राष्ट्रियसभामा मागियो रुकुम घटनाको जवाफ

काठमाडौं । जातीय विभेदबाट पश्चिम रुकुममा एक युवकले माथिल्लो जातको आक्रमणबाट ज्यान गुमाएपछि राष्ट्रियसभामा गृहमन्त्रीसँग जवाफ मागिएको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा विभिन्न पार्टीका सांसदहरुले उक्त घटनाको भत्र्सना गर्दै गृहमन्त्रीसँग जवाफ मागेका हुन् ।

साथै, बैठकको शुन्य समयमा नेपाली कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको भत्र्सना गर्दै सो घटनामा सरकारले चालेको कदमबारे गृहमन्त्रीको जवाफ मागेका छन् ।

नेता अधिकारीले मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनीय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेको भन्दै उनले अहिले पनि दलितमाथि गैर दलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताए ।

साथै, उनले उक्त घटनामा संलग्न सबैलाई कडा कारबाही हुनुपर्ने भन्दै गृहमन्त्रीसँग जवाफ मागेका छन् । केही दिन अगाडि पश्चिम रुकुममा प्रेमिकालाई भेट्न गएका एक  युवक नवराज विश्वकर्मामाथि गाउँलेले आक्रमण गरी मारेका थिए । यस विषयमा गृहमन्त्री रामबहादुर थापाले सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

प्रतिक्रिया