देउसीभैलोको रकमले विद्यालय भवन

कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका– ६ सेरा गाउँमा देउसीभैलोबाट संकलित रकमबाट विद्यालयको भवन निर्माण गरिएको छ । कक्षा पाँचसम्म सञ्चालित श्री भिमहरी आधारभूत विद्यालयले विद्यार्थिलाई कक्षा कोठा अपुग भएकाले देउसीभैलोको रकमबाट भवन निर्माण गरेको हो ।

विद्यालयले देउसीभैलो खेलेर उठाएको रकम अन्य ठाउँमा खर्च नगरी विद्यालयमै खर्च गरेको विद्यालयका प्रध्यापक भिमप्रसाद भट्टराईले बताए । स्थानियको श्रमदान र देउसीभैलोबाट संकलित ४० हजार रकमले २ कोठे भवन निर्माण गरिएको हो । १ सय ३६ जना विद्यार्थि रहेको उक्त विद्यालयमा विद्यार्थिहरुलाई बस्ने ठाउँसम्म नहुने समस्याले गर्दा स्थानियको पहलमा भवन निर्माण गर्ने निर्णय गरेका हुन् ।

०७५ सालमा खेलेको देउसीभैलोबाट उठेको कुल रकमको ४० हजार खर्चिएर भवन निर्माणको काम थालिएको थियो । हाल भवन निर्माण कार्य सम्पन्न भइ विद्यार्थिहरु कक्षा कोठाकोरूपमा प्रयोग गदै आएका छन् । विगतदेखि नै विकट मानिदै आएको कालिकोट जिल्लामा भूगोलले साथ नदिँदा विकास निर्माणका काममा समस्या हुने गरेको छ ।

सरकारले पनि विद्यालय क्षेत्रका लागि बजेट विनियोजन गर्दा थोरै गर्ने भएकाले स्थानियबासीले अन्य विकल्प अपनाउन थालेको अभिभावकहरूले बताउँने गरेका छन् । उक्त भिमहरी आधारभुत विद्यालय हाल सेरा गाउँको नमुना विद्यालयको रुपमा चिनिन्छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया