कोरोना रिपोर्ट अगावै हृदयघात !

दैलेख । दुल्लु नगरपालिकास्थित क्वारेन्टाइनमा शनिवार विहान मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि भएको छ । पटांगिनी बजारस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा रहेका दुल्लु–११ का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै मृतकको सख्या सात पुगेको छ भने कर्णाली प्रदेशमा पहिलो मृत्यु भएको छ ।

१० दिनअघि भारतको गुजरातबाट आएका उनि शनिवार विहान चिया खाएपछि एक्कासी बेहोस भएका थिए । त्यसपछि त्यहा करिव चार घण्टापछि मात्र चिकित्सक आएको प्रत्यक्षदर्शीले बताएका छन् । चिकित्सक आउनु अगावै उनको मृत्यु भएको थियो । दुल्लु अस्पतालकी डा. पूजा बिसीले कोरोना संक्रमण देखिए पनि तत्कालीक अवस्थामा हृदयघातको लक्षण देखिएको जानकारी दिइन् । कोरोनाबाट मृत्यु भएको व्यक्तिको पोष्टमार्टम नगरिने भएकाले जसरी मृत्यु भएपनि कोरोनाबाटै भएको मान्नुपर्ने कार्यविधि रहेको छ । ति पुरुष विहान चिया खाएर घुमिरहेको अवस्थामा ढलेका थिए ।

दैलेखका करीब ४०–४५ जना गाडी रिजर्भ गरेर नेपालगञ्ज नाकासम्म आएका थिए । नेपालगञ्जबाट अर्को गाडी रिजर्भ गरेर उनीहरू दैलेख गएका थिए । दैलेखमा उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो । उनिहरुको स्वाब विहिवार नै संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । मृत्यु भईसकेपछि उनमा कोरोना भेटिएको पुष्टि भएको हो । मृतक व्यक्तिसँगै अन्य तीन जना व्यक्ति एउटै ओछ््यानमा सुत्ने गरेका थिए । उनको मृत्युपछि त्यहा त्रास छाएपनि प्रशासनले माहोल सामान्य बनाउने प्रयास गरिरहेको छ ।

कोरोना संक्रमितको शब दुल्लुस्थित क्वारेन्टाइनमै छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा आइतबारमात्र शव व्यवस्थापन गरिने प्रदेश सरकारले जनाएको छ । दैलेख सदरमुकामबाट नेपाली सेनाको टोली शब व्यवस्थापनको लागि दुल्लुतर्फ हिँडिसकेको जानकारी आफूले पाएको मन्त्री रावलले बताए । ‘सरकार शव व्यवस्थापनको लागि निश्चित विधि र मापदण्ड बनाएको छ,’ उनले भने, ‘सोहीअनुसार आइतबार व्यवस्थापनको काम हुन्छ ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको कोरोनाको रिपोर्ट पोजेटिभ देखिएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया