आठराई शून्य गर्भपतन पालिका घोषणा

पाँचथर । पाँचथर, तेह्रथम, आठराई गाउँपालिकाले बिहीबार शून्य असुरक्षित गर्भपतन पालिका घोषणा गरेको छ ।

पालिकाले शून्य गर्भपतन रहेको प्रतिबद्धता सभाको आयोजना गरेको हो । पालिकाले ‘महिलाको सुस्वास्थ्य तेह्रथुमवासीको शान, शून्य असुरक्षित गर्भपतन हाम्रो अभिमान’ मूल नारा सहितको प्रतिबद्धता सभा सम्पन्न गरेको छ ।

पालिका अध्यक्ष मानबहादुर लिम्बुको प्रमुख आतिथ्यमा भएको सभामा सबै वडावासीको उपस्थिति रहेको थियो । पालिकाका उपाध्यक्ष तथा शून्य असुरक्षित पालिका समितिका संयोजक रुपादेवी कन्दङवाको अध्यक्षतामा विभिन्न वक्ताहरूले बोलेका थिए ।

विशेषअतिथि प्रमुख प्रशासकीय अधिकृत श्याम दाहाल, कार्यपालिका सदस्य, स्थानीय पार्टी प्रतिनिधि, इलाका कार्यालय प्रमुख, एचएफ डब्लुएलबीका अधिवक्ता नविन श्रेष्ठ, फेकोफनका अध्यक्ष गणेश सेनेहाङ, नेका प्रतिनिधि भोला काफ्ले, नेकपा प्रदेश सदस्य चुडामणि बराल, सुरक्षा निकायका सबै प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा पलिकाका नौ वटै वडाका माध्यमिक विद्यालय तथा १ सय ३ जना स्वयंसेविकाहरूलाई प्रशंसापत्रसमेत वितरण गरिएको नायव सुब्बा सरस्वती सिवाकोटीले जनाएकी छन् । सभामा संगिनी नाच, गरुङको कौडा, डम्फु विभिन्न नाचहरू प्रस्तुत गरिएको थियो ।

शून्य असुरक्षित गर्भपतन सन २०१८ देखि अभियान सञ्चालन गरिएको जनाइएको छ । अभियानलाई आइपास भन्ने संस्थाले आर्थिक सहयोग गरेको जनाइएको छ । आगामी अन्तर्राष्ट्रिय नारी दिवसका दिन तेह्रथुम जिल्लालाई विश्वको पहिलो शून्य असुरक्षित गर्भपतन जिल्ला घोषणा गरिने भएको जनाइएको छ ।

प्रतिक्रिया