कोरोना भाइरसका कारण जलवायु सम्मेलन सर्यो

विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण ब्रिटेनको ग्लास्गोमा तय भएको एउटा महत्त्वपूर्ण जलवायु सम्मेलन अर्को वर्षसम्मका लागि पर सारिएको छ।

ब्रिटेन र संयुक्त राष्ट्रसंघका अधिकारीहरूले इन्टरनेटमार्फत् एउटा भर्चुअल बैठक गरेपछि संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्। यसै वर्षको नोभेम्बर ९ बाट सुरु हुने बताइएको राष्ट्रसंघीय वार्षिक भेला कोप–२६ मा दर्जनौँ विश्व नेताहरू सहभागी हुँदैथिए । अब उक्त सम्मेलन सन् २०२१ को मध्यसम्ममा हुने अपेक्षा गरिएको छ।

विश्वभरि भाइरसको सङ्क्रमण फैलिरहँदा पछिल्ला साता सो सम्मेलन पनि पर सारिएको बताइएको छ । स्कटल्याण्डको ग्लास्गो शहरमा सम्मेलनको लागि प्रतिनिधिहरू, पत्रकार र वातावरण अभियानकर्ता गरेर झण्डै ३० हजारको संख्यामा मानिसहरू भेला हुँदैथिए। सम्मेलनको प्रस्तावित अध्यक्ष ब्रिटिश मन्त्री आलोक शर्माले निकट भविष्यमा भेलाको नयाँ मिति तय हुने बताएका छन् ।

महत्त्वपूर्ण वार्ताहरूको आतिथ्यता गर्ने ग्लास्गोको स्कटिस इभेन्ट्स क्याम्पस अब कोभिड(–९ का बिरामीका लागि अस्थायी अस्पतालको रूपमा परिवर्तन गरिँदैछ। भाइरसले देशहरूका प्राथमिकतामा बदलाव ल्याउन पारेको बाध्यात्मक अवस्था समेत स्पष्ट रूपमा देखिन्छ।

जलवायु परिवर्तनबारे निकै महत्त्वपूर्ण प्यारिस सम्झौता भएको पाँच वर्षपछि देशहरूले परिस्कृत जलवायु रणनीति ग्लास्गो सम्मेलनमा प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो। वातावरणवादी समूहहरूले यो टार्न नसकिने निर्णय भएको बताएका छन्।

यद्यपि यस सम्मेलन यसअघि नै यूके र स्कटिस सरकारबीचको असहज अवस्थाले विवादित बनिसकेको थियो।

प्रतिक्रिया