कोरोना रोकथाम सतर्कतामा ध्यान दिन आग्रह

कास्की । कोरोनाको पूर्वतयारीका बारेमा साझा पार्टीले पोखराका विभिन्न अस्पतालका बारेमा जानकारी लिएको छ । साझा पार्टीको केन्द्रीय सदस्यसहित गण्डकी प्रदेश र जिल्ला संयोजकसहितको टोलीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल लगायतमा पुगेर यसबारे जानकारी लिएको हो ।

साझा पार्टीकी केन्द्रीय सदस्य सुशीला केसी अधिकारीको नेतृत्वमा अस्पताल पुगेको टोलीले अस्पतालमा कोरोना रोकथाम र पूर्वतयारी आंशिक देखिए पनि पूर्ण नभएको र अझै गम्भीर भएर तयारी गर्नुपर्ने देखिएको बताएको छ । प्रदेश र स्थानीय सरकारले बाहिर प्रचार गरेको अवस्था अस्पतालमा पुग्दा नभएको भन्दै प्रभावकारी बनाउनसमेत आग्रह गरेको छ ।

कास्की जिल्ला संयोजक अर्जुन खनालले भने, ‘हामी हरेक अस्पतालमा गयौँ तर त्यहाँ कार्यरत डाक्टर एवं कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री नभएकाले उनीहरू नै त्रसित अवस्था रहेको भेट्यौँ, अन्य कुरामा पनि संवेदनशीलता देखिएको छैन ।’ साझा पार्टीले सरकारसँगै सम्बन्धित निकायलाई यस विषयमा अझ बढी सचेत हुन सुझावसमेत दिएको छ ।

सरकारले आवश्यक तयारी गरिरहँदा चाहिने चिकित्सक सहयोगीहरू अगाडि बढाउँन साझा पार्टी सधैँ तयार रहेको अर्का केन्द्रीय सदस्य रजनी केसीले बताइन् । साझा पार्टीले सबै प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि मास्क तथा सानिटाइजर वितरण गरेको उनको भनाइ थियो । यो विषम परिस्थितिमा मिडियाले जनतालाई सकारात्मक र आधिकारिक सूचना प्रवाह गर्दै जनचेतनामूलक सन्देश प्रवाहलाई जोड दिनुपर्ने बताइन् ।

प्रतिक्रिया