तपाईं को हुनुहुन्छ ?

कृष्ण बोहरा

तपाईं को हुनुहुन्छ ? अथबा तपाईं त्यहि भद्र व्यक्ति हुनुहुन्छ, जसले समाजमा पटक–पटक आफ्नो भद्रता देखाएर भद्र व्यक्तिको रूपमा पहिचान बनाउनु भएको छ । तपाईं कवि हुनुहुन्छ ? तपाईंले पटक–पटक कविता लेखेर आफ्नो पहिचान बनाउनु भएको छ । यस्तो कविताका हरफहरू त तपाईंले हजारौं र लाखौँ लेखिसक्नुभयो । तपाईंका काव्य माहाकाव्यहरू पनि प्रकाशित छन् । म कवि होईन । किनकी म लहडमा मात्र एक दुई कविता लेख्छु । तपाईं समाजसेवी पनि हुनुहोला, किनकि तपाईंले समाजसेवाको काम कैयौँ गर्नुभएको छ ।

माथिका हरफहरुबाट के बुझिन्छ भने कुनै पनि चरित्र (Character ) मा आफ्नो पहिचान बनाउन त्यो काम उसले पटक–पटक गर्नु पर्दछ । पटक–पटक दोहर्याउनु पर्दछ । एकपटक गरेको कामले मान्छे त्यही हो भनेर पहिचान बन्दैन । कसैलाई लाग्न सक्छ एउटा पूस्तक लेखेपछि म लेखक भईसकेँ । एउटा गीती एल्बम निकालेपछि म गायक भईहालेँ । उ गायक त भयो होला तर समाजले उसलाई त्यो रूपमा चिन्दैन ।

यसो भनिरहँदा यस धर्तिमा अनेकौं आशा लाग्दा र लहलहाउँदा टुसाहरू , आँकुराहरू र पाउलाहरू उम्रिरहेका छन् । टुसाहरू भाँचिएलान र पाउलाहरू च्यातिएलान् भन्ने कुरामा विवेक पुर्याउनु पर्दछ । कतिपय आशा लाग्दा विभिन्न विषय र विधाका प्रतिभाहरू छन् । उनीहरूले छिट्टै प्रगती गर्न पनि सक्छन् । यस्तो हुँदाहुँदै पनि उनीहरुले फेरी पनि आफ्नो काममा निरन्तरता भने दिनै पर्दछ । यो एउटा सामाजिक जीवनको ध्रुबसत्य नियम हो । समाजमा कोही डाक्टर होला, कोही इन्जिनिएर होला, कोहि व्यापारी होला, कोही कृषक होला, सबैले आफ्नो पहिचान बनाउन अथक प्रयासपछि मात्र यो एउटा बानी, चरित्र र यसपछि पहिचान बन्दछ ।

हिन्दु धर्मशास्त्रमा रत्नाकर नाम गरेका एक डाकूनै पछि बाल्मिकी ऋषि बनेको उदाहरण छ । पटक–पटक दोहोर्याउने कर्मसँगै व्यक्तिको चरित्र र पहिचान फेरिन पनि सक्दछ । यतिखेर तपाईको आफ्नो सोचाई परिवर्तन गर्ने बिचार बनेको पनि हुन सक्दछ । हो तपाईंले आफ्नो सोचाई र स्वप्नालाई परिवर्तन गरेर अनि अथक प्रयत्न गर्दै पटक–पटक नयाँ कर्ममा अभ्यस्त बन्दै जान सक्नुभयो भने तपाईंको पहिचान समाजमा नयाँ बन्न सक्दछ ।

हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई तपाईंले देख्नु भएको छ । अनुहार देख्ने बित्तिकै तपाई हाँस्न थाल्नुहुन्छ । उनीहरूले एक दुई शब्द पनि बोल्न थालेपछि त तपाईं खित्का छोडेर हाँस्नुहुन्छ । यसो किन भयो होला ? किनकी उनीहरूले हाँस्यब्यङ्ग्य क्षेत्रमा एउटा पहिचान बनाएका छन् । हाँस्य ब्यंग्यको कैयौँ कार्यक्रम उनीहरूले संचालन गरिसके । उनीहरूले औँला घुमाउँदा, टाउको चलाउँदा , कदम अगाडि बढाउँदा पनि हाँसोको फोहरा उठ्दछ ।

किनकी उनीहरूले जीवन नै त्यसैमा दिए । यती मात्र होईन उनीहरूको कलामा समाजलाई असल बाटोमा डोहोर्याउने शंदेश हुन्छन् । नकरात्मकप्रति ब्यंग्य, सकरात्मक तिरको स्वतस्फुर्त उद्देश्य र लक्षले भरिपूर्ण कला भएकाले सूनमा सुगन्ध मिसिएको पनि छ । यस्तै हाँस्यव्यंग्य क्षेत्रमा सिताराम कट्टेल, दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल आदि पहिचान बन्दै र बनाउँदै गएका नामहरू हुन् ।

यसैले व्यक्ति त्यही हो, पटक–पटक उसले जे गर्दछ । तपाईं म , तिमी हामी, उ, उनी, हामीहरू तपाईंहरू सबै त्यही हो । अब म राजनीतिक क्षेत्रमा लागेर भए गरेका एक दुई राम्रा काम र त्यो कर्म गर्ने पात्रको बारेमा लेख्न चाहन्छु । काठमाडौं शहरको बाटो फराकिलो पार्ने काममा डा. बाबुराम भट्टराई, उर्जा मन्त्रीको रूपमा सिहंदरबारको समेत विद्युत्लाईन काट्न पछि नपर्ने गोकर्ण विष्ट आदि उनीहरूले गरेका कामको प्रशंसा नगरीरहन सकिँदैन ।

हाम्रा देशका सबै शहरहरूका सडक चौडा र फराकिला हुन माथि भनिएको कर्म पटक–पटक दोहोरिनु पर्दछ । यो कर्म निरन्तर भइरहनु पर्दछ । तर, यसो भएन । नत संबन्धित पात्रले पूनः स्थान पाए । नत कर्महरूमा निरन्तरता आयो । शून्दर सुधार र परिवर्तन भन्ने कुरै रहेन । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको प्रवेसपछि भने उर्जा क्षेत्रमा केही आशा लाग्दा र सकरात्मक कर्महरूले निरन्तरता पाईरहेको छ ।

सकरात्मकता नचाहने तत्वहरूका आँखाको कसिङ्गर भएका छन् कुलमान । यसो भनिरहँदा यो लेखमा दिएको पात्रहरूको सम्बन्धमा कतिपयको धारणा नकरात्मक हुन सक्दछ । किनकी हाम्रो देश ऐले विभिन्न पार्टी, विभिन्न गूट–उपगू , धर्म जात जातीमा विभाजित मानसिकतामा छ । जे सुकै भएता पनि निश्चित कामको सम्बन्धमा उनीहरूले गरेको काम वास्तविक हो । वास्तविकलाई बंग्याउन खोजे अवास्तविक बन्छ । अवास्तविक संसार तिर जानु भनेको आत्मा परमात्मालाई गूहार्नु हो । देखेको कुरा झुटो हो, संसार झुटो हो भनेर चल्नेवाला छैन ।

मैले भन्न खोजेको अर्को कुरा हो, राष्ट्रियताको सन्र्धभमा कुनै प्रधानमन्त्रीले कुनैबेला गरेको कर्म र अडानले सधैँ काम दिन्छ भन्ने होईन । यो त राष्ट्रिय स्वार्थलाई केन्द्रबिन्दुमा राखेर निरन्तर गरिने प्रयासबाट मात्र सम्भब हुन्छ । पुरै देशले पराधिन हुनबाट बचाउन आउँदा दिनमा उक्त कर्महरूले पनि निरन्तरता पाउनुपर्दछ । अझै धेरै गाँठाहरू छन् ।

बिस्तारै फुक्दै जानुपर्दछ । पराधिनताबाट देशलाई मुक्त गर्न बोलेर मात्र पुग्दैन । गरेर देखाउनुपर्ने थुप्रै कर्महरू छन् । पर निर्भरतालाई बदल्न गर्नुपर्ने असंख्य कामहरू एक दुई जनाले मात्र गरेर पुग्दैन । पुरै देशले गर्नुपर्दछ । एउटा व्यक्तिको रूपमा देशलाई लिने हो भने देशलेनै यो कामको निरन्तरता दिनुपर्दछ ।

भविष्यका प्रमहरूले अझै यो भन्दा पनि बढी कामहरू गरेर राष्ट्रियतालाई बलियो बनाउनु पर्दछ । राम्रा कामहरूको पटक–पटक पुनराबृती, पराधिनता अस्विकृत मानसिकताको निरन्तरताले नै भविष्यका सन्ततीहरूमा यो बानी बन्छ, चरित्र बन्छ र नेपालको एउटा पहिचान बन्दछ ।

प्रतिक्रिया