मातृभाषा महोत्सव सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव–२०७६’ सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित उक्त महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालमा बोलिने सबै मातृभाषाहरू नेपालको सम्पत्ति भएको बताए

। उनले नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने विचार व्यक्त गरे । उनले भने, ‘समानता र सद्भावलाई हामीले व्यवहारमा लागू गर्नुपर्दछ । आजको राष्ट्रिय मातृभाषा कविता महोत्सव समारोहले यही कुरालाई आत्मसात् गरेको छ, यही कुराको सन्देश दिएको छ ।’

कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल इन्द्रेणी भाषा र संस्कृतिले सुसज्जित भएको बताउँदै देशको देशको बहुलतालाई सम्बोधन गर्नेतर्फ पनि मातृभाषा कविता महोत्सवले अहम् भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले संसारमै विविध भाषा र संस्कृतिले नेपाल सम्पन्न देशका रूपमा रहेको उल्लेख गरे । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपालमा बोलिने सबै मातृभाषाहरूको संरक्षण र संवद्र्धनका लागि राज्यले विशेष ध्यान दिएको उल्लेख गर्दै राष्ट्रिय मातृभाषा कविता महोत्सव त्यसैको कडी भएको धारणा राखे ।

नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सले अन्तर्राष्ट्रिय मातृभाषा दिवस बंगाली भाषाका निम्ति सन् १९५२ मा भएको भाषिक आन्दोलनमा सहादत प्राप्त गर्ने बंगलादेशका सम्पूर्ण भाषिक सहिदहरूको सहादतको उपलब्धि भएको बताए । उनले भाषा नै देश र जातिको पहिचान भएको भन्दै भाषाको कुनै सिमाना नहुने भएकाले यसले देश, संस्कृति र मानवीय सम्बन्धलाई जोड्ने विचार व्यक्त गरे ।

बंगलादेशकै प्रस्तावमा युनेस्कोले सन् १९९९ नोभेम्बर १७ मा फ्रेबअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघले समेत सन् २००० मा उक्त दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा रूपमा मनाउन आह्वान गरेपछि विश्वभर २१ फ्रेबअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा रूपमा मनाउन थालिएको हो । युनेस्कोले यस वर्ष ‘सीमारहित भाषाहरू’ अर्थात् ‘भाषाहरूको कुनै सीमा हुँदैन’ भन्ने थिम तय गरेको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले विगत नौ वर्षदेखि प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा र मातृभाषा साहित्यको उत्थानका निम्ति मातृभाषा कविता महोत्सवको आयोजना गर्दैआएको बताए । उनले मातृभाषाको विकासले मात्रै राष्ट्र समद्ध बन्ने जिकिर गरे ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा) प्रमुख एवं कविता महोत्सवकी संयोजक प्राज्ञ लक्ष्मी मालीले यसपालि कविता महोत्सवमा ५३ भाषाका १ सय ५६ कविता प्राप्त भएकामा कविता छनोट समितिले ती कविताबाट ६४ ओटा कविता वाचनका लागि छनोट गरेको जानारी दिइन् ।

प्रज्ञा–प्रतिष्ठान मातृभाषा विभागका प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादवले मातृभाषा र मातृभाषा साहित्यको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा युनेस्को काठमाडौं कार्यालयकी प्रतिनिधि शामीन अहमदले युनेस्कोका डाइरेक्टर जनरल अड्री अजौलेले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

आफ्नो वाम्बुले राई मातृभाषामा कविता वाचन गरेर राष्ट्रगानका रचनाकार व्याकुल माइलाले आरम्भ गरेको कविता महोत्सवको कविता वाचन सत्रमा विभिन्न ५३ भाषाका ६४ मातृभाषी कविहरूले कविता वाचन गरेका थिए । महोत्सवमा अतिथि कविका रूपमा भारतको असमबाट आएकी असमिया भाषी कवि रूमी लस्कर बोराले असमिया भाषाको कविता वाचन गरे ।

समारोह सुरु हुनुअघि विभिन्न समुदायका १७ ओटा सांस्कृतिक झाँकीसहितको शोभायात्राले नगरपरिक्रमा गरेको थियो । झाँकी प्रज्ञा परिसर, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै पुनः प्रज्ञा भवन आइ समारोहमा सामेल भएको थियो । उद्घाटन समारोहमा ती सबै सांस्कृतिक झाँकीहरूको आकर्षक प्रदर्शनी गरिएको थियो । झाँकी टोली र कविता वाचनमा सहभागी कविलाई सदस्य सचिव प्रा. उपाध्यायले प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशी लुमुम्बू र कविता महोत्सव तयारी उपसमितिका सहसंयोजक पदम राईले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया