तलव नपाएपछि कुम्लिङ स्वास्थ्य एकाइ बन्दः रुघाखोकीका बिरामी मर्कामा

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका– १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ ६ महिनादेखि बन्द रहेको छ । साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको रु एक लाखले जग्गा खरिद गरी भवन बनाएका थिए । २०७२ सालमा सो एकाइ सञ्चालनमा आएको थियो ।

स्थानीय पर्वल बोहराले कुम्लिक ज्युला ताक्ला, बाम्टा, बैजिबाडा, दोजाम, कुम्लिक, ठेहे गाउँका करिव ९०० स्थानीयको पाएक पर्ने ठाउँमा स्वास्थ्य एकाइ खोलिएको र अहिले उपचार गर्न नपाउँदा जिल्ला अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको बताए । एकाइमा एक–एक जना अहेव, अनमी र कार्यालय सहयोगी गरी तीनको दरबन्दी रहेको छ । गाउँमा रुघाखोकीका बिरामीको संख्या बढिरहेको छ ।

स्वास्थ्यकर्मी नहुँदा समस्यामा परेका छन् । एकाइमा दैनिक १०–१२ सम्म बिरामी उपचारमा जाने गर्दथे । स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही निराश भएर घर फर्कनु परेको खार्पुनाथ गाउँपालिका–५ ताक्ला गाउँका गोरख भण्डारीले बताए । घाँटी, टाउको दुख्ने र ज्वरो आएको एक हप्ता भइसक्यो स्वास्थ्य एकाइमा जाँदा ताला लगाएको देख्दा रित्तो हात लिएर घर फर्कनुपरेको बिरामी जोरसिंह बोहराको गुनासो गरे ।

६ महिनादेखि तलब नपाएपछि एकाइ बन्द एकाइमा कार्यरत स्वास्थ्यकर्मीले गत भदौदेखि तलब खान नपाएपछि स्वास्थ्य एकाइ बन्द भएको प्रमुख धनजित भण्डारीले जानकारी दिए । उनका अनुसार सिमकोट गाउँपालिकाले स्वास्थ्यकर्मीलाई नै तलब खुवाउने गरेको थियो । सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले स्वास्थ्य सेवाविभागबाट रकम नआएकाले गाउँपालिकाले तलब खुवाउन सक्ने अवस्था नरहेको जानकारी दिए ।

प्रतिक्रिया