लकडाउनले फूल व्यवसायी निरास, १५ लाखको क्षती

धादिङ । धादिङ सिद्धलेकका ४२ वर्षिय फूल व्यवसायी शुधीर खतीवडाले लकडाउनले यतीको असर गर्छ भन्ने सोचेकै थिएनन् । तर, विश्वभर महामारीको रुपमा फैलिएर कोरोना भाइरसले सन्नाटा छाएपश्चात् नेपाल सरकारले पनि सतर्कता अपनाउँदै नेपाललाई लकडाउन घोषणा गरेपछि उनको फूल व्यवसायमा फक्रिएको फूल बिक्रि गर्न पाएनन् । त्यसपछि उनलाई महसुस् भयो लकडाउनको असर । फूल व्यवसायी खतीवडालाई लकडाउनले यती असर गर्योकी फक्रिएको फूल बिक्रि गर्न नपाउँदै फूल बारीमै ओईलाउन थाल्यो ।

तव उनले लकडाउनको असरबारे सोचमग्न भए । अहिले धादिङको सिद्धलेक गाँउपालिका– ७ पिपलटारस्थित अमिलीटारमा शुधीरको १० रोपनी जग्गामा ढकमक्क फूल फूलेको छ भने लकडाउनकै कारण उत्पादित फूलले बजार पाएको छैन । बारीभरी ढकमक्क फूलेका फूल त्यसै ओईलाएर खेर गएको छ ।  कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण व्यवसायी खतीवडा पछिल्लो समय समस्यामा परेका हुन् ।

‘अन्य क्षेत्रका व्यवसायीहरुले घाटा बेहोर्नु परेजस्तै मेरो फूलखेतीमा पनि त्यस्तै घाटा बेहोर्नुपरेको छ, फूलले आम्दानी दिन सुरु गर्ने समयमा लकडाउन भएपछि बारीभरीका फूल त्यसै ओईलाएर खेर गएको छ’, उनले भने । खतीवडाका अनुसार लकडाउनका कारण सरकारले विभिन्न सभा समारोह लगाएतका अन्य सार्वजनिक कार्यक्रमहरु गर्न रोक लगाएपछि फूल विक्रि वितरण नभएको हो । स्वदेशमै राम्रो बजार पाउने र शुभ कार्यमासमेत प्रयोगमा आउने तरबार लिली प्रजातीको फूल अहिले त्यसै खेर गएको उनको भनाइ छ ।

फूल फूलाएर बेच्ने सपना देखेका खतीवडा पछिल्ला दिन परेका वर्षात्का कारण फूलको बीउ गानाे नै कुहिने हो कि भन्ने चिन्तामा समेत परेका छन् । ‘गत सातासम्म विभिन्न रङका फूलहरुले बोट नै ढकमक्क थियो, अहिले ओइलाउँदै गएको छ, १० रोपनी क्षेत्रफलमा फैलिएको बारीको फूल लकडाउनले बिक्नै सकेन, उल्टै दुई दिनको झरीले चुटेपछि ओइलाएर खेर गयो’, खतीवडाले दुखेसो पोखे । पृथ्वी राजमार्गबाटै त्रिशुली पारी सिद्धलेक– ७ अमिलीटारमा प्रष्ट देख्न सकिने उक्त फूलबारी अहिले ओइलाउँदै गएको छ ।

करिव १० वर्ष राजधानीको ठमेलमा पर्यटन व्यवसाय गर्दै आएका खतीवडाले ०७२ सालको विनाशकारी भूकम्प पश्चात् व्यापार छोडेर ६ महिना युरोप बसे । तर, आफ्नै देशमा केही गर्ने सपनाले उनलाई त्यहाँ बसिरहन मन लागेन र मात्रृ भूमिमा फूल फूलाउने सपना बोकेर स्वदेश फर्केर फूलखेती सुरु गरेको उनको भनाइ छ । खतीवडाले २ वर्ष अघिदेखि आफ्नै १० रोपनी जमिनमा फूलखेती सुरु गरेका हुन् । ‘फूलखेती पर्यटन क्षेत्रकै अर्को रूप हो, ट्राभल एजेन्सी र ट्रेकिङ एजेन्सीले आफ्ना विदेशी पाहुनाहरुलाई स्वागत गर्न र बिदाई गर्न फूल तथा बुकी अनिर्वाय जस्तै छ,’ उनले भने, ‘नेपालको फूलले मात्र नपुगेर भारतबाट समेत आयात गर्नुपरेको छ, त्यसैले फूलखेती गरेको हुँ ।’

काठमाडौं नजिक र राजमार्गको छेउमै आफ्नो जग्गा भएर पनि फूलखेती गर्न सहज भएको उनले बताए । तर, सिँचाइका लागि वर्षाको पानीको भर पर्नुपर्ने उनको भनाइ छ । यस वर्ष पानी परिरहेकाले सिँचाइ गर्न सजिलो भएको उनले बताए । ‘फूलको पात तरवाजस्तो हुने भएर तरवार लिली भनिन्छ, यो बहुवर्षे जातको फूल हो, यसको गानोबाट नयाँ बिरुवा निस्कन्छ,’ उनले भने ।

विवाह तथा व्रतबन्ध, मण्डप गाडी सजावट सभा समारोहस्थल सजाउन र स्वागत गर्न प्रयोग हुने फूल प्रतिगोटा १० देखि १४ रुपैयाँसम्म होलसेलमा बिक्ने खतिवडाले बताए । फूलखेती आफ्नो सानैदेखिको सोख भएकाले लगानी नउठे पनि विस्मात् भने नभएको उनले बताए । हालसम्म १० लाखभन्दा बढी लगानी गरिसकेका उनले अझै लगानी थप्नुपर्ने सुनाए । अहिले सात रङका फूलहरु फुलिरहेका छन् । ‘यो सिजनको फूल लकडाउनले बोटमै ओईलाएर लकडाउनका कारण फूल खेतीमा करिव १५ लाखको क्षती भएको उनको भनाइ छ ।

प्रतिक्रिया