रत्नेचौर–बेनी सडक कालोपत्रे

म्याग्दी । रत्नेचौर–बेनी खण्डको सडक कालोपत्रे गरिएको छ । बागलुङ–बेनी सडक खण्डअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि खबरासम्म चार किलोटिर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।

सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको सडक स्तरवृद्धी र कालोपत्रेको काम ०७४ माघदेखि सुरु भएको थियो । कालोपत्रे गर्नुअघि सडक फराकिलो बनाउने, नाली निर्माण र ग्राभेल स्तरको काम सम्पन्न गरिएको थियो । चार किलोमिटर रत्नेचौर–बेनी खण्डको सडक कालोपत्रेको काम करिब ९३ प्रतिशत सम्पन्न र वैशाखसम्म निर्माण सम्पन्न भइसक्ने निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले जानकारी दिए ।

१२ करोड १७ लाख रुपैयाँ बढी लागतमा सो सडक कालोपत्रेको ठेक्का नागार्जुन देव एन्ड सायर बिएन जेभीले लिएको थियो । ‘कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ’, प्रतिनिधी जिसीले बताए । संघीयता कार्यान्वयनपछि सडक डिभिजनले प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय म्याग्दीलाई हस्तान्तरण गरेको थियो । गतवर्ष बजेट अभावमा अघि बढाउन नसकिएको यो सडकलाई यसवर्ष बजेट व्यवस्थापन गरेर सम्पन्न गराउन लागिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर ओमराज ढुंगानाले बताए ।

‘बागलुङ हुँदै म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बागलुङ–बेनी सडक खण्ड अन्तर्गतको रत्नेचौर–बेनी खण्डको सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ’, ढुंगानाले भने । ‘चिसो बढेको कारण कालोपत्रेको काम केही समयलाई स्थगित गरिएको छ,’ उनले खबरादेखि हाँडेभिरको पुलको मुखसम्मको सडक पनि कालोपत्रेका लागि प्रक्रिया अघि बढेको जानकारी दिए ।

कालोपत्रेका लागि रिनेटिङ, ग्याबियन पर्खाल लगाउने, रक कटिङ गरेर सडकलाई नालीसहित १० मिटर फराकिलो पारिएको छ । ९ मिटर चौडाइका दरले कालोपत्रे गरिएको छ । यसअघि बागलुङदेखि रत्नेचौरसम्म १० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । यो सडक कालोपत्रे भएमा बेनी नगरपालिका–१ र २ का बासिन्दाका साथै म्याग्दी हुँदै बागलुङ आवतजावतका लागि सहज हुने वडाध्यक्ष टेकबहादुर रावलले बताए ।

यात्रा अवधि छोटिनुका साथै सवारी भाडा र ढुवानीदर घट्ने अपेक्षा गरिएको छ । बेनी–बागलुङ सडक मालढुंगा–बेनी सडकको विकल्पको रुपमा समेत रहेको छ । मालढुंगा बेनी सडक अवरुद्ध हुँदा बागलुङ–बेनी सडक भएर म्याग्दी र मुस्ताङ जाने आउने सवारी साधन आवतजावत गर्न सक्नेछन् । सम्झौताअनुसार फागुन महिनाभित्र सडक कालोपत्रेको काम सक्नुपर्नेछ ।

प्रतिक्रिया