प्युठानका नौ वटै स्थानिय तहमा क्वारेन्टाईन (फोटो फिचर)

प्युठान । प्युठानका ९ वटै स्थानिय तहले कोरोनाको संक्रमणबाट बच्चको लागि क्वारेन्टाइन अस्पताल निर्माण सम्पन्न गरेका छन् । गत आईतबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट क्वारेनटाईन निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय भएको थियो । सोही अनुसार सोमबारदेखि क्वारेन्टाईन निर्माणको काम सुरु गरेर बिहीबारसम्म सबै पालिकाले क्वारेन्टाइन निर्माण सम्पन्न गरेका हो ।

संक्रमण अन्य मानिसमा नफैलियोस् भन्नका लागि संक्रमणको सुनिश्चित हुने अवधिभर १४ दिन छुट्टै स्थानमा सुरक्षित राख्नका लागि क्वारेन्टाईन सञ्चालमा ल्याउन लागियको स्थानीय तहहरूले बताएका छन् । सोही अनुसार प्युठान नगरपालिकाले कालिका विकास केन्द्रको सभाहलमा १० बेडको क्वारेनटाईन सञ्चालन ल्याएको छ ।

नगरपालिकाले नगरका १० वटै वडामा क्वारेन्टाईन सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । त्यस्तै, स्वर्गद्वारी नगरपालिका भिग्रीले प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा तीन बेडको क्वारेन्टाईन सञ्चालन गरेको छ । नगरपालिकाले नगरका सबै वडाका विद्यालयमा पनि क्वारेन्टाईन तयार गर्ने नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताए ।

ऐरावती गाउँपालिका बरौलाले मोती माध्यामिक विद्यालयमा चार बेडको क्वारेन्टाईन मंगलबारदेखि सञ्चालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताए । त्यस्तै, माण्डवी गाउँपालिकाले जस्पुर विद्यालयमा १० बेडको क्वारेन्टाइन मंगलबारदेखि सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख धुव्रकुमार पोख्रेलले बताए ।

झिमरुक गाउँपालिकाले बाल शिक्षा माध्यामिक विद्यालयमा पाँच बेडको क्वारेन्टाईन सञ्चालनमा ल्याएको गाउँपालिकाको स्वास्थ्य संयोजक बिकास केसीले बताए । उता मल्लरानी गाउँपालिकाले मंगलबार साविक महिला तथा बालबालिका कार्यालयमा सात बेडको क्वारेन्टाईन सञ्चालनमा ल्याएको छ ।

सरुमारानी गाउँपालिकाले रानीकुवामा १० बेडको क्वारेन्टाईन निर्माणका लागि तयारी भएको स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले बताए । गौमुखी गाउँपालिकाले पनि लोकतान्त्रिक प्रावि रातामाटामा क्वारेन्टाईन निर्माणको तयारी गरेको पालिकाका अध्यक्ष विष्णु गिरीले बताए । प्युठान नगरपालिका वडा नं ७ ले स्वर्गद्वारी क्याम्पस पुण्यखोलामा १० बेडको क्वारेन्टाईन सञ्चालन गरेको छ ।

यससँगै प्युठानका नौ वटै स्थानिय तहले वडास्तरमा पनि क्वारेन्टाईन सञ्चालनमा ल्याउने तयारी भईरहेको छ । गृह मन्त्रालयबाट प्राप्त भएको टेन्टहरू प्रयोग गरी प्युठान नगरपालिकाको गणतान्त्रिक खेलकुद मैदान बिजुवारमा क्‍वारेन्टाइन स्थल तयार गरिएको छ । कोरोनाको संक्रमणका सम्भावित बिरामीलाई लक्षित गरी ५० बेडको क्‍वारेन्टाइन निर्माण गरिएको हो ।

बिहीबार ईन्द्रध्वज गण खलंगा र प्यूठान नगरपालिकाले प्युठान नगरपालिका–४ को खेलकुद मैदानमा क्‍वारेन्टाइन निर्माण गरिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए । खेलकुद मैदानमा क्‍वारेन्टाइन लाई आवश्यक पर्ने खानेपानी, शौचालयसहित अन्य आवश्यक भौतिक पूर्वाधारको काम भइरहेको प्रमुख कक्षपतिले बताए । हेल्थ क्याम्पसहितको क्‍वारेन्टाइनस्थल निर्माण भएको ईन्द्रध्वज गण खलंगाले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया