काठमाडौं । देशभर कोरोना संक्रमितको सख्या ४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु र ३२३ नयाँ संक्रमित भेटिएपछि कुल सख्या ४ हजार नाघेको हो । पछिल्लो समय निक्कै छिटो गतिमा संक्रमितको सख्या बढिरहेको छ ।
भारतबाट आएर विभिन्न क्वारेन्टाइनमा बसेकाहरु धेरै संक्रमित रहेका छन् । तर, उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जानकारी दिएको छ । मंगलबार भेटिएको कोरोना संक्रमितसहित कुल सख्या ४ हजार ८५ पुगेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । चितवनको भरतपुर उपमहानगरपालिका ११ का एक पुरुषको निधन भएको गौतमले बताए ।
मृतकलाई निमोनिया भएको र उच्च रक्तचाप एवम् मधुमेह रहेको गौतमले बताएका छन् । नारायणी सामुदायिक अस्पतालको आईसीयु कक्षमा उपचार गराइरहेका भरतपुर–११ का ६८ वर्षीय पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल पठाइएको थियो । मंगलबार बिहान सात बजे उनको निधन भएको थियो ।
पछिल्ला ६ दिनमा चार पटक तीन सयभन्दा बढि संक्रमित एकै दिन फेला परेका छन् । सरकारले भारतबाट आएकाहरु मध्ये ठुलो सख्यामा संक्रमित भएको हुन सक्ने आशंका गरेको छ । पछिल्लो २४ घन्टामा ९६ जना डिस्चार्ज भएका छन् । मन्त्रालयले मंगलबार गरेको नियमित मिडिया ब्रिफिङमा ८८ पुरुष र ८ महिला डिस्चार्ज भएर घर फर्किएको बताएको छ । यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५ सय ८४ रहेको छ ।
२४ घन्टामा कोभिड १९ अस्पताल जनकपुरबाट धनुषाका ३०, कोभिड १९ युनिफाइड कमाण्ड बलम्बु अस्पतालबाट काठमाडौंका १, कोहलपुर आइसोलेसन सेन्टरबाट बाँकेका २२, राप्ती सोनार आइसोलेसन सेन्टरबाट बाँकेका ७, बीपी प्रतिष्ठान धरानबाट झापाका २८, कोरोना विशेष अस्पतालबाट दाङबाट बर्दियाका ४ र जिल्ला अस्पताल दैलेखबाट दैलेखका १ जना डिस्चार्ज भएर घर फर्किएका हुन् ।
मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ६६ हजार १५८ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ६ हजार ३३१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६५ हजार ७७५ जना रहेका छन् ।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक र चितवनका एक गरी १५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया