राजेन्द्रको ‘कोटेश्वरको केटो’ बजारमा

काठमाडौं । आख्यानकार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरण संग्रह ‘कोटेश्वरको केटो’ बजारमा आएको छ । पराजुलीले बाल्यकाल र पत्रकारिताको अनुभवलाई पुस्तकमा उधिनेका छन् ।

कोटेश्वर, अनुहारहरू, अनुभूति सुफियाना र अक्षरहरूसँग गरी चार भागमा बाँडिएको यस पुस्तकमा पराजुलीले आफूले संगत गरेका केही पात्रका अतिरिक्त समसामयिक विषयलाई समेत कलात्मक रूपमा पुस्तकमा उतारेका छन् । फिनिक्स बुक्सले प्रकाशन गरेको यो पुस्तकमा २५ वटा संस्मरण रहेका छन् ।

कोटेश्वरमा जन्मिएका आख्यानकार पराजुलीले साढे चार दशकअघिको कोटेश्वर, वाग्मती नदी, काठमाडौंको सभ्यता संस्कृति र काँठे जनजीवनलाई कथात्मक रूपमा उनेका छन् । संग्रहमा रहेका संस्मरणमा जीवनका आरोह–अवरोह, संघर्ष र सफलता–असफलताका विषयलाई आकर्षक रूपमा प्रस्तुत गर्दै समय र सन्दर्भ अनुसार समाज परिवर्तन हुने कुरालाई चित्रण गरेका छन् ।

काव्यिक तथा समाचारीय शैलीमा लेखिएका संस्मरणमा कोटेश्वरका कतिपय बासिन्दाले राज्यपीडा भोग्नुपरेको दृष्टान्तलाई केलाइएको छ । काठमाडौंमा जन्मँदैमा राज्यप्रदत्त सुविधा सबैका भागमा पुगेका हुँदैनन् भन्ने भाव समेटिएका संस्मरणमा कोटेश्वरले कहिले त्रिभुवन विमानस्थल विस्तार त कहिले सडक निर्माणका नाममा उठिबास सहनुपरेको विषयलाई उल्लेख गरिएको छ । अभाव, गरिबी, असुविधा र अव्यवस्थाका कारण कतिपय काँठ क्षेत्रका बासिन्दा राजधानीबाटै पलायन भएको विषयलाई लेखकले कलात्मक रूपमा उतारेका छन् ।

अघिल्लो वर्ष ‘अघोरी’ कथा संग्रह ल्याएका लेखक पराजुलीको यो आठौँ कृति हो । २०७ पृष्ठको यो पुस्तकको मूल्य रु.३५० रहेको छ ।

प्रतिक्रिया