तीस हजार संक्रमित पुग्न सक्छन्ः स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकार ३० हजार कोराना भाइरस संक्रमितलाई लक्ष्य गरेर स्वास्थ्य सामग्री व्यवस्थापनमा लागेको छ । कोरोना भाइरस संक्रमितको सख्या दैनिक रुपमा सोचेभन्दा बढ्न थालेपछि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले मुलुकमा १५ हजारदेखि ३० हजारसम्म संक्रमित हुन सक्ने अनुमान गरी स्वास्थ्य सामग्रीको व्यवस्थापनमा लागिएको महाशाखाका आपूर्ति व्यवस्था शाखाप्रमुख चुडामणि भण्डारीले जानकारी दिए ।

‘दैनिक रुपमा संक्रमित बढ्न थालेपछि हामीले सोचेभन्दा बढी नै संक्रमित हुने अनुमान गरेका छौँ’, उनले भने, ‘त्यही भएर संक्रमित बढ्ने अनुमानले स्वास्थ्य सामग्री खरिदको प्रक्रिया पनि अगाडि बढाएका छाँै ।’ पहिले एक हजार ५०० संक्रमित हुने अनुमान गरिएको थियो भने पछिल्लोपटक भारतबाट संक्रमित आउन थालेपछि यो सख्या पाँच हजार पुग्ने अनुमान सरकारको छ । केही दिनअघि पाँच हजार संक्रमित हुने अनुमान गरेको भएपनि अहिलेको अवस्था हेर्दा त्योभन्दा बढी हुने अनुमान गरेर सामग्री व्यवस्थापनतिर लागेको हो ।

अहिले नै संक्रमितको सख्या चार हजार पुगिसकेका छन् । दैनिक दुई–तीन सयको सख्यामा संक्रमित बढिरहेका छन । संक्रमणबाट अहिलेसम्म १४ को मृत्यु भइसकेको छ । यस्तै अहिलेसम्म ४८८ जना निको भएर घर फर्किसकेका छन । नेपालमा पहिलोपटक माघ ९ गते चीनको वुहानबाट आएका आएका एक विद्यार्थीमा संक्रमण देखिएको थियो ।

पछिल्लोपटक भारतबाट स्वदेश फर्किरहेका मानिसमा परीक्षण गर्दा संक्रमण देखिएको छ । उनका अनुसार व्यवस्थापन महाशाखामार्फत अहिलेसम्म करिब रु ९४ करोडको स्वास्थ्य सामग्री खरिद गरिसकेको छ । तीमध्ये रु ४० करोड भुक्तानी भइसकेको र अरु भुक्तानीको प्रक्रियामा रहेको छ । उनले प्रदेश र जिल्लालाई जेठको पहिलो हप्ता पर्याप्त मात्रामा सामग्री पठाएकाले अहिले कहीँ पनि अपुग नरहेको जानकारी दिए ।

महाशाखाले पहिले उदयपुर, रौतहट, पर्सा र बाँकेमा केन्द्रबाट नै सिधै सामग्री पठाउने व्यवस्था गरेको थियो । तर अहिले सातवटै प्रदेश र कोभिड–१९ अस्पतालमा आवश्यक सामग्री पठाउने व्यवस्था गरिएको उनले बताए । उनका अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट पाँच हजार ८३५, पिपिइ गाउन ६७ हजार, सर्जिकल मास्क १९ लाख ८९ हजार, एन–९५ मास्क ६९ लाख वितरण गरिएको छ ।

यस्तै पिपिइ सेट पाँच हजार, पिपिइ गाउन एक लाख ७२ हजार, मास्क १४ लाख ७४ हजार र एन–९५ एक लाख ८१ मौज्दात रहेको छ । ती सामग्रीलाई आवश्यकअनुसार प्रदेश र कोभिड–१९ अस्पताललाई पठाइने छ । उनले मापदण्ड वितरित सामग्री प्रयोग गर्नाले चाँडै सकिएको समेत बताए ।

‘१० अर्बको खर्च विवरण चाहियो ?’
प्रमुख प्रतिपक्ष कांग्रेसले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गरेको खर्चको हिसाब मागेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै सांसद गगन थापाले सरकार कोरोना रोकथाममा असफल भइसकेको र भ्रष्टाचारमा लिप्त भएको आरोप पनि लगाए ।

‘१० अर्ब खर्चको हिसाब चाहिन्छ । ५ पीसीआर मेसिन र २५ हजार पीसीआर किट किनेर १० अर्बको हिसाबकिताब देखाउनुपर्दैन ?,’ थापाले भने । मन्त्रालयमा भएको अनियमिततामा एउटा कर्मचारीलाई सरुवा गरिएका भरमा संसद्ले उन्मुक्ति दिन नसक्ने उनको भनाइ थियो ।

सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्, अदालत, नागरिक, विज्ञका कुरा नसुनेकाले कोरोना भाइरसले महामारीको रूप लिन लागेको बताए । ‘सरकारले संसद्मा छलफल भएको सार्वजनिक महत्वको प्रस्ताव र सांसदले दिएका सुझाव, संसद्, अदालत, प्रेस, नागरिक कसैका कुरा सुनेन । यो सबै नसुन्दा आजको अवस्था आएको छ,’ उनले भने, ‘सरकारलाई काम गर्न अदालत, संसद्, नागरिक, प्रेस कसले रोकेको हो ? कसैले रोकेको होइन, प्रधानमन्त्री ओलीको अकर्मण्यताले रोकेको हो ।’

सरकारले नेपालमा कोरोनाबाट मृत्यु भएका भनी दिएको संख्यामा समेत थाापले प्रश्न उठाए । नेपालबाहिर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १२७ रहेको बताउँदै सरकारले सही तथ्यांक नदिएको उनको भनाइ थियो । उनले सुत्केरीले अस्पताल जान नपाएर मृत्यु भएको, क्वारेन्टाइनमा ज्यान गएकाको, भोकले मृत्यु भएका र आत्महत्या गरेकाको जिम्मा कसले लिने भन्दै सरकारसँग जवाफ मागे ।

प्रतिक्रिया