स्वास्थ्य इकाइ बन्दः बिरामी मर्कामा

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–१ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ ६ महिनादेखि बन्द रहेको छ ।

साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसी भैलो खेलेर जम्मा गरेको एक लाखले जग्गा खरिद गरी भवन बनाएका थिए । ०७२ सालमा एकाइ सञ्चालनमा आएको थियो ।

स्थानीय प्रबलेले बोहराले कुम्लिक ज्युला ताक्ला, बाम्टा, बैजिबाडा, दोजाम, कुम्लिक, ठेहे गाउँका करिब नौ सय स्थानीयको पायकपर्ने ठाउँमा स्वास्थ्य एकाइ खोलिएको र अहिले उपचार गर्न नपाउँदा जिल्ला अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको बताए ।

एकाइमा एक जना अहेब, एक जना अनमी र कार्यालय सहयोगी गरी तीन जनाको दरबन्दी रहेको छ । गाउँमा रुघाखोकीका बिरामीको संख्या बढिरहेको छ । स्वास्थ्यकर्मी नहुँदा विरामी समस्यामा परेका छन् ।

एकाइमा दैनिक १० र १२ सम्म बिरामी उपचारमा जाने गर्दथे । स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही निराश भएर घर फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–५ ताक्ला गाउँका गोरख भण्डारीले बताए । घाँटी, टाउको दुख्ने र ज्वरो आएको एक हप्ता भइसक्यो स्वास्थ्य एकाइमा जाँदा ताला लगाएको देख्दा रित्तो हात लिएर घर फर्कनुपरेको बिरामी जोरसिंह बोहराले गुनासो गरे ।

हरेक दिन बिरामीको संख्या बढ्नु तर स्वास्थ्य संस्था बन्द हुनु अन्याय भएको स्थानीयको आरोप रहेको छ । हाल सिमकोट गाउँपालिका–१ र २ मा बिरामीको संख्या ८३ पुगेको भएता पनि स्थानीय तहले यसतर्फ कुनै चासो नदिएको स्थानीयको रहेको छ ।

एक दिन दुई दिन मात्र नभएर ६ महिनादेखि हामीले औषधि पाएका छैनौँ, सानो बिरामी परिएमा पाँच घण्टा पैदल हिँडेर सिमकोट पुग्नुपर्ने बाध्यता रहेको छ । सेवा सुविधाका लागि नजिक रहेको स्वास्थ्य संस्थाको भर पनि लाग्न छोडेको स्थानीयको भनाइ छ ।

एकाइमा कार्यरत स्वास्थ्यकर्मीले गत भदौदेखि तलब खान नपाएपछि स्वास्थ्य एकाइ बन्द भएको प्रमुख धनजित भण्डारीले जानकारी दिए । उनका अनुसार सिमकोट गाउँपालिकाले स्वास्थ्यकर्मीलाई नै तलब खुवाउने गरेको थियो ।

सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले स्वास्थ्य सेवा विभागबाट रकम नआएकाले गाउँपालिकाले तलब खुवाउन सक्ने अवस्था नरहेको जानकारी दिए ।

प्रतिक्रिया