छन्द कवितामा नियमको परिधि हुन्छ

साहित्यकार कृष्णप्रसाद पोखरेलको केही समयअघि ‘कालो नैवेद्य’ कविता संग्रह प्रकाशनमा आएको छ । इच्छाकामना–३, चितवनका स्रष्टा पोखरेलले कविता, निबन्ध, नाटक, स्मरण, समीक्षा, लघुकथा लगायतका विधामा कलम चलाउँदै आउनुभएको छ । पाँच दशकदेखि साहित्यकर्ममा लाग्नुभएका स्रष्टा पोखरेलसँग सौर्य दैनिकले गरेको कुराकानीः

० आफ्नो लेखन यात्राको पृष्ठभूमि संक्षिप्त रूपमा बताइदिनुहोस् ।
‘मैले लेख्न सिकेँ पितासँग बसी, चिल्ला धुलौटा खरी ।
कट्टुस्का मसि बाँसका कलमले, लेख्थेँ म पातै भरी ।।’
मेरो साहित्य सिर्जनायात्रा पढाइकै क्रममा सानै उमेरदेखि नै सुरूभएको हो । मेरो लेखन अभ्यास अभाव र कठिनाइका बाबजुद् सुरू भएको थियो । अहिलेजस्तो त्यसबखत कपि, पेन्सिल प्राप्त गर्न सहज थिएन । सर्वप्रथम मैले पिताबाट धुलौटो (काठको पिर्कामा धुलो माटो राखेर बनाइएको पिर्का) मा लेख्न सुरू गरेँ । मलाई गणितीय समस्याहरू हल गर्न पनि धुलौटो पाटीले नै अभ्यस्त गरायो । ज्योतिषशास्त्रमा ठूला–ठूला संख्याका हिसाबहरू हुन्थे । कहिलेकाही हिसाब गर्दै जाँदा हावाले लथालिङ्ग पारिदिन्थ्यो । यसपछि आमाले कटुसको पात पकाएर बनाएको कालो मसीलाई पिताजीले मसिदानीमा सानो कपडाको टुक्रासहित राखेर बाँसको कलमलाई छड्के काटी कलमको निबजस्तो बनाएर लेख्न लगाउनुहुन्थ्यो ।

आगोले ओइलाएको केराको पातमा लेख्दा डिका मिलेको हुँदा लेख्न सहज पनि हुन्थ्यो । पिताजीले त्यसको व्यवस्था मिलाउनुहुन्थ्यो । यसरी लेख्न पाउँदा ठूलै प्रगति भएजस्तो रमाइलो महशुस हुन्थ्यो । म सात वर्षको हुँदा पिताजी उपचारका लागि आँपपिपल जानुहुँदा ल्याइदिनुभएको कापी पेन्सिल नै मेरो पढाइमा खर्च भएको पहिलो क्रय सामग्री थियो । त्यसबखत नयाँ कापीमा कसरी लेख्न सुरू गर्ने भन्ने सोचमा एक दिन त्यत्तिकै बितेको थियो ।

साहित्य लेखनतर्फ स्मरण गर्नुपर्दा, मेरो घरको कवितामय वातावरणको प्रभावले होला सानै उमेरदेखि नै मलाई छन्द कविता वाचन गर्न आउथ्यो । लेखन अभ्यास चाहिँ कक्षा ८ मा पढेका बखत सुरू गरेको हुँ । छन्द कवितातर्फ आकर्षण भएको हुँदा व्याकरणका नियममा कतै कतै कमी भए पनि मैले बाणिक छन्दअन्तर्गत धेरै कविता लेखिसकेको थिएँ ।

० छन्दमा मात्र कलम चलाउनुहुन्छ, किन ?
पद्य कविता मात्र हैन मलाई गद्य कविता पनि उत्तिकै मनपर्छ । सिर्जना भनेको अभिव्यक्ति कला हो । यसलाई जुन माध्यमबाट पनि आफ्ना मनका भावनाहरू अभिव्यक्त गर्न सकिन्छ । मुकभाषीहरूले पनि हाउभाउमार्फत आफ्ना भावनाहरू अभिव्यक्त गरिरहेका हुन्छन् । त्यो पनि एउटा कला हो ।

साहित्य सिर्जनामा कलम चलाउँदा कविता विधामा र त्यसमा पनि छन्द कवितामा बढी कलम चलाएको छु । तर छन्द कवितामा मात्र भने होइन । मैले भनिसकेँ मलाई छन्द कविताले नै पहिलो प्रभाव पा¥यो । मैले छन्दको नियम नजान्दै कविता रचना गर्न थालिसकेको थिएँ । छन्द कवितामा नियमको परिधि हुन्छ । सो उल्लंघन हुँदा कविता भए पनि कविताजस्तो बन्दैन । कविता रचना गर्दा व्याकरण र छन्दको तारतम्य मिल्नुपर्छ । यो पढेर मात्र जानिदैंन मुख्यतः अभ्यास नै चाहिन्छ । यसैमा लगाव बसिसकेपछि सहज पनि लाग्न थाल्छ । छन्द कविता मैले पढेरभन्दा पनि अभ्यासबाटै सिकेको हुँ ।

० गद्य कवितामा शक्ति छ भन्छन् तपाईंचाहिँ गद्यकविता किन लेख्नुहुन्न ?
सिर्जनामा शक्ति हुन्छ चाहे त्यो गद्य होस् वा पद्य । सयौँको मनोभावनामा जीवन्त रहन कविता सक्षम हुन्छ । अन्यायविरूद्धको आन्दोलनमा पनि कविता उत्तिकै शक्तिशाली बन्दछ । ०६२÷०६३ को जनान्दोलनमा अर्जुन पराजुलीको कविता उदाहरणीय छन् । आन्दोलन र युद्धमा मात्र कविताको शक्ति रहँदैन भाषिक एकता र सामाजिक सत्भावमा पनि यो उत्तिकै सबल र सफल रहेको छ । सकारात्मक सोच लिएर अन्तरभावनाबाट समीक्षा गरियो भने जुनसुकै ग्रन्थमा पनि शक्ति भेटिन्छ । तर त्यसको प्रभाव सबैैमा नपर्न सक्छ ।

मैले गद्य कविता नलेखेको हैन र अब नलेख्ने प्रतिज्ञा पनि गरेको छैन । छन्द कविताको तुलनामा भने कम नै लेख्ने गरेको छु । मनमा उद्भवित भावलाई जुन लयमा ढाल्दा विषय समेट्न सहज हुन्छ त्यही लयमा कविता लेख्छु । प्रश्नको आसयसँग सहमत जनाउँदा मेरा सिर्जनाहरू बहुसंख्यक पद्य कवितामा नै लेखिएका छन् ।

० आफ्नो लेखनसँग सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टि सुख हो र सुख भन्नु जीवन काट्ने सहज निष्क्रिय अनुभुति हो । मेरो विचारमा इच्छा विकास हो र सन्तुष्टि यथास्थिति हो । त्यसैले
‘इच्छाको प्यास मेटिन्न यै हो विकासको गति
सन्तुष्टि सुख मात्रै हो यसले गर्दैन उन्नति ।।’

मैले कविता बुझ्न प्रयत्न गर्दागर्दै यसको पछि लागेको पनि ५० वर्ष भइसकेछ तर आफुलाई सधै कमी भएको महसुस हुन्छ । तसर्थ यसैको साधनामा लागिरहेको छु । भन्नु पर्दा आकर्षित छु तर कहिल्यै सन्तुष्ट हुन सकिन । जति लेखे पनि धोको नपुग्ने, जति पढे, सुने पनि धित नमर्ने कवितामा म डुबेको छु ।

० कतिवेला कविता लेख्नुहुन्छ ?
कविता रचनाका लागि समय छुट्याइएको हुँदैन । हाम्रो मनमा असंख्य भावहरू तरंगित भएर बगिरहेका हुन्छन् । त्योमध्ये आफूलाई मन छुने भाव टिप्न भ्याइयो भने त्यसबाट सुन्दर सिर्जना बन्न सक्दछ । राती ओछ्यानमा सुत्दा, काम गरिरहँदा, खाना खाँदै गर्दा, हिँड्दा, बाथरूममा रहेको बखत र सपनामा पनि नयाँ भाव फुर्न सक्दछन् । त्यो अवसरलाई टिप्न नभ्याएर कति भावनाहरू निष्क्रिय भएर जान्छन् । पछि सम्झन प्रयास गर्दा पनि हराउँछन् । त्यसैले म अचेल हरसमय कापी कलम साथमा राख्ने गरेको छु ।

फेसबुकमा साथीहरूको कवितामय स्टाटस पढेर कमेन्ट लेख्दा आकस्मिक कविता लेखिन्छ । अपर्झट लेखिएका कविताहरू फुर्सदमा सुधार गर्नुपर्ने हुन्छ । लय मात्र कविता हैन पाठकको मन छुने भावहरू यसमा हुन जरूरी छ । त्यसैले म सर्वप्रथम कवि आफैं पाठक बन्नुपर्छ भन्छु । कविले वेला वा समयलाई पर्खेर हैन समयसँग बगेर समयापेक्ष कविता रचना गर्नुपर्दछ ।

० लेखेर के पाउनुभयो ?
लेखेर केही पाइन्छ कि भन्ने मनमा आसा राखिएन र आजसम्म विशेष केही पाइएको पनि छैन । लेख्नु आफ्ना असन्तुष्टि मेट्न गरिने प्रयास मात्र हो । सिर्जनाको कमाइले ज्यान पाल्नेहरू कमै होलान् तर सिर्जनामा समय अर्थ र दुःख खर्चनेहरू धेरै छन् । त्यसभित्र आफूलाई विचलित नभै उभ्याउन सक्नु र पाउनु पनि खुसीको कुरा हो । यो यात्रामा सुस्तसुस्त पाइला चाल्दैछु । सिर्जनाका कारण दुःख पाए पनि म दुखित बनेको छैन ।

‘जति पढ्यो उति पढूँ पढूँ जस्तो लाग्छ ।
छन्द लय भित्र बगूँ बगूँ जस्तो लाग्छ ।।
पढ्दापढ्दै सुन्दासुन्दै कलम चल्न थाले ।
दिनु दुःख दियो मलाई मेरै सिर्जनाले ।।
केही पाउन केही गुमाउनुपर्छ भन्छन् । त्यसैको आशाले समयलाई पछ्याइरहेको छु ।

० इच्छाकामना साहित्य प्रवाहको अध्यक्ष हुनुहुन्छ के–के कार्यक्रम गर्दै हुनुहुन्छ ?
‘इच्छाकामना साहित्य प्रवाह’ एउटा विशुद्ध साहित्यिक संस्था हो । धेरै वर्ष अगाडिदेखि सञ्चालन भए पनि यसै वर्षमा यस संस्थाले स्वीकृत प्राप्त गरेको छ । छायाँका प्रतिभालाई उजागर गर्नु नै यस संस्थाको उद्देश्य हो । यसले बालदेखि वृद्धसम्मका प्रतिभालाई प्रोत्साहन गर्दै आएको छ । यस भेकका साहित्यानुरागीको पहलमा वर्षमा ३÷४ पटक प्रसिद्ध साहित्यकारको जन्मजयन्तीका अवसर पारेर स्थानीयस्तरमा प्रतियोगितात्मक रचना वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम राखेर मनाइँदै आएकोमा सबको साथ सहयोग प्राप्त भए निकट भविष्यमा राष्ट्रियस्तरको कार्यक्रम गर्ने सोच हाम्रो संस्थाले राखेको छ ।

० स्थानीय सरकारसँगको सहकार्य कस्तो छ ?
साहित्य, कला, संस्कृतिको प्रवद्र्धन, प्रोत्साहन तथा संरक्षण गर्नु स्थानीय सरकारको उत्तरदायत्व हो । यो गैरनाफामुखी सेवामूलक संस्था भएको हुँदा यो सञ्चालनमा आर्थिक अभावका कारण धेरै कठिनाइहरू आइपर्दछन् । यसप्रति स्थानीय सरकारको चासो र चिन्ता हुन जरुरी छ ।

इच्छाकामना साहित्य प्रवाहमार्फत स्थानीय संस्कृतिको संरक्षण गर्दै छायाकाँ प्रतिभाको खोजी गर्ने कार्यमा स्थानीय सरकारलाई सहयोग गरिरहेको छ । तर यस विषयमा स्थानीय सरकार निष्क्रिय छ । आफ्नो गाउँ ठाउँमा स्वस्फूर्त रूपमा स्थापना भएको साहित्यिक संस्थाप्रति स्थानीय सरकारबाट सकारात्मक सोच राखी सहकार्य गर्दै अघि बढ्न साहित्यिक संस्था सदा प्रयत्नशील रहिआएको छ ।

० स्थानीय संस्कृतिलाई बचाउन के–के गर्नुपर्ला ?
यो बडो महत्वपूर्ण प्रश्न राख्नुभयो । स्थानीय पहिचान बोकेको परम्परागत चाडपर्व, रितिरिवाज, संस्कृतिको सरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।

हाम्रो गाउँ ठाउँ परिवेशमा पाश्चात्य संस्कृतिको प्रवेश भइरहेको छ । जसले हाम्रो परम्परादेखि चल्दैआएको संस्कृतिमाथि प्रभाव पारेको छ । क्षेत्रगत वा जातिगत, धार्मिक वा सामाजिक, परम्परालाई उत्सवका रूपमा मनाउँदै आएको हाम्रा धेरै मनोरञ्जनात्मक स्थानीय संस्कृतिहरू लोप हुँदैछन् ।

चुड्का, भजन, घाटु, मारूनी, लाखे, झ्याउरे आदि हाम्रा स्थानीय धर्म र सस्कृतिका पहिचान बोकेका परम्परादेखि चल्दै आएको कला संस्कृतिको स्थानीय सरकारबाट संरक्षण हुनुपर्दछ । यसका लागि परम्परादेखि चल्दै आएको निश्चित वा अनुकूल समयको पहिचान गरी वर्षमा एक पटक भए पनि मेला वा उत्सवको आयोजना भए लोप हुने अवस्थाबाट यसको संरक्षण हुनेथियो ।

० कालो नैवेद्य कविता संग्रहबारे आफ्नो मूल्यांकन के कस्तो छ ?
कालो नैवेद्य कविता संग्रह कविता विधा अन्तर्गत प्रकाशित मेरो पहिलो सिर्जना हो । फुटकररूपमा प्रकाशित भइसकेका कविताहरूको एककृत अनुहार मात्र हो यो संग्रह । यसमा मेरा शुभचिन्तकको सहयोग भिजेको छ । मेरा करिब ३०० कवितामध्येबाट ८२ कविता मात्र यसमा संग्रहित गरिएका छन । मीठो नमीठो जे जस्तो भए पनि पाठकसमक्ष सुम्पेको छु ।

कृतिकाबारे सो मूल्यांकन गर्नुपर्दा अझै अपूर्ण भएजस्तो लाग्छ । समय बिते पछाडि देखिने दृष्टिदोष होला सायद जो प्रकाशन पछाडि देखिँदोरहेछ । यसलाई स्वभाविक ढंगले लिएको छु । यसका लागि विज्ञ पाठकको सुझाव सल्लाह पाउने अपेक्षा लिएको छु । जसबाट मेरो आगामी प्रकाशन राम्रो बन्न सकोस् ।

० कृतिमाथि पुस्तक समालोचना र समीक्षाले कस्तो दिशानिर्देश गरेको महसुस गर्नुभएको छ ?
कविता संग्रह प्रकाशन भएपछि यस कृतिकाबारे पत्रपत्रिका, तथा फेसबुक वालमार्फत विभिन्न प्रतिक्रिया आइरहेका छन् । धेरै साथीले यसमा भएका कविताहरू आफ्ना मीठो स्वरमा वाचन गरेर मलाई भिडियो पनि पठाउनुभएको छ । मलाई यसले अझ कविता लेखनमा उत्साह थपेको छ ।

सम्पूर्ण पाठकवर्गमा मैले झुटो प्रशंसाको आशा गरेको छैन । गल्ती आँैल्याएर सुधारको लागि सकारात्मक सुझाबको अपेक्षा गरेको छु । कविता सबैलाई उत्तिकै स्वाद नलाग्न सक्छ । एउटालाई मीठो लागे पनि अर्कोलाई तितो लाग्न सक्छ । तर मैले आजसम्म कसैबाट पनि तितो प्रतिक्रिया प्राप्त गरेको छैन ।

‘लेख्छु केही कुरा सबै मन छुने होला कि भन्दै मिठो ।
यौटा मान्छ मिठो उहीछ रचना भन्दै छ अर्को तितो ।।
भिन्दै स्वाद लिदैछ कानहरूले सोचेर उस्तै कुरा ।
ताली पिट्दछ एक पक्ष र उता काट्दै छ उस्कै कुरा ।।’

० शिक्षण पेसा, लेखन र आफ्नो जीवनयात्राबीच रहेको तादात्म्य वा संयोगबारे केही भनिदिनुहोस् न ?
यो बडो महत्वपूर्ण प्रश्न हो । पेशा र लेखन जीवनयात्राको फरक पक्ष हो । आजको समयमा लेखन पेसा र पेसा लेखन बन्न सकेको छैन ।

आमाको गर्भमा रहेदेखि नै उमेरको गणना हुन्छ । जीवित रहँदासम्म जीवन रहन्छ । जीवनयात्राको निरन्तर भोगाई अन्तर्गत फरक–फरक अनुभूति मिल्दछ । जागिर जीवनलाई सहज बनाउन अप्नाइने पेसा र लेखन मनोभाव पोख्ने सौन्दर्य साधन हो । मेरा लागि शिक्षण पेसा जीवन सञ्चालनको औजार र लेखन मनोभावना पोख्ने कला भएको हुँदा आपसी सम्बन्धबाट नै जीवन चलिरहेको अनुभूत हुन्छ ।

‘उकालो अप्ठ्यारो विकट पथको साधक कवि ।
घृणा, इष्र्या छल्दै समय रथ हाक्ने पनि कवि ।।
उज्यालो आसाको सबतिर प्रभा छर्दछ छवि ।
सबै विद्यार्थीको सरल कविता शिक्षक कवि ।।

शिक्षण पेशामा रहँदा तोकिएको निश्चित समय हुन्थ्यो भने लेखनमा लहडको अनुकूलताभित्र स्वतन्त्र रहन्थ्यो । शिक्षण पेसाबाट निवृत्त भएपछि लेखनलाई अलिबढी समय दिन सकेको जस्तो लाग्छ । असहजतालाई चिर्दै जीवन यसरी नै चलिरहेको छ ।

प्रतिक्रिया