्यक्रममा २ महिलासहित २३ जनाले रक्तदान गरेका छन् । आयोजक संस्थाको प्रधान कार्यालयको प्राङ्गणमा भएको कार्यक्रमको उद्घाटन कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद साहले रक्तदान गरी गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अधिकृत साहले सहर केन्द्रित हुने रक्तदान कार्यक्रमहरु संस्थाले ग्रामिण भेगमा आयोजना गरेकोमा प्रशंसासमेत गरेका थिए । उनले अझै पनि ग्रामिण भेगमा रक्तदान गर्न मानिसहरु डराउने गरेकाले ग्रामिण भेगमा आयोजना हुने रक्तदान कार्यक्रमले रक्तदाताहरुको संख्यामा वृद्धि हुने बताए ।
क्लबका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा सुनिल कुमार रौनियार, ताजिन्द्र साह कलवार, सहरुम हवारी, जयप्रकाश चौरसिया, संजित कुमार चौरसिया, आकाश चौरसिया, भुषण साह तेली, रामबिर चौरसिया, सुदिल प्रसाद कुमार, पप्पु पटेल, सदाम हुसेन, ओमप्रकाश साह, मुन्ना कुमार सुमन, भेष साह, लक्षमण साह, प्रभाकर साह, कुन्ती देवी, सिमा देवी, जितेन्द्र महरा, अजय यादव, प्रमोद प्रसाद यादवले रक्तदान गरेको आयोजक संस्थाका सदस्य शम्भु कुमार सुमनले बताए ।
संस्थाले प्रत्येक वर्ष झैँ यस वर्ष पनि ११ औँ पटक रक्तदान कार्यक्रमको आयोजना गरेको सदस्य सुमनले बताए । कोरोना महामारीको समयमा रगत अभाव हुन नदिन गर्मी मसौममा पनि संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको सुमनले जानकारी दिए । नेपाल रेडक्रस रक्त सञ्चार केन्द्र वीरगञ्जकी दिल्ली माया घिमिरे नेतृत्वको प्राविधिकहरुको टोलीले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेका थिए ।
प्रतिक्रिया