दीर्घसेवी शिक्षक सम्मानित

काभ्रे । नेपाल शिक्षक संघ नमोबुद्धले ३० वर्षभन्दा बढी शिक्षण पेसामा संलग्न दीर्घसेवी शिक्षकलाई सम्मान गरेको छ ।

दोस्रो स्थानीय प्रतिनिधीसभाको अवसर पारेर नगर कार्यसमितिले पूर्णचन्द्र काफ्ले, सुदर्शन खनाल, रमेशप्रसाद खनाल, श्यामसुन्दर श्रेष्ठ, गोकर्ण हुमागाईं र विन्द्रनारायण श्रेष्ठलाई सम्मान गरेको हो । कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इंले दोसल्लासहित सम्मान प्रदान गरेका थिए । संघले शिक्षणको स्थायी सेवामा प्रवेश गरेका २७ शिक्षकलाई सम्मान पनि गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इंले स्थानीय तहअनुसार पाठ्यक्रम तयार हुन थाले पनि परीक्षा प्रणाली केन्द्रीय भएको भन्दै समानजस्यता नभएको तर्क गरे । संविधान मिचेर गठन भएको केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको भावनामाथि कुठाराघात गरेको बताए । संविधान, कार्यपालिका र न्यायलयमा समेत प्रहार गरेको भन्दै सबै क्षेत्रमा अपरिपक्व सावित कम्युनिस्टले देश चलाउन सम्भावना नरहेको तर्क गरे ।

कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्यले वर्तमान सरकार आएपछि भ्रष्टचारले महामारीको रूप लिएको तर्क गरेका छन् । कांग्रेस जिल्ला सचिव दिनेश लामाले वर्तमान सरकार नेतृत्वमा आएपछि प्राज्ञिक क्षेत्र निराश भएको तर्क राखे ।

प्रदेशसभा क्षेत्र नं १(ख) का सभापति रमेशप्रसाद हुमागाईंले अहिलेको सरकार विचार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नरहेको बताए । नेपाल शिक्षक महासंघ काभ्रेका अध्यक्ष आश्विनप्रसाद चौलागाईंले पेसाप्रति इमानदार हुँदाहुँदै पनि आस्थाका आधारमा दुःख दिए महासंघले प्रतिवाद गर्ने बताए । शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महतले संघीयतापछि शिक्षा क्षेत्र मारमा रहेको तर्क गरे ।

सचिव शम्भु घिमिरेले २४ फागुनमा जिल्ला प्रतिनिधिसभा हुने जानकारी दिँदै स्थानीय तहका सभा समयमा नै सम्पन्न गर्न सहयोग गरिदिने पार्टी नेतृत्वलाई अनुरोध गरे । नमोबुद्ध नगरपालिको शिक्षा शाखा प्रमुख जनार्दन रिजालले संघीयतापछि शिक्षा समूह घाँटीमा अड्केको हाडजस्तै भएको तर्क गरे ।

कांग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामाले शिक्षकलगायत सबै पक्ष लडेर लोकतन्त्र ल्याएको भन्दै स्थानीय तहसँग डराउनुनपर्ने तर्क गरे । नमोबुद्ध नगरपालिका अहिले गनाइरहेको तर्क गर्दै विधिले चल्नुपर्ने तर्क गरेका छन् ।

कार्यक्रममा कांग्रेस जिल्ला सदस्य दिनेश भुर्तेल, रोसी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला, नमोबुद्ध–६ का वडाध्यक्ष कुलप्रसाद न्यौपाने, जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन नमोबुद्धका अध्यक्ष लक्ष्मी अधिकारी, एकीकृत अखिल नेपाल शिक्षक संगठन नमोबुद्धका अध्यक्ष कुलचन्द्र खनाल, नेपाल तरुण दल नमोबुद्धका सचिव राजीव खनाल, सम्मानित मध्येबाट पूर्णचन्द्र काफ्ले, स्यामसुन्दर श्रेष्ठलगायतले शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितिका अध्यक्ष दिनेशप्रसाद अधिकारीले आस्थाका आधारमा शिक्षकमाथि थिचोमिचो भए शिक्षक संघ अन्यायका विरुद्ध लड्ने प्रतिवद्धता जनाए । सभाले अध्यक्ष दिनेश अधिकारी, सचिव रमेशप्रसाद न्यौपाने, सचिव (अर्थ) विजय खनालले पेस गरेको प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । नेपाल शिक्षक संघ नमोबुद्ध गतवर्ष प्रदेश–३ भरमा नै उत्कृष्ट भई प्रदेशको प्रतिनिधिसभाका अवसरमा सम्मानित भएको थियो ।

प्रतिक्रिया