कोरोनाको जोखिमः दैनिक बढ्दै छन् संक्रमित

काठमाडौं । लकडाउन खुकुलो भएसँगै कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सख्या निक्कै बढ्न थालेको छ । विगत केही दिन दुई सयको हाराहारीमा दैनिक बढिरहेका संक्रमित पछिल्ला केही दिनमा भने चार सय भन्दा बढि देखिन थालेका छन् ।

सोमबारसम्म नेपालमा कोरोना संक्रमितको सख्या ६ हजार नाघेको छ । योसँगै दक्षिण एसियाली मुलुकमा नेपाल सबैभन्दा बढि संक्रमित हुनेको सूचिमा पाँचौ नम्वरमा रहेको छ । नेपाल भन्दा तल माल्दिभ्स, श्रीलका र भुटान रहेका छन् । पछिल्लो २४ घण्टामा ४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथ जनसख्या मन्त्रालयले जानकारी दिएको छ । यो अहिलेसम्म कै सर्वाधिक दैनिक रुपमा देखिएको सख्या हो । सोमबारबाट कोरोना संक्रमितको सख्या ६ हजार २११ पुगेको छ ।

पछिल्लो चार दिनमा मात्रै करिव १ हजार ६ सय संक्रमित भेटिएका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार ४२५ संक्रमित, एक जनाको मृत्यु, शनिवार २७३ जना र दुई जनाको मृत्यु तथा शुक्रबार ४४८ संक्रमित भेटिएका थिए । चार दिनमा १ हजार ५९७ जना संक्रमित भेटिएको हो ।

सोमबार भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै रौतहटका १०२ जना रहेका छन् । यसैगरी दैलेखका ९३, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२ र सुर्खेतका १९ जना रहेका छन् । उनिहरुमध्ये अधिकाश क्वारेन्टाइनमा बस्दै आएका हुन् । काठमाडौं उपत्यकामा सोमबार पाँच जना संक्रमित भेटिएका छन् । योसँगै उपत्यकामा पनि कोरोनाको संक्रमण फैलिन सक्ने जनस्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् ।

सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरेको लकडाउनको ढाँचामा गत साता परिवर्तन ल्याएसँगै मानिसहरूको चहलपहल बढ्न थालेको छ । सोमवारदेखि सबै सरकारी कार्यालयहरू सञ्चालनमा ल्याउने सरकारी निर्णयसँगै गतिविधिहरू अझै बढिरहेको छ । लकडाउनको ढाँचामा ल्याइएको परिवर्तनले जनजीवन केही हदसम्म सहज भएको भएपनि संक्रमण फैलिन जोखिम भने उच्च देखिएको छ ।

पछिल्ला दिनमा तरकारी बजारदेखि किराना पसल लगायत भिडभाड हुने ठाउँहरूमा मानिसहरूले एकअर्कासँग खासै दूरी कायम नगरेको र कतिपयले मास्क पनि नलगाउने गरेको देखिएको छ । तर लकडाउन खुकुलो पारिएको बेला मानिसहरूका सानो लापरवाहीले कोरोनाभाइरस संक्रमण झन् फैलने जोखिम बढाएको भन्दै संक्रामक रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद्हरूले सचेत गराएका छन् ।

संक्रमित बढेसँगै निको हुनेको सख्या पनि एक हजार नाघेको छ । सोमबारसम्म १ हजार ४१ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बताए । उनका अनुसार हाल संक्रमित देखिएका मध्ये अधिकाशंको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ३८ हजार ६८३ पीसीआर परीक्षण भएका छन् । २ लाख १९ हजार ३३६ आरडीटी किट विधिबाट परीक्षण भएका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ३०६ पीसीआर र ८ हजार ६१५ आरडीटी विधिबाट नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । हाल देशका विभिन्न क्वारेन्टाइनमा १ लाख ३३ हजार व्यक्ति रहेका छन् । उनिहरुको पूर्ण रुपमा पिसिआर परीक्षण नभएसम्म संक्रमितको सख्या बढ्ने देखिन्छ ।

प्रतिक्रिया