बाहिरबाट भित्रिने बढेपछि दैलेखमा ठूलो चुनौती

दैलेख । जिल्लामा अहिले बाहिरी मुलुकबाट आउने नागरिकहरुको संख्या बढेपछि ठूलो चुनौती थपिएको छ । बाहिरबाट आउने नागरिकको संख्या बढेसँगै दैलेख जिल्लाका सबै क्वारेन्टाइन भरिएका छन् । क्वारेन्टाइन भरिएपछि बाहिरबाट आउने नागरिकलाइ भेडाबाख्रा हुलेसरी एउटै विद्यालयमा १३० जना र एउटै कोठामा ३० जना राख्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

अहिले उनिहरुलाई पानीसमेत पिउँनको लागि समस्या भएको छ । कोरोना भाइरसको महामारीबाट विश्वनै आक्रान्त रहेको बेला नेपालमा पनि यसको ठूलो प्रभाव परेको छ । ठूलै सास्ती खेपेर भारतबाट जिल्लामा आइपुगेका दैलेखका नागरिकले क्वारेन्टाइनमा पनि उस्तै दुःख पाएका छन् । क्वारेन्टाइनको व्यवस्थापन भद्रोगल हुँदा एउटै कोठामा ३० जनासम्म कोच्चिएर बसेका छन् ।

यसरी बसेका उनिहरुमा संक्रमणको जोखिम बढेको छ । एउटै कोठामा ३० जनासम्मलाई कोचाकोच गरी बसेकोले आफूहरुलाई अप्ठ्यारो परेको भैरवी गाउँपालिका वडा न १ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय महातारा गाउँको क्वारेन्टाइनमा रहेका एक जनले बताए । उनका अनुसार आफूहरु भारतको गुजरातबाट आएको तीन दिन भइसक्दा पनि एकपटक मात्र खाना खान पाएको र आफूहरुलाई राखिएको विद्यालयमा रेखदेख गर्नेसमेत नभएकोले गाउँभरी कोरोनाको संक्रमण फैलिने सम्भावना बढेको छ ।

स्थानीयका अनुसार उक्त गाउँका क्वारेन्टिनमा न सुत्ने व्यवस्था राम्रो छ न खाना र शौचालयकै सुविधा गतिलो । एउटै कोठामा २० देखि ३० जनालाई सुताइँदा अन्य स्वास्थ्य समस्या संक्रमणको जोखिमसमेत बढेको स्थानीय प्रकाश विष्टले जानकारी दिए ।

बाहिरबाट आउँनेको संख्या धेरै भएकोले उनिहरुलाई राख्न समस्या भएको भैरवी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष काशिराम कार्कीले बताए । उनका अनुसार वडामा वजेट नहुनु सरकारले कोरोना रोकथामको लागि बजेट नदिनु र गाउँपालिकामा बाहिरबाट आउँने नागरिकको संख्या धेरै भएकोले र अनेत्र विकल्प नभएकोले एउटै विद्यालयमा १३० जना राख्दा समेत ठाउँ नपुगेकोले समस्या भएको छ ।

प्रतिक्रिया