जनप्रतिनिधिबाटै लकडाउन उलंघन

कालिकोट । देश संकटमा रहेको बेला सरकारले लकडाउन घोषणा गरेसँगै कतिपयले लकडाउन उल्लंघन गरेका छन् । नेपाली कांग्रेस खाँडाचक्र नगरपालिका वडासमिति – ८ का सभापति सन्तोस मल्ल, सोही वडाका जनप्रतिनिधि कृष्णबहादुर मल्ल, स्वास्थ्य कर्मचारी दुर्गा विक, विद्युत प्राधिकरणका कर्मचारी हरि नेपालीले लकडाउन उलंघन गरेका हुन् ।

सरकारले लकडाउनको समयमा भीडभाड तथा भोजभतेर नगर्न सुझाव दिएका बेला उनीहरूले करिब ३०–४० जनाको समूह भेला भएर वनभोज गरेका छन् । विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको समयमा जनप्रतिनिधि जस्ता व्यक्तिले लकडाउनको उल्लंघन गरेर भोजभतेर गरेका छन् ।

नेपाली कांग्रेसले रास्कोट, खाँडाचक्रलगाएतका स्थानमा मास्क वितरण गर्ने नाममा भोजभतेर गरेको स्थानीयहरूको गुनासो छ । त्यस्तै, लुइयाटा, शुभकालिका, खाँडाचक्र, रास्कोट, तिलागुफा लगाएतका ठाँउमा देवताको पूजा गर्ने भन्दै भीडभाड गरेको पाइएको छ । यसबारेमा कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले गाउँमा कुनै बहानामा लकडाउन उलंघन गरेको पाइएमा कारबाही गरिने बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया