‘एक हप्तासम्म भीटीएम नपठाउनु’

मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक हप्तासम्म जिल्लाहरुबाट कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाब नपठाउन भनेको छ । कर्णाली प्रदेशका जिल्लाहरुमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको सख्या बढ्दै गएपछि प्रतिष्ठानमा परीक्षणका लागि स्वाब लाईनमा राख्नुपर्ने अवस्था सृजना भएकोले तत्कालका लागि एक हप्तासम्म अरु स्वाब नपठाउन जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयहरुलाई भनिएको हो ।

‘प्रतिष्ठानको ल्यावमा रहेको मेसिनले दैनिक १०० जनासम्मको रिपोर्ट दिने गरेको छ, हामीले साविकका कर्णाली अञ्चलका ५ जिल्लालाई लक्षित गरी मेसिन राखेका हौँ, तर अहिले प्रदेशका प्राय सबै जिल्लाहरुबाट स्वाव आउन थालेपछि लोड बडेकोे छ,’ प्रतिष्ठान भनेको छ । बिहीबारसम्म प्रतिष्ठानमा १ हजारभन्दा बढी स्वाब लाईनमा रहेको बताइएको छ ।

ती स्वाबहरुको पिसिआर परीक्षण गर्न बाँकी रहँदै अन्य स्वाब आए लाईनमा राख्नुपर्ने भएकाले स्वाबको गुणस्तरमा ह्रास आउने सम्भावना हुन्छ । त्यसैले कम्तिमा एक हप्तासम्म स्वाब नपठाउन र यदि पठाउनै पर्ने अवस्था भए प्रतिष्ठानको ल्यावमा सम्पर्क गरेर मात्र पठाउन जिल्लास्थित स्वास्थ्य सेवाकार्यालय प्रमुखहरुलाई मौखीक जानकारी दिएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले बताए ।

नेपाल सरकारले समेत सबैको पिसिआर गर्नु नपर्ने तथा एक लक्षण देखिएका र दुई आरडीटी पोजेटिभ देखिएका व्यक्तिहरुको मात्र पिसिआर गर्नमा जोड दिन बरु १४ दिन क्वारेन्टाईनमा बसेका सबैको आरडीटी परीक्षण गराउँ भनेकोले आफुहरुले पिसिआर मात्र परीक्षण गर्ने भएकाले आरडीटी परीक्षणका लागि किट उपलब्ध गराउन स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारहरुसँग जति सक्दो छिटो सबैले आ–आफ्ना भूमिकाबाट पहल गर्न पनि निर्देशक डा. रावल सुझाव दिए ।

प्रतिक्रिया