कार्टुनलाई प्रतिपक्षका रूपमा लिइन्छ

अविन श्रेष्ठ, नेपाली कार्टुन क्षेत्रमा परिचित नाम हो । विगत २५ वर्षदेखि यस क्षेत्रमा क्रियाशील श्रेष्ठको हालै ‘अविनको कार्टुन संग्रह भाग २’ प्रकाशित भएको छ । बुकआर्ट नेपालले प्रकाशन गरेको उक्त संग्रहमा २०६२÷०६३ को जनआन्दोलनपछि वर्तमान सरकार गठन भएको वेलासम्मका कार्टुन संग्रहित छन् । नेपाली राजनीतिका दाउपेच, संक्रमणकालीन परिवेश, समाज र सामाजिक चरित्रलाई बुझ्न निकै उपयोगीरूपमा संग्रह आएको छ । विचार र कला पक्षलाई कार्टुनमा सशक्तरूपमा प्रस्तुत गर्नसक्ने श्रेष्ठको यसअघि ‘अविनका कार्टुन संग्रह भाग १’ प्रकाशित भइसकेको छ ।  कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्षसमेत रहनुभएका श्रेष्ठ विभिन्न संघसंस्थाबाट पुरस्कृत भइसक्नुभएको छ । भर्खरै प्रकाशित संग्रह, नेपाली कार्टुन तथा यसका सामाजिक पाटोका विषयमा केन्द्रित रही देवेन्द्र थुम्केलीले गरेको संक्षिप्त कुराकानीः

० भर्खरै यहाँको कार्टुन संग्रह प्रकाशित भएको छ । कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
राम्रो नै प्रतिक्रिया पाएको छु । अहिलेसम्म जतिले हेर्नुभयो सबैले रूचाइदिनु भएको छ । त्यसैले बजारमा पनि यो पुस्तकले रामै्र स्थान पाउने छ भन्नेमा ढुक्क छु ।

० संग्रहमा राजनीतिक कार्टुन बढी नै रहेका छन्’नि ?
यो संग्रह नै राजनीतिक कार्टुनकै हो । तर केही पृष्ठमा कान्तिपुरमा प्रकाशित गजब छ बा ! स्तम्भका केही कार्टुनहरू पनि राखेको छु । जसमा सामाजिक विषयवस्तुमाथि बनाएका कार्टुनहरू पनि राखेको छु । त्यसो भएकाले पाठकहरूले फरक स्वाद पाउनुहुनेछ ।

० प्रकाशित संग्रहमा रहेका कार्टुनका बारेमा बताइदिनुस् न ।
कार्टुन पारखीहरूले नेपाली कार्टुनको बेग्लै स्वाद पाओस् भन्ने विचारले मैले सो संग्रहमा २०६२÷६३ को जनआन्दोलनपछि अहिलेको दुईतिहाइको सरकार बन्दासम्मको कालखण्डलाई रोजेको छु । किनभने त्यो कालखण्डमा मुलुकले सयौँ वर्ष पुरानो राजतन्त्र फालेर गणतन्त्रमा प्रवेश गर्नेदेखि लिएर संविधानसभाको निर्वाचन हुँदै संघीय व्यवस्थासम्मको पनि यात्रा गरेको थियो । त्यो कालखण्डमा जे–जस्ता विषयवस्तुमाथि कार्टुन बने, न त्योभन्दा पहिले बनेको थियो, न अहिले बन्छ । त्यसकारण त्यो कालखण्डका कार्टुनहरूले पाठकलाई फरक स्वाद दिनेछ भन्ने विषयमा म विश्वस्त छु ।

० नेपालको संक्रमणकालीन राजनीतिक परिवेशलाई नियाल्न संग्रह उपयोगी हो भन्न सकिन्छ ?
कार्टुन सधैँ विकृति विसंगतिविरूद्ध लक्षित हुने भएकाले यसले आमनागरिकको पीडा बोली नै रहेको हुन्छ । त्यसकारण म यो भन्न सक्छु कि नेपालको संक्रमणकालीन राजनीतिक परिवेशलाई नियाल्न यो संग्रह अत्यन्त उपयोगी हुनेछ ।

० भ्रष्टाचार तथा विकृति विसंगतिपूर्ण राजनीति तथा समाजप्रति कार्टुन अलि बढी कठोर सिर्जना हो ?
हो र हुनु पनि पर्दछ । विकृति विसंगतिविरूद्ध आवाज उठाउने नै हो भने त्यहाँ अलि कठोरता त हुनै पर्दछ । यति कठोर भइकन त सम्बन्धित निकायहरूले सुनेको नसुनेकै गरिरहेको अवस्था छ । त्यसमाथि नरम भइदियो भने के नै महत्व रहला र ?

० कार्टुनलाई स्थायी प्रतिपक्षका रूपमा पनि लिने गरिन्छ नि ?
सही हो । कार्टुनले व्यंग्य मात्र गर्दैन, सुधारको पनि अपेक्षा राखिरहेको हुन्छ । अब सुधारको अपेक्षा भनेकै सत्तापक्षसँगै राखिने हुन्छ । त्यसकारण मुख्यतया कार्टुनको निशाना भनेकै सत्तापक्ष हुन्छ । त्यसकारण पनि कार्टुनलाई स्थायी प्रतिपक्षको रूपमा लिइने गरिन्छ ।

० नेपालमा पछिल्लो समय कार्टुनको अवस्था कस्तो छ ?
तुलनात्मक रूपमा पछिल्लो समय अलि राम्रै देखिन्छ । तर, चित्त बुझाउन सकिने अवस्था छैन । दुई चारवटा ठूला मिडियामा आबद्ध कार्टुनिस्टहरू बाहेक अझै पनि धेरैजसो कार्टुनिस्टले कार्टुन लेखनलाई नै आफ्नो मुख्य पेसा बनाउन सकिरहेको अवस्था छैन । त्यसमाथि वेलावेलामा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने खालका कानुनहरू ल्याएर कार्टुनिस्टको मनोबललाई अझ गिराउने खालको अवस्था सिर्जना भइरहेको पनि देखिन्छ ।

० प्रायः पाठकले कार्टुन बढी राजनीतिक विषयमा केन्द्रित भयो, समाजका अन्य पक्ष कम आए भन्ने प्रतिक्रिया दिएको पाइन्छ नि ?
राजनीतिले कुनै पनि क्षेत्रलाई छोडेको छैन । हाम्रो देशमा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्र त राजनीतिबाट मुक्त हुन सकेको छैन । जहाँ हे¥यो त्यहाँ राजनीति नै राजनीति व्याप्त छ । अनि फेरि सबैभन्दा बढी विकृति राजनीतिमै भइरहेको अवस्था पनि छर्लङ्गै छ । यस्तै, कारणहरूले गर्दा कार्टुन अलि बढी राजनीतिक विषयमा केन्द्रित हुन जान्छ ।

० सबल कार्टुन बन्न कला र विचार पक्षको संयोजन हुन जरुरी हुन्छ, तर हामीकहाँ विचार पक्ष बढी हावी भएको देखिन्छ नि ?
कार्टुन भनेकै कला र विचारको उचित समायोजन हो । कला पक्ष सबल भएन भने विचार पक्ष जति नै बलियो भए पनि त्यो प्रभावकारी हुँदैन जस्तो मलाई लाग्छ । त्यसकारण म विचारको साथसाथै कला पक्षमा पनि उत्तिकै मिहिनेत गरिरहेको हुन्छु । त्यसैले, मेरा कार्टुनमा विचार पक्ष मात्र हावी भएको तपाईं पाउनुहुन्न ।

० सशक्त कार्टुन बनाउन के कुरामा ज्यादा ध्यान दिनुपर्छ ?
सशक्त कार्टुन बनाउन कार्टुनिस्ट पनि सशक्त हुनुपर्दछ । कार्टुनिस्टले कुनै समाचार पढेर मात्र पुग्दैन, त्यसलाई विश्लेषण गर्ने क्षमता पनि राख्न सक्नु पर्दछ । त्यसको लागि अध्ययन चाहियो, लगनशीलता चाहियो । त्यसमाथि कलाकारितामा राम्रो दख्खल भएमा त झन् सुनमा सुगन्ध भनेजस्तो हुने नै भयो ।

प्रतिक्रिया