कोरोनाबाट पोर्चुगलमा पनि नेपाली संक्रमित, ७४ नेपाली क्वारेन्टाइनमा

लिस्बन । पोर्चुगलको फारोमा कृषि मजदुरका रूपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना भाइरस संक्रमण भएको छ ।  फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले सो घटनाको पुष्टि गरेका हुन् । नेपालीमा कोरोना भाइरस पुष्टि भएपछि संक्रमण फैलन नदिन उनीसंँगै काम गर्ने र उनको सम्पर्कमा भएका अन्यको आइतबार व्यापक खोजी गरिएको थियो ।

यसै क्रममा संक्रमित नेपालीसंँगै बस्ने, सँंगै काम गरेका र सम्पर्कमा भएका ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । फारोका प्रमुखका अनुसार स्वास्थ्य निर्देशनालयको मस्यौदाले कोरोना संक्रमित नेपालीसहित अन्य नयाँ बिरामीको पुष्टि भएको हो । कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भएतापनि उनको नाम र उमेरबारे केही खुलाइएको छैन ।

नेपाली कन्सुलर मकरबहादुर हमालले ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको र एक नेपालीलाई संक्रमित भएको स्थानीय समाचार माध्यमले जनाएपछि सोबारे कूटनीतिक पहल गरिने बताए । उनले सम्पूर्ण नेपालीलाई सुरक्षित रहन अनुरोध पनि गरे । उनका अनुसार कोरोना संक्रमित ती नेपाली कति मानिससँग काम गर्छन्, कहाँ र कोसँग बस्छन्, उनको सम्पर्कमा को को कति जना मानिसहरू रहेका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ ।

कोरोनाबाट अन्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने उपाय पनि अवलम्बन गरिनेछ । फारोका प्रमुखले स्थानीयवासीलाई घरमै रहन, धेरै मानिस भएका ठाउँमा नजान, क्याफेमा नजान र भेला नहुन तथा र सरकार र सरकारी अधिकारीको निर्देशनलाई पालना गर्न आग्रह गरेका छन् । पोर्चुगलमा पछिल्लो समयमा २७६ जना कोभिड –१९ बाट संक्रमित भएको छ ।

प्रतिक्रिया