प्लानको चिनारी, स्वास्थ्य सामग्री

कालिकोट । प्लान इन्टरनेश्नल नेपालले जिल्ला स्वास्थ्य कार्यालय कालिकोटलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मानव अधिकार तथा वातावरण विकास केन्द्र(हूरेन्डेक) नेपाल कालिकोटको सहयोग सहजिकरणमा स्वास्थ्य कार्यालय कालिकोटलाई अति आवश्यकीय स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

बढ्दै गएको कोरोना भाइरसलाई रोकथाम तथा निन्यत्रण गर्नका लागि सरकारी तथा गैर सरकारी संस्थाहले सहयोग स्वरुप स्वास्थ्य सामग्री र अन्य राहत पनि हस्तान्तरण गरिरहेका छन् । कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको उपस्थितमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय कालिकोटलाई पीपीई सेट ८५, सेनिटाईजर ६५ बोतल, सर्जिकल पञ्जा ७ हजार, थर्ममिटर १० थान, सर्जिकल माक्स७ हजार पिस, के एन ९५ माक्स ६ सय ५० पिस स्वास्थ्य कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतलाई बुझाइएको छ ।

स्वास्थ्य सामग्री बुझ्दै जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले लकडाउनले स्तब्ध र सास्ती खेपिरहेको जिल्ला स्वास्थ्य कार्यालयलाई अति आवश्यक स्वास्थ्य सामान हस्तान्तरण गरेकोमा सहजिकरण गर्ने (हूरेन्डेक) नेपाल कालिकोटलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । यस्तै जिल्ला अस्पताल कालिकोटका डाक्टर भिष्म पोख्रेलले स्वास्थ्य सामग्री अपुगले गर्दा उपचारमा केही अभाव देखिएको समयमा सहयोग गरेकोमा धन्यवाद दिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले स्वास्थ्य सामग्री दिगो टिकाउका भएकाले राम्रोसँग प्रयोग गर्न आग्रह गदै प्लान इन्टरनेश्नल नेपाललाई सहयोगका लागि धन्यवाद दिए । उनले कोरोना भाइरसका संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकाले सबै स्वास्थ्यकर्मी सजक रहेर सेवाग्राहीलाई सास्ती नहुने गरी उपचार गर्न आग्रह गरे ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका कोषाध्यक्ष दिलिपकुमार शाहीले कर्णाली प्रदेशका जिल्लाहरुमा पनि दिन प्रतिदिन कोरोनाका संक्रमित बढ्दै गएकाले सबैलाई सतर्क हुन आग्रह गर्दै यो समयमा स्वास्थ्यकर्मीलाई कुनै किसिमको संक्रमण नहोस् भन्दै स्वास्थ्य सामग्रीको लागि सहयोग गरेको बताए । शाहीले भने, ‘हामी सक्दो सहयोग गर्नका लागि पहल गर्छौँ, स्वास्थ्यकर्मीलाई उपचारका लागि चाहिने सामग्री अपुग भए पुनः माग गर्नेर्छौँ, तर सबै संक्रमितहरुका लागि उपचारमा कुनै कमि नहोस् ।’

प्लान इन्टरनेश्नल नेपाल कालिकोटका कार्यक्रम संयोजक सुर्यबहादुर रोकायाले विदेशबाट गाउँमा आउनेहरु बढ्दै गएकाले स्थानिय सरकारले पनि ध्यान पुर्याउने बेला आएको बताए । यो समयमा स्वास्थ्य सामाग्रीको निकै खाँचो देखिएकाले आफ्नो संस्थाले सहयोग गरीरहेको बताउँदै आगामी दिनहरुमा पनि कोरोना नियन्त्रण नभएमा स्थानिय नागरिकहरुलाई राहत र स्वास्थ्य सामग्री वितरण गर्ने रोकायाले बताए । यसअघि पनि प्लान इन्टरनेश्नल नेपालले कालिकोट जिल्लाका तीन वटा स्थानिय तहमा नगद राहत वितरण गरेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया