बाटोमाथिको पुल

                          शम्भु अर्याल

हामी भोलिपल्ट माघेसंक्रान्ति मनाउने तयारीमा थियौं । फेसबुक र म्यासेन्जरमा शुभकामना आदानप्रदान चलिरहेको थियो ।वालिङबाट चेम्वर अफ कमर्सको केन्द्रीय अधिवेशनको लागि तीनजना प्रतिनिधि काठमाडौंमा भेटिसकेका थिए । वरूण छोराको डेरामा लाग्यो । प्रकाश खै कता लाग्यो । सँगै गएका साथी आफ्नै कारणले क्षणभरमा तितरबितर भयौं ।

रिमरिम साँझपर्नै लागेको थियो । फोनमा घण्टी बज्यो । फोन थियो न्युज वान्टीफोर संवाददाता माधव गैरेको । बालाजु बसपार्कको पुलनेर आउनु न । म पनि काठमाडौं छु । माटो माया कति निकट हुन्छ हँ ? माटो सुगन्ध कति हर्र हर्र मगमगाउँछ । आहा…! यो पनि आफ्नै माटो थियो । उपत्यकाको उर्वर उत्पादन । रोंटे कमिलाजस्तो लामबद्ध खुब कुँदिरहेका छन् । एकत्रित त देखिन्छन् तर बिझाइरहेका छन् आफैमा । अटसमटस डसिरहेका छन् । डसिइरहेका छन् । टोकिरहेका छन् । टोकिइरहेका छन् । अहो मान्छेको प्रवृत्ति । यस्तै वातावरणले निकै नियास्रो लागिरहेको तनले गाउँटोलको हित्तचित्त एक भएको साथी भेट्नुमा निकै खुशी लागिरहेको थियो ।

हामी बसपार्कभित्र छिर्ने आकासेपुलमा भेट भइसकेका थियौं । रिमरिम साँझ पर्दै गइरहेको थियो । लगलग कमाउने जाडो । मन्द सिरसिर हावा सिरेटो कानमा निकै गडिरहेको थियो । सफा आकाशमा ताराहरू सिताराजस्तै चमचमाइरहेका थिए । आकासेपुलमा पोलामा अरिङ्गाल झुण्डिएजस्तै मान्छेहरू ठेलमठेल उभिइरहेका थिए । कोही निकै रफ्तारमा कुँदिरहेका थिए । पुलमा लस्करै खुद्रा सामान बेच्न व्यापारीहरू आकर्षण गरिरहेका थिए । आउनुहोस् आउनुहोस । मात्र रू सय ! तल रिङ्गरोडमा ट्राफिक सिठी फुकिरहेका थिए ।

हामी पुलमा उभिएर तलमाथिका गतिविधिहरू नियालिरहेका थियौं । यस्तैमा मेरो नजर एक युवतीमाथि पर्याे । पातली, अग्लो कद, गोरो अनुहार । आँखाको कोश तल कालोकोठी । कानमा ठुलाठुला एयररिङ्ग लगाएकी । ओंठको डिल कुनै चित्रकारले कुँदेजस्तै गरी निकै रेखात्मक तरिकाले रातो लिपिस्टिक लगाएकी । निकै सौन्दर्य प्रकट भइरहेको थियो । तर अनुहार निकै मलिन । तेलविनाको बातिजस्तो । अहो ! त्यही पालाको बाति न हो । बलिरहेको द्विप न हो । कति फरक हुन्छ हँ बल्नुमा पनि । तेलले भरिएको दिपक र रिक्तपालाको दिप ।

सायद आँखा युवती उभिएको ठाउँमा पर्दैन्थ्यो होला । अस्वभाविक विवेकहीन चरित्र र हाउभाउ ठ्याक्क आँखाले कैद गर्याे र केन्द्रिकृत भयो उक्त दृश्य र स्थान जसले निकै मसिनो गरी पुलमाथिको दृश्यलाई अध्ययन गर्ने कौतुहलता जागृत गरायो । निकै भिड थियो । युवती पुलको बारमा दुवै हात त्यार्साेगरी टेकाएर रिङ्गरोडतिर फर्किएर एकटकले नियालिरहेकी थिइन् । पछाडिबाट कुनै पुरूषले ठिक उनी पछाडि उभिएर उनको दायाँपट्टिबाट भिडमा हात पसाएर उनको अगाडिपट्टि चिमोटिदियो । उसको हात भिडको बिचमा पसेको थियो । तर उसले भिडमा छिराएको हात र उनी उभिइरहेको प्रकृतिले स्पष्ट थियो । पुरूषले उनको यौनाङ्गको दाहिनेपट्टि यातना नै पुग्नेगरी चिमट्यो । युवती झसङ्ग झस्किइन् र उनी हस्याङफस्याङ बाटोमाथिको पुलमै स्थान परिवर्तनको लागि लम्किइन । म घटना भएको उक्त पुरूषनजिकै गएँ ।

महिना दिनसम्म सफा नगरेको अति व्यस्त किचनको एक्झस्टको वरिपरि जम्मा भएको पत्रपत्र जमेको लेदोजस्तो लेदै जमेको चप्पल लगाएको । महिनौसम्म ननुहाएर स्याहार नपुगेको । जिङर्रिङ्ग दार्ही कपाल । नजिकै पर्दा ह्वास्स रक्सीले डुङ्डुङ्ती गन्हाएको मुख । टुप्लुक्क नजिक पुगेर यी सब महशुस गर्दागर्दै उ बोलिसकेको थियो । कति माग्यै छ यस्ले ?

नजिकै माधव सर ! फ्वात्त आवाज प्रस्फुटन भयो, सर ! भौ मान ! चप्पल किन्ने गति छैन । विस्तरामा जन्माउनुपर्ने । धत् ! साँच्चै स्त्री पुरुषको हावा फुक्ने वीर्य संकलनको बेलुन हो र ?

के गर्ने शम्भु सर ! यस्तो चन्द्रमा जस्तो अनुहार । आखिर कसैकी छोरी । कसैकी सङ्गिनी । कसैकी दिदी । कसैकी बैनी । कसैकी छिमेकी त हो नै । तल हेर्नुस् हजुर आउनभन्दा पहिला मेरो जुत्ताको सोल फुस्कियो । यस्सो दुईटाका मारेको दुई सय लियो । आसपासमा यी खुद्रा व्यापारीहरू त्यत्तिकै घाँटी सुकाइरहेका छैनन् । सयमा दुईवटा ! घडी रू ५० देखि पाँच सयसम्म ! लैजानुहोस् एक जिन्सको पाँच सयमात्र । खोसाखोस छ भिडमा । मान्छेको मूल्य कसले बनायो ? छोड्दिनुस् । वहियात टेन्सन । घडी बेच्नेले साम कमाइसक्यो । जिन्स बेच्नेले साम कमाइसके । जसजसले बेचे एक घण्टामा साम असुलिसके ।

यो मित्रवत् कुराकानीले विचारको पक्षपोषण त भयो । निकास भयो कि भएन खै ? हुन त म पनि सोह्र–सोह्र वर्षसम्म खाडीको नारकीय जीवन सामना गरिसकेको थिएँ । त्यही जीवनबाट आफ्नै देशमा केही गर्छु भन्ने दृढअठोटका साथ फर्केको पनि नौ वर्ष भएछ । भोको मरेको छैन । सफल या असफल यकिनका साथ म भन्न सक्दिन । तर मजस्तै खाडीको यातनाले राति सुतेका बिहान नबिउँझेका । अग्ला टावरमा रङ्गरोवन गर्दागर्दै रापिलो बालुवामा पछारिएर काठको बाकसमा गृह प्रवेश गरी सिधै तटनेर खरानी बन्नेहरू पनि मेरा सहयात्री हुन् । म जिउँदो आएँ । उनीहरू मुर्दा आए । पलायनको रहर सायद ममा पनि भएको नहुँदो हो । नचाहँदा नचाहँदै मान्छे हिड्नुपर्छ । चाहँदाचाहँदै मान्छे विश्राम लिनुपर्छ । कहाँ हुन्छ र स्वयंले चाहेर पनि ?

हामी निकैबेर पुलनेर उभिइरह्यौ । पुलको छेउमा अरू २, ३ जना युवतीहरू पुलको फरक फरक स्थानमा एकटकले उभिइरहेका थिए । वरिपरि भर्खरका युवक र केही चालीसको हाराहारीका पुरुषको झुण्ड थियो । उनीहरू रातको मोलमोलाई गरिरहेका थिए । कति लिन्छेस् एकरातको ? मोलमोलाइको हाट चलिरहेको थियो, स…! साले ! रातको चार हजार कुत्तिको औकात ! अतिनै निकृष्ट अपमानजनक र पुरुषवादी हैकमको दुर्गन्ध आकासेपुलमा हरहराइरहेको थियो । त्यो कुनै यौनजोडीको लिप्त स्थान थिएन । न त महिला र पुरूष बरालिने छहलिएको छरपस्ट ठाउँ थियो । थियो त अति व्यस्त आकासेपुल । जतिबेला पनि हस्याङफस्याङ ।

अतिरफ्तारमा कुँदिरहेका हुलको सार्वजनिक ठाउँमा संस्थागत भ्रष्टाचार । अझ त्योभन्दा बढी भालेवादको चर्काे प्रवृत्ति छताछुल्ल थियो । समस्या दोहोरै थियो । एक मौन ! अर्काे चिडचडाहट । एक तालजस्तै शान्त अर्को आक्रान्त । पानीमा तस्बिर धुमिल देखिन्थ्यो ऐनामा चम्किइरहेको । एउटा रणविरजस्तो अर्को घाइते पंछिजस्तो । एउटा बिलखबन्द एक्लै एकटकले उभिइरहेको मौनरत् दिनचर्या थियो त अर्काे मखुण्डो पहिनिएर अष्टमीको दिनमा लाखेको नाचजस्तै जात्रा । आहा ! एउटै सम्बन्ध त हो नि ! प्रस्तुति, मिमांस, आदत, आचरण एक गन्तव्य प्राप्तिका लागि लुचो आचरण र तानाशाही प्रवृत्ति ।

हामी आकासेपुलमा निकै वारपार गरिरह्यौ । घरि वारी घरि पारी । ती युवतीहरू हिँडेको बाटो र दिनचर्या ठिक थियो या थिएन त्यो त म भन्न सक्दिन । तर त्यहाँ भइरहेको ज्यादति निकै विषाक्त विस्मयादिबोधक र टिठलाग्दो खुला सामाजिक शोषण थियो । त्यहाँ जीवन थियो त चहराइरहेको थियो । कुनै न कुनै अपुरो आवश्यकतामा आकुलब्याकुल मौन रोदन । ठेलामठेल भिडको दिव्यदृष्टि । लागिरह्यो कति द्रष्टाहरू कुँदिरहेका छन् पुलमथि । दृष्टि के हो ? स्रष्टा, द्रष्टा, सृष्टि, दृष्टि र विहिनताबिचको मतान्तर यहिनेर म निकै सोंचमग्नमा परें ।

समय निकै अगाडि बढिसकेछ । पुलमा भिड बिस्तारै कम भैसकेको थियो । समय कति बलवान् हुन्छ हँ । भर्खर पुल ठेलमठेल, उकुसमुकुस, चयापाच्याप, अस्तव्यस्त र हतारमा थियो । अहिले सुनसन, सन्नाटा र शान्त । विस्तारै ती युवतीहरू पनि एकएक गर्दै पुलको सिंढी ओर्लिए । बाटोमाथिको पुुलमा पुरै सुनसान र सन्नाटा छायो । हामी पनि आफ्नो गन्तव्यतिर लाग्यौं ।

प्रतिक्रिया