‘अर्थतन्त्रलाई चलायमान बनाउछौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाले पारेको प्रभाव र असर न्युनिकरण गर्न सरकारले गर्न लागेका कामका विषयमा जनतालाई जानकारी गराएका छन् । उनले सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, यसबाट सिर्जित संकटबाट मुलुकको अर्थतन्त्रलाई रक्षा गर्ने र रोग तथा भोकबाट आफ्ना जनतालाई जोगाउने काम गरिरहेको र केही गर्न लागेको बताएका हुन् । जनताको जिवनलाई रक्षा गर्नु सरकारले आफ्नो प्रमुख दायित्व ठानेको उनले सम्बोधनमा उल्लेख गरेका छन् ।

समयमै गरिएको लकडाउनले सीमा बन्दले महामारीबाट हुनसक्ने डरलाग्दो क्षतिलाई जोगाएको उनले बताए । लकडाउनले जीवनलाई असहज बनाएपनि सामाजिक दूरी कायम गर्न, केसहरु पहिचान गर्न, आइसोलेसनमा राख्न र सम्पर्कित व्यक्ति पत्ता लगाउन मद्दत पु¥याएको प्रधानमन्त्रीले बताएका छन । उनले यसबीचमा २ महिनाका शिशुदेखि ८१ बर्षीया बृद्धासम्मलाई निको पार्न सकिनुलाई उपलब्धिका रुपमा लिइनु पर्ने बताए । उनले आफ्नो सम्वोधनका क्रममा विभिन्न आठ मुख्य लक्ष्यलाई केन्द्रीत गर्न खोजेका छन् ।

२ प्रतिशतको कोरोना टेष्ट
प्रधानमन्त्री ओलीले कुल जनसख्याको २ प्रतिशतसम्म परीक्षण गर्ने योजनामा सरकार रहेको सुनाएका छन् । हाल करिव नेपालको जनसख्या ३ करोडको हाराहारीमा रहेको छ । जसको २ प्रतिशत भनेको करिव ६ लाख हो । उनले हाल सातवटै प्रदेशका विभिन्न २० भन्दा बढी प्रयोगशालाबाट तीब्र गतिमा परीक्षण गरिरहेको पनि सुनाए । ‘परीक्षणको दायरालाई विस्तार गर्न किट तथा औषधिको प्रबन्ध द्रूत गतिमा गरी यसलाई यथाशीघ्र अझै उन्नत बनाइनेछ’, उनले भने, ‘विज्ञहरुले दिएको सल्लाहबमोजिम कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा सरकार छ ।’

महामारी विस्तार भएको ठाउँलाई सील गरी त्यहाँ ‘युद्धस्तर’मा परीक्षण तथा नियन्त्रणको कार्यलाई अघि बढाइने बताए । महामारी अहिले फैलिँदो अवस्थामा रहेको बताउदै यससँग जुध्न र समयको चुनौती सामना गर्न नसक्ने कुनैपनि संरचनाको नेतृत्वको तत्काल पुनव्र्यवस्था गरिने बताए ।

सामाजिक सुरक्षा भत्ता नकाटिने
प्रधानमन्त्री ओलीले अप्ठ्यारो समयमा अपांगता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती नगरिने बताए । सामाजिक सुरक्षाको दायरा फराकिलो पारिने बताउदै प्रणालीमा आबद्ध सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिने उनको भनाई छ ।

‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ’ भन्ने मान्यतामा सरकार दृढ रहेको पनि सुनाए । विभिन्न ढंगले सिर्जना भएको रोजगारीको अवसरलाई विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमै रोजगारविहीन नेपालीहरुलाई उपलब्ध गराइने पनि सुनाए । यसका लागि आवश्यक पर्ने उपयुक्त सीप र तालीमको व्यवस्था सरकारले गर्ने भएको छ ।

तत्काल स्वदेश फर्काउने
प्रधानमन्त्री ओलीले ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना’सहितको आदेश तत्काल जारी गरिने उल्लेख गरेका छन् । विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्ने समेत उनले सम्बोधनका क्रममा बताए । उनले समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिने पनि बताए । सरकार आफ्ना नागरिकप्रति संवेदनशील रहेको भन्दै यसमा निश्चिन्त रहन आग्रह गरे ।

शैक्षिकसत्र खेर जाँदैन
प्रधानमन्त्री ओलीले सरकारले विद्यार्थीको शैक्षिकसत्र खेर जान नदिने बताएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसइइ) का परीक्षार्थी विद्यार्थीहरुको सिंगो शैक्षिक बर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने जानकारी दिए । आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुयल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक बर्ष अन्तर्गतको पठन÷पाठन सञ्चालनको काम अघि बढाउने बताए ।

सीमामा अपर्याप्त परीक्षण
भारतबाट नेपाल आउनेले विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार परीक्षण गरेर पठाउनुपर्ने भएपनि त्यसो नहुँदा नेपालमा संक्रमितको सख्या बढेको प्रधानमन्त्रीले बताएका छन् । परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको उल्लेख गरे । ‘विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो’, सम्बोधनका क्रममा उनले अगाडी भने, ‘तर छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ ।’

उनले कसैलाई पनि संक्रमण बोक्ने रहर नहुने भन्दै विदेशबाट आएकाहरुले आफ्नो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्न अनुरोध पनि गरेका छन् ।

लकडाउन खुकुलो बनाइने
महामारीको जोखिम न्यून गर्दै आवश्यक आर्थिक क्रियाकलापलाई सुचारु गरिने प्रधानमन्त्री ओलीले घोषणा समेत गरे । खेतीपातीको याम खेर जान नदिन, सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषि कार्य अघि बढाइने बताए । नियन्त्रणको सीमाभित्र रहनसक्ने थप उद्योगहरुलाई सञ्चालनको अनुमति दिइने बताउदै श्रमिकको कोरोना परीक्षण गरेर काम गर्न दिने उल्लेख गरे । सम्बन्धित उद्यमीले आफ्नो व्यवसायमा रहने श्रमिकहरुले तोकेको प्रोटोकल पालन गरे÷नगरेको अनुगमन आफैं गरी त्यसको नियमित जानकारी सम्बन्धित प्रशासनिक निकायमा गराउनु पर्ने बताए ।

उद्योगीलाई राहत
कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक–व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको व्यवस्था सरकारले गर्ने भएको छ । कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा छुट दिइने प्रधानमन्त्री ओलीको भनाई छ । निजी क्षेत्र सबल नहुँदा अर्थतन्त्र सबल हुन सक्दैन भन्ने यथार्थलाई सरकारले राम्रोसँग बुझेको बताउदै शिथिल बन्न पुगेको अर्थव्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छुट्टै जारी गर्ने उल्लेख गरे ।

निरोगी नेपालका पाँच सुत्र
प्रधानमन्त्री ओलीले निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न सबैसँग आग्रह गरेका छन् । पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं । दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ । तेस्रो, भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ । चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ । पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।

प्रतिक्रिया