विद्यालय सात महिनादेखि अध्यक्षविहीन

बुटवल । दलीय राजनीतिक स्वार्थका कारण बुटवल–५ मा रहेको ज्ञानोदय दिवा माध्यमिक विद्यालय सात महिनादेखि अध्यक्षविहीन भएको छ ।

शिक्षा ऐन २०७१ को नवाँै संशोधनअनुसार प्रत्येक तीन÷तीन वर्षमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको पदावली सकिनुअघि नै अध्यक्ष चयन हुनुपर्ने भए पनि वडाध्यक्षको व्यक्तिगत स्वार्थकै कारण सात महिनादेखि विद्यालय अध्यक्षविहीन भएको हो ।

गत १ भदौमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कार्कीको म्याद सकिए पनि राजनीतिक स्वार्थकै कारण अहिलेसम्म विद्यालय व्यवस्थापन समिति चयन हुन नसकेको विद्यालयका प्राचार्य टीकाराम शर्मा पौड्यालले बताए ।

लामो समयदेखि विद्यालय अध्यक्षविहिन भएपछि १६ माघमा विद्यालय व्यवस्थापन समिति गठन सहजीकरण समितिको बैठक बसेर अभिभावक भेला बोलाउने निर्णय गरेको थियो । विद्यालय निरीक्षक टीकाराम पन्थीको संयोजकत्वमा वडाध्यक्ष तेजप्रसाद सुनार र प्राचार्य टीकाराम शर्मा पौड्याल रहेको समितिले २ फागुनमा अभिभावकको नामावली प्रकाशन गर्ने र फागुन ११ मा अभिभावक भेला गर्ने निर्णय गरेको थियो । तर, वडाध्यक्ष तेजप्रसाद सुनारले आफ्ना कार्यकर्तालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य ल्याउन खोज्दा विद्यालयमा विवाद उत्पन्न भएको छ ।

१६ माघको बैठकले ११ फागुनमा अभिभावक भेला बोलाउने निर्णय गरे पनि अध्यक्ष सुनारले शिवरात्रीको कारण देखाउँदै भेला स्थगन गर्न उपमहानगरपालिकालाई ८ फागुनमा पत्र पठाएका थिए । उक्त पत्र उपमहानगरपालिकाले ११ गते बिहान १०ः३० बजे मात्र विद्यालयमा पठाएको थियो । उपमहानगरपालिकाको पत्र आइनसक्दै अभिभावकहरू भने विद्यालयमा भेला भइसकेका थिए ।

‘आफ्ना मानिसहरू ल्याउनकै लागि उपमहानगरपालिकाले भेला सुरु हुन लाग्दा स्थगनको पत्र पठाएको हो, यहाँ राजनीतिक अखाडा बनाउन खोजियो’, प्राचार्य पौड्यालले भने, ‘वडाध्यक्ष र विद्यालय निरीक्षकविना नै अभिभावकले स्वतःरूपमा समिति गठन गरेका छन् ।’

आफ्ना कार्यकर्ता राख्ने मनसायले २ फागुनमा प्रकाशित अभिभावकको नामावलीमा फोन नम्बर नभएको र विद्यार्थीहरूको नाम प्रकाशित लिस्टमा नभएको भन्दै अध्यक्ष सुनारले भनेका चार जना अभिभावकको नाम थप गरेर विद्यालयले ८ गते पुनः अभिभावकको नामावली प्रकाशन गरेको थियो । ‘बोल्न नजान्ने समेतलाई अध्यक्षले समितिमा राख्ने प्रयासमा हुनुहुन्थ्यो । आफ्ना मान्छे नभएपछि भेला स्थगनका लागि पत्र पठाउनुभएको हो’, एक अभिभावकले भने ।

विद्यालयमा कुल ३ सय ५६ अभिभावक मध्ये अभिभावक भेलामा २ सय १० जना आएका थिए । भेलाले टेकमान रोका, धीरज कार्की, रेखा श्रेष्ठ र जुना तिवारीलाई निर्विरोध निर्वाचित गरेको छ । बाँकी दुई सदस्य निर्वाचित सदस्यले मनोनयन गर्नेछन् । र, अध्यक्ष चयन हुनेछ । स्रोतका अनुसार अध्यक्ष सुनारले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जलिल मियालाई ल्याउन खोजेको तर नमिलेपछि अध्यक्षले भेलाको स्थगन गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष चयन नहुँदा त्यसको प्रत्यक्ष असर शिक्षक नियुक्तिीदेखि पूर्वाधार विकाससम्म परेको छ । प्राचार्य पौड्यालले समिति गठन नहुँदा दुई जना रिक्त दरबन्दीमा शिक्षक ल्याउन नसकिएको र भौतिक सुधारका लागि आवश्यक रकम लिन अप्ठ्यारो भएको बताए ।

विद्यालयका निवर्तमान अध्यक्ष राम बहादुर कार्कीले आफ्नो म्याद सकिनै लाग्दा अभिभावक भेला बोलाउनका लागि आग्रह गरेको बताए । यता वडाध्यक्ष तेजप्रसाद सुनार भने सम्पर्कमा आउन सकेनन् । बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख मित्रमणी खनालले वडाध्यक्ष र उपमहानगरपालिकाको प्रतिनिधिविनाको भेलाले गरेको निर्णय मान्य नहुने बताए ।

‘वडाध्यक्ष बहिनी बिरामी भएर बिदा लिएर काठमाडौं जानुभएको छ । नगरप्रमुखले समेत सहमतिका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गर्नेपछि भेला स्थगनका लागि पत्र पठाएका हौँ,’ उनले भने ।

प्रतिक्रिया