प्रवास

एउटै फ्ल्याटमा बस्ने आठ नेपालीमा कोरोना संक्रमण

सौर्य अनलाइन २०७६ चैत १९ गते १३:२६ मा प्रकाशित

लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरू सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरू मध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो ।

उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दासमेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा संक्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए ।

संक्रमित मध्ये एक बच्चा र गर्भवती पनि रहेका छन् । उनीहरू मध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ । सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा क्वारेन्टाइनको संक्रमण देखिने नेपालीको संख्या ९ पुगेको छ ।

पछिल्लो समय कोरोनाको संक्रमण नेपालीमा पनि देखिन थालेकाले सजग भएर बस्न एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आग्रह गरेका छन् । उनले सकभर घरभित्रै बस्न सबै नेपालीमा आग्रह गरेका छन् । यहाँस्थित अवैतनिक वाणिज्यदूत मकर हमालले पनि सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई घरमै बस्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय