दैलेखबाट साढे ५ हजारले एसईई दिँदै

दैलेख । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि दैलेखबाट ५ हजार ५ सय १८ जनाले एसइइ दिने भएका छन् ।

एसइइ परीक्षामा तीन जना महिला केन्द्राध्यक्ष नियुक्त भएका छन् । नियमित तर्फका २२ र ग्रेडवृद्धि तर्फका २ वटा गरी कुल २४ परीक्षा केन्द्र मध्ये तीन वटा परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष नियुक्त गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखका इकाइ प्रमुख तेजबहादुर थापाले जानकारी दिए ।

महाबु गाउँपालिकाको गैडावाज मावी परीक्षा केन्द्रमा सरिता गुरुङ, नारायण नगरपालिका स्थित त्रिभुवन मावी परीक्षा केन्द्रमा देवी बुढा र सरस्वती मावीमा पार्वती पोखरेललाई केन्द्राध्यक्षमा नियुक्त गरिएको इकाइ प्रमुख थापाले जनाए । ‘परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ’, इकाइ प्रमुख थापाले भने, ‘सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ ।’ केन्द्राध्यक्षलाई अभिमुखीकरण गरी केन्द्रमा पठाएको उनले बताए । यस वर्षको एसइइ परीक्षामा दैलेखबाट ५ हजार ५ सय १८ जना परीक्षार्थी सामेल हुँदैछन् ।

नियमित साधारण तर्फका ४ हजार ६ सय ३, प्राविधिक तर्फका ९१ र ग्रेड वृद्धि तर्फका ८ सय २४ जना परीक्षार्थी परीक्षामा सामेल हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । ग्रेडवृद्धितर्फ दुई मात्र परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा ३ सय ३८ छात्र र ४ सय ८६ गरी ८ सय २४ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । यस्तै प्राविधिक विषयतर्फ ५५ छात्र र ३६ छात्रा गरी ९१ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । वसन्त मावी किमुगाउँमा प्राविधिक तर्फका विद्यार्थी रहेको इकाइले जनाएको छ ।

दैलेखमा ७५ प्रतिशत हाजिरी नपुगेकै कारणले परीक्षा दिनबाट वञ्चित हुने विद्यार्थी नभएको इकाइ प्रमुख थापाले जनाएका छन् । परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, प्रहरी र सहायक कर्मचारी र विद्यालय सहयोगी गरी झन्डै ८ सय ६७ कर्मचारी खटिनेछन् ।’ स्थानीय तहसँग समन्वय गरी परीक्षा केन्द्रमा कोरोना भाइरस रोकथामका लागि हेल्थ डेक्स स्थापनाको तयारी भइरहेको छ,’ इकाइ प्रमुख थापाले जानकारी दिए ।

प्रतिक्रिया