बहुपति प्रथाः सहायक श्रीमान् प्रदर्शन

काठमाडौं । नेपालका केही हिमाली क्षेत्रमा अझै पनि बहुपति प्रथा कायमै छ । कर्णाली प्रदेशको हुम्लामा यो प्रथालाई सामान्यरूपमा लिने गरिन्छ । कतिलाई भने यो सुन्दै अनौठो लाग्ने गर्छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा जारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा छनोट भएको सहायक श्रीमान् डकुमेन्ट्री आइतबार पर्यटन बोर्डमा प्रदर्शन गरिएको थियो । उक्त डकुमेन्ट्रीअनुसार परिवारको जेठो छोराले विवाह गरी भित्र्याएको दुलहीलाई सबै भाइहरूले श्रीमती मान्ने चलन रहेको विषयलाई प्रस्तुत गरिएको छ ।

सञ्चारकर्मी गणेश पाण्डेको निर्देशन र शारदा गैरेको उत्पादन रहेको ‘सहायक श्रीमान्’ डकुमेन्ट्रीमा कर्णाली प्रदेशको हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई उठाइएको छ । भोटबाट आइ बसोवास गर्ने भोटे जाति अर्थात् लामा समुदायमा रहेको अद्भूत र अचम्मित बहुपति प्रथा व्योहोरिरहेका परिवारलाई डकुमेन्ट्रीमा समेट्ने कोसिस गरिएको छ ।

डकुमेन्ट्रीमा प्रस्तुत गरिएअनुसार सो क्षेत्रका अधिकांश लामा समुदायमा सबै दाजुभाइले एउटै श्रीमती विवाह गरेता पनि जेठो दाजुबाहेक अन्य भाइले आफ्नो श्रीमतीलाई भाइजुले सम्बोधन गर्ने चलन छ । तर, भाउजुले भने देवरहरूलाई श्रीमान्कै रूपमा स्वीकार गर्नुपर्ने हुन्छ । डकुमेन्ट्रीले हुम्ला, डोल्पा लगायतका हिमाली क्षेत्रमा रहिआएको बहुपति प्रथाको यथार्थलाई चित्रण गरेको छ ।

डकुमेन्ट्रीमा सांसद छक्कबहादुर लामासमेत एक पात्रका रूपमा रहेका छन् । सांसद लामा बहुपति प्रथाबाट पीडित रहेको उनको अभिव्यक्तिले प्रस्ट्याउँछ । बहुपति प्रथाको विरोध गरेकै कारण उनी समाजबाट बहिष्कृत भएको उनले बताएका छन् ।

प्रेम विवाह गरेका सांसद लामाको श्रीमती माथि उनको भाइहरूले बढी प्रेम गर्न थालेपछि आफू दोस्रो विवाह गरी गाउँबाट सदरमुकाम आएर बसेको उनले बताएका छन् । संस्कृति र परम्पराविपरीत जाँदा उनी समाजबाटै बहिष्कृत हुनुपरेको र अहिलेसम्म गाउँमा जान गाह्रो भएको लामाले जिकिर गरेका छन् ।

डकुमेन्ट्रीका निर्देशक पाण्डेले बहुपति प्रथामा घरको मुली नै श्रीमती हुने बताए । उनले भने, ‘यस प्रथामा महिलाले नै श्रीमानहरूलाई कामको बाँडफाँड गर्छन् । कामको बाँडफाँड अनुसार कुन समयमा कोसँग आफू बस्ने भन्ने निर्णय पनि उनीहरू आफैँ गर्छन् र सोहीअनुरूप सन्तान जन्माउँछन् ।’ यस्तो परम्परा तोडेर जानेहरू संस्कृति र परम्पराविरोधी मानिने र गाउँबाटै बहिष्कृत हुने हुँदा बाध्यताले पनि त्यस समुदायले बहुपति प्रथाको चलनलाई मान्दै आएका छन् ।

राष्ट्रिय सभागृहमा जारी चौथो निफ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, पाँच नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, आठ वृत्तचित्र र ६ एनिमेटेर फिल्म प्रदर्शन गरिनेछ । महोत्सवमा ५५ देशबाट प्राप्त ६ सयभन्दा बढी चलचित्रबाट छनोट गरिएका ८० चलचित्र प्रदर्शन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया