आज विश्व धूम्रपानरहित दिवस

काठमाडौं । आज विश्व धूम्रपानरहित दिवसको अवसरमा कोरोनाको बढ्दो क्रममा रहेको बेला नसर्ने रोग र धूम्रपान तथा क्षयरोगको नियन्त्रणका लागि संघीय तथा प्रदेश सरकारलाई कसरी जवाफदेही र उत्तरदायी बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवालाबीच अन्तरक्रिया भएको छ । अघिल्ला वर्षहरुमा यो दिवस सभा हलमा सबै सरोकारवाला उपस्थित भएर हुने गर्दथ्यो ।

तर, यसपटक कोभिड १९ को महामारी र त्यसलाई रोक्न सरकारले गरेको लकडाउनका कारण जुम सफ्टवेर (वेविनार) माध्यमद्वारा सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाको मुख्य आयोजनामा भएको उक्त कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपाल, एक्सन नेपाल, दि युनियन, एपीक्याट, एपीक्याट पार्लियामेन्ट, एपीक्याट मिडिया ग्लोबल टिवि कोकस लगायतका संस्थाहरुको साझेदारीमा भएको थियो ।

सो कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री एवं एपीक्याट पार्लियामेन्टका अध्यक्ष खगराज अधिकारी, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, कर्णालीका प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचन, दि युनियनका क्षेत्रीय निर्देशक डा. तारासिंह बम, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डिलियर, ग्लोबल टिवी ककसका तुसार नायर, द युनियनको क्षयरोग विभाग प्रमुख डा. ग्रानिया ब्रिगेडियन, एक्सन नेपालका आनन्द चन्द, स्वास्थ्य पत्रकार मञ्चका महासचिव रामप्रसाद न्यौपाने लगायतले कोभिड १९, नसर्ने रोग र धूम्रपान तथा क्षयरोग नियन्त्रणको विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सांसद अधिकारीले धूमपान तथा सूर्तिजन्य पदार्थसँग नसर्ने रोग अन्तरसम्बन्धित रहेको बताए । उनले पछिल्लो समयमा देखा परेको कोभिड १९ को समेत यससँग सम्बन्धित रहेको भन्दै सरकारले नियन्त्रणका लागि विशेष ध्यान दिन आग्रह गरे । उनले वार्षिक २७ हजार बढीको ज्यान लैजाने सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरकारले यो बेला कानूनको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए ।
प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो प्रदेशले सूर्तिजन्य पदार्थ नियन्त्रणमा गरेका प्रयासहरुको चर्चा गरे ।

उनले विद्यालयको शौचालयको अनुगमनबाट आफूले सूर्तिजन्य पदार्थको प्रयोग युवापुस्तामा कुनरुपमा भएको रहेछ भन्ने बुझेर नै कडाइका साथ कानून कार्यान्वनयको प्रयास गरेको बताए । उनले कोभिड १९ को बारेमा प्रदेश सरकारले गरेको कदमबारे समेत जानकारी दिए । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललले महानगरले सूर्तिजन्य पदार्थ नियन्त्रण र पछिल्लो समय कोभिड १९ को उपचार रोकथाम र परीक्षणका लागि गरेका कार्यहरुको बारेमा जानकारी दिइन् ।

महानगर भित्र सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रम गर्नेदेखि महानगर भर नै सूर्तिजन्य पदार्थ निषेध गर्ने सम्मका योजना र थालिएका प्रयासका बारेमा चर्चा गरिन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सूर्ति नियन्त्रणका लागि सरकारले गरेको प्रयास र चालेका कदमबारे जानकारी दिए । उनले केही कानूनहरु कार्यान्वनयमा आएको र केही आउने क्रममा रहेको समेत बताए । नसर्ने रोग तथा कोभिड १९को नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले गरेका कार्यका बारेमा समेत उनले चर्चा गरे ।

दि युनियन एसिया प्यासेफिक क्षेत्रका क्षेत्रीय निर्देशक डा. तारासिंह बमले नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रणमा चालेका केही प्रयासहरु राम्रा भएपनि धेरै काम गर्न बाँकी रहेको बताए । उनले कानून कार्यान्वनय गर्ने बाटोमा सरकार फितलो भएको, कानून कार्यान्वयन गर्न अघि सर्नुपर्ने सरकार सूर्ति उद्योगीको इशारामा चलेको समेत आरोप लगाए । उनले कोभिड १९को पछिल्लो महामारीमा सरकारले अरु प्राथमिकतामा राख्नुपर्ने स्वास्थ्यका कार्यक्रमहरुलाई विर्सेको भन्दै त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे ।

डव्लु एचओका नेपाल प्रतिनिधि डा. जोशीले सूर्तिजन्य पदार्थको प्रयोगकर्तामा कोभिड १९को संक्रमण हुने जोखिम बढी हुनसक्ने भन्दै यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताए । क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचनले सूर्तिजन्य पदार्थ र क्षयरोगको अन्तरसम्वन्ध प्रस्तुत गर्दै यसको प्रयोगलाई नियन्त्रण गर्न केन्द्रले गरेका प्रयास रणनीतिका बारेमा जानकारी दिए ।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द र स्वास्थ्य पत्रकार मञ्च नेपालका महासचिव रामप्रसाद न्यौपानेले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरकारले बनाएको कानून र कार्यान्वयनको अवस्थाका बारेमा चर्चा गरेका थिए । उनीहरुले सरकारले कानूनको कार्यान्वयन गर्ने विषयमा खुट्टा कमाएको आरोप समेत लगाए । ग्लोबल टिवी ककसका तुसार नायर, द युनियनको क्षयरोग विभाग प्रमुख डा. ग्रानिया ब्रिगेडियनले अन्तराष्ट्रिय अनुभव र गरिएका कामको जानकारी दिदै नेपालले त्यसबाट सिक्न सक्ने बताए । कार्यक्रमको मोडरेटर भने स्वास्थ्य पत्रकार मञ्च नेपालकी अध्यक्ष कल्पना आचार्यले गरेकी थिइन् ।

प्रतिक्रिया