संक्रमितको संख्या १ हजार नाध्यो, ६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमितको सख्या एक हजार कटेको छ । विहिवार एकै दिन १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १७ जिल्लामा १५६ मा संक्रमण देखिएको जानकारी दिए ।

नयाँसँगै संक्रमितको सख्या एक हजार ४२ पुगेको छ । विहिवार देखिएका संक्रमितको सख्या एकै दिन देखिएको अहिलेसम्मकै सबभन्दा धेरै हो । यसअघि बुधबार पनि ११२ जनामा संक्रमण देखिएको थियो । सोलुखुम्बु र दोलखामा नयाँ संक्रमण देखिएपछि ५१ जिल्लामा पुगेको छ । संक्रमण देखिएकामध्ये ९४० र महिला १०२ जना रहेका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ३२ र ४७ जना पुरुष छन् । यसैगरी कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका १६ वर्षदेखि ४२ वर्षसम्मका २५ जनामा संक्रमण देखिएको छ । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरका १९ वर्षका एक जनामा संक्रमण देखिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोशगालामा गरिएको परीक्षणमा ७७ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । तीमध्ये धनुषाका २९ जना रहेका छन् । महोत्तरीका १७ जना, रौतहटका तीनजना, सप्तरीका १२ जना, सर्लाहीका सातजना, सिराहाका ६ छन् । यसैगरी दोलखामा दुई, सोलुखुम्बुमा एक र बझाङका एक जनामा देखिएको छ । सुर्खेतमा १३, दैलेखमा आठ, स्याङ्जामा तीन, दार्चुलाका एक, कैलालीका दुई, मकवापुरका एक जनामा संक्रमण देखिएको छ ।

यस्तै, नेपालगञ्जका एक, बर्दियाका तीन र रौतहटका १७ जनामा संक्रमण देखिएको छ । संक्रमति व्यक्तिमध्ये प्रदेश नं. १ का आठ जिल्लाका १२९, प्रदेश नं २ का सबै आठ जिल्लाका ४१५, वाग्मती प्रदेशका १२ जिल्लाका ४४, गण्डकी प्रदेशमा चार जिल्लाका १७, प्रदेश नंं ५ का नौ जिल्लाका ३६९, कर्णाली प्रदेशमा तीन जिल्लाका ४७ र सुदूरपश्चिम प्रदेशका सात जिल्लाका २१ जना रहेका छन् । अहिलेसम्म १८७ डिस्चार्ज भएका छन् ।

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । ललितपुर महानगरपालिका–२२ का ५७ वर्षीय पुरुष र भारतबाट फर्किदा सीमामै मृत्यु भएका अर्घाखाँचीका एक युवामा कोरोना पुष्टि भएको छ । ललितपुरका पुरुषको विहिवार नै पशुपति आर्यघाटको विद्युतिय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको लखनउ आसपास आईपुग्दा उनको गत जेठ १० गते मृत्यु भएको थियो । लखनउबाट बसमा आउँदा आफूलाई छटपटी भएको बताएका उनलाई छाती दुख्ने र बान्ता हुने भएपछि बसमै मृत्यु भएको थियो ।

प्रतिक्रिया