कोरोना संक्रमित ६८२, निको हुने १५६

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या सोमबार साँझसम्म ६ सय ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विहान र दिउँसो गरी ७९ जनामा संक्रमण पुष्टि गरेसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको हो ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थपिएका नयाँ संक्रमितहरुमध्ये अछामका १, बर्दियाका ३ जना, पर्साका १ जना, बाराका १ जना र बाराका मृतक वृद्ध गरी ७ जना रहेको बताए । सोमबार बिहान मात्रै ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

मन्त्रालयले अपरान्ह पुष्टि गरेका सात संक्रमितमध्ये एक जना अछामका ३२ वर्षीय पुरुष हुन् । अब सबै प्रदेशका ७७ मध्ये ४३ जिल्लामा कोरोनाभाइरस संक्रमण देखिएको छ । बर्दियामा थप तीन पुरुषमा पनि कोभिड–१९ पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये एक जना बाराको १८ वर्षीय किशोर र एक जना काठमाडौं घर भई कलैया बारामा कार्यरत व्यक्ति भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहान पुष्टि भएका संक्रमितमध्ये दैलेखमा फेला परेका सात जनामध्ये एक महिलाबाहेक अरू सबै पुरुष हुन् । रौतहटका २६, बाराका २१, बाँकेका चार तथा धनुषा, कपिलवस्तु र काठमाडौंका तीन÷तीन जनामा पनि कोभिड–१९ पुष्टि भएको छ । काठमाडौंमा फेला परेका संक्रमित टोखा र बूढानीलकण्ठ नगरपालिकाका हुन् । उनिहरुले कोरोना महामारीका बेला विभिन्न क्षेत्रबाट समाजलाई सहयोग पु¥याउदै आएको खुलेको छ । त्यसैगरी बारा र सप्तरीमा दुई÷दुई जना तथा बर्दियामा एक जनामा पनि संक्रमण देखिएको छ । उनीहरू १६ देखि ५३ वर्ष उमेरका भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म संक्रमितहरु मध्ये १ सय ५६ जना निको भएर घर फर्किइसकेको मन्त्रालयले जनाएको छ । निको हुनेमा एक स्टाफ नर्ससहित दुई पत्रकार पनि रहेका छन् । दिउसोसम्म १ सय १२ जना निको भएकोमा अपरान्ह नारायणी अस्पतालको आइसोलेसन वार्डबाट ४३ जना एकैपटक कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्षसहित दुई पत्रकार गत वैशाख ३० मा कोरोना पोजेटिभ पुष्टि भएपछि आइसोलेसनमा भर्ना भएका थिए । सोमबार डिस्चार्ज हुनेमा एकजना सर्लाहीका बाहेक सबै पर्साका हुन । उनिहरुमा मध्ये २ जना महिला छन् । पछिल्लो ३ दिनमा नारायणी अस्पतालको आइसोलेसन वार्डका ७० जना कोभिड १९ संक्रमित निको भएर घर फर्किएका छन् । नारायणी अस्पतालमा अब कोरोना संक्रमित छैनन् । गण्डक अस्पतालमा बनाइएको अस्थाई कोरोना अस्पतालमा २७ जना संक्रमितको उपचार भइरहेको छ ।

उता, बाँकेमा थप एक जना कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ का १८ वर्षीय युवक पूर्णरुपमा स्वस्थ भई घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । सो अस्पतालबाट अहिलेसम्म २० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९५ हजार १ सय ९२ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ५१ हजार ६ सय ४२ परीक्षणहरु गरिएका छन् । क्वारेन्टाइनमा ४६ हजार २९ जना रहेका छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया