अर्थबजार

विषादी जाँच्ने प्रयोगशाला नहुँदा व्यापारीलाई सकस

वीरेन्द्र कर्ण २०७६ फागुन ५ गते १८:३९ मा प्रकाशित

वीरगञ्ज । रसायनमा आधारित कृषि प्रणालीले अनगिन्ती समस्या थोपरेको छ । यसले मानिस, माटो र पर्यावरणमा विष फैलाउँदै छ । औद्योगिक विकासको जगमा टिकेको आधुनिक कृषिमा अहिले देखिएका माटो, पर्यावरण र मानव स्वास्थ्यका विकराल समस्याको मुख्य जग नै विषादी हो । छिमेकी मुलुक भारतसँग जोडिएका मुख्य व्यापारिक केन्द्र वीरगञ्जमा फलफूल तथा तरकारीमा रहेको विषादी जाँच्ने प्रयोगशाला नहुँदा यहाँका व्यापारी समस्यामा परेका छन् । यहाँ तीन वटा भन्सार कार्यालय भए पनि भारतबाट आउने फलफूल तथा तरकारीमा रहेको विषादी जाँच्ने प्रयोगशाला नहुँदा व्यापारीले करीब ७५ किलोमिटर बाटो छिचोली सर्लाहीको नवलपुर गएर विषादी जाँच्नुपर्ने बाध्यता रहेको छ ।

विदेशबाट आयात हुने कृषिजन्य खाद्य वस्तुको जाँच विश्लेषन तथा गुणस्तर, विषादी जाँच्न, नियन्त्रण गर्न, प्रमाणीकरण गर्न आवश्यक भए पनि वीरगञ्ज भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय तथा एकीकृत सुरक्षा जाँच (आइसिपी) भए पनि विषादी जाँच्ने प्रयोगशाला नहुँदा फलफूल तथा तरकारी व्यापारीले लामो दूरी तय गरी नवलपुर जानुपर्ने बाध्यता रहेको व्यापारीको गुनासो छ । प्राय जसो दिनहुँ रिक्सा, टाँगा तथा गाडीमा आउने फलफूल तथा तरकारीमा रहेको विषादी जाँचै नगरी नेपाल भित्रिँदा उपभोक्ताहरू विषादीयुक्त फलफूल तथा तरकारी प्रयोग गर्न बाध्य भइरहेका छन् । वीरगञ्जस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयका कर्मचारीको मिलेमतोमा विषादीयुक्त फलफूल तथा तरकारी भित्रिने गरेको व्यापारीको गुनासो छ ।

विषादी जाँच गर्ने प्रयोगशाला नहुँदा यहाँका व्यापारीले विषादी जाँच्न नवलपुरस्थित विषादी अवशेषको विश्लेषण प्रयोगशाला इकाइ कार्यालय नवलपुर जानुपर्ने बाध्यताका कारण धेरै समय लाग्ने गरेको, फलफूल बिग्रने गरेको तथा नवलपुरमा पनि अतिरिक्त रकम दिनुपर्ने बाध्यता रहेको फलफूल व्यापारी परमेश्वर कुशवाहाको गुनासो छ । वीरगञ्ज भन्सार नाकाबाट दैनिक सरदर एक करोड ५० लाख मूल्य बराबरका फलफूल तथा ५० देखि ६० लाख मूल्य बराबरका तरकारी आउने गरेका छन् । विषादी जाँच्ने उपकरण नहुँदा दुई दिनसम्म गाडी भन्सारमै थन्किने भएकाले कच्चा सामानका रूपमा रहेको फलफूल तथा तरकारी बिग्रिने गरेको नेपाल कृषि तथा फलफूल व्यवसायी संघ पर्साका सचिव रमेश चौहानको गुनासो छ ।

सीमावर्ती रक्सौलबाट आउने भारतीय व्यापारीसँगको मिलेमतोमा प्लान्ट क्वारेन्टाइनका कर्मचारीले विषादी जाँच नै नगरी छोड्ने गरेको तर नेपाली व्यापारीलाई विषादी तथा गुणस्तर चेकजाँचका नाममा नवलपुरसम्म पठाएर हैरान गर्ने गरेको गुनासो तरकारी तथा फलफूल व्यापारीहरूको छ । प्लान्ट क्वारेन्टाइनले फलफूलमा रहेको किरा, फट्याङ्ग्रा रोग वस्तु हेर्ने अधिकार मात्र भए पनि अधिकारभन्दा बाहिर गएर चामल, छोकडासमेत जाँच गर्ने गरेको गुनासो गर्दै खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय वीरगञ्जका प्रमुख हस्तबहादुर राईले भने, ‘खाद्य ऐन २०२३ विपरीत सो कार्यालयले अनियमित तरिकाले खाने वस्तु, खाद्यपदार्थ, प्रशोधित, अप्रशोधित तथा अर्धप्रशोधित लगायतका खाद्य वस्तुहरू जाँच गर्ने गरेको छ ।’

भारत तथा अन्य देशहरूसँग बढ्दो व्यापारलाई ध्यानमा राखी सङ्घीय सरकारले आयात हुने खाद्य वस्तुको गुणस्तर जाँच्न खाद्य ऐन २०२३ ले परिभाषित गरे पनि प्रयोगशालाको अभावले फलफूल तथा तरकारी व्यापारीले ल्याउने ताजा तथा हरियो तरकारीको विषादी जाँच्न नवलपुरसम्म जानुपर्ने बाध्यताका कारण दुई दिनसम्म भन्सारमा तरकारी तथा फलफूल थन्किने भएकाले सड्ने–गल्ने हुँदा व्यापारीहरू आर्थिक मारमा परेकाले वीरगञ्जमै प्रयोगशाला हुनुपर्ने माग व्यापारीको छ ।

वीरगञ्जमा प्रयोगशाला नहुँदा सीमामा रहेका प्लान्ट क्वारेन्टाइन कार्यालयले फलफूलमा कार्बाइड भन्ने रसायनको धुलो लागेको भए पनि रकम लिएर त्यसलाई स्वच्छताको प्रमाण दिएर छाड्ने गरेकाले उपभोक्ता खेतदेखि पेटसम्म विषादीयुक्त फलफूल तथा तरकारी खान बाध्य रहेका छन् । त्यसैले यहाँका फलफूल व्यापारीले वीरगञ्जमा प्रयोगशाला राख्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया