प्रदेश–५ले मनायो स्थापनावर्ष

बुटवल । प्रदेश–५ सरकारले प्रदेश स्थापना दिवस मनाएको छ । २ वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको प्रदेश सरकारले बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले दुई वर्षको अवधिमा सरकारले गरेका कामले समृद्धिको जग बसालेको बताए । उनले प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाइसकेको र त्यहि अनुरूप बजेट निर्माण गरी काम भइरहेको बताए ।

उनले वैशाखमा लगानी सम्मेलनको आयोजना गरी औद्योगिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने बताए । पछिल्लो समय रूपन्देही, परासी, नेपालगञ्ज कोहलपुर करिडोर, दाङ, कपिलवस्तु क्षेत्रमा औद्योगिक विकास रहेको भन्दै औद्योगिक क्षेत्रलाई पहाडका जिल्ला संग जोड्ने रणनीति बनाएको बताए ।

तीन वटा औद्योगिक क्षेत्रको विकासका लागि केन्द्रीय सरकार संग साझेदारी गर्ने र प्रदेश सरकार माताहात आएपछि प्रदेशमा औद्योगिक विकासले फड्को मार्ने बताए । त्यस्तै समृद्धिको जग पर्यटन भएको बताउँदै मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी भ्रमण वर्षका घोषणा गरेको र लुम्बिनीसँगै सम्पूर्ण क्षेत्रमा पर्यटन क्षेत्रको प्रबद्र्धनमा प्रदेश सरकारले जोड दिएको बताए । प्रदेश सरकार शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधारका प्रयासहरू गरेको समेत उनले बताए । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालाई विशिष्टकृत अस्पतालको रूपमा विकास गर्ने योजना प्रदेश सरकारले अगाडि बढाएको समेत बताए ।

उनले संघ, प्रदेश र स्थानिय तहसँगको सहकार्य गरेर अगाडि बढेको समेत बताए । विकासका दृष्टिकोणले प्रदेश सरकारले विकास खर्चको दरमा वृद्धि भएको बताउँदै विकाश गर्ने सामर्थ प्रदेश सरकार संग रहेको बताए । गत वर्ष चार महिनामा ८ प्रतिशत मात्र बजेट खर्च गरेकोमा यस वर्ष १८ प्रतिशत बजेट खर्च गरिएको भन्दै यसलाई उपलब्ध मान्नुपर्ने बताए । शून्य संरचनामा सुरु गर्दाको अवस्थामा र समृद्धिको जग बसाल्ने क्रममा भएको बजेट खर्च हेर्दा प्रदेश सरकारले विकास गर्ने सामर्थ राख्न सक्ने आधारहरू देखिएको उनले बताए ।

स्थापना दिवसको अवसरमा बुटवलको राजमार्ग चौराहदेखि बुटवल बहुमुखी क्याम्पस ¥यालीको आयोजना गरिएको थियो । र्यालीमा मयुर नाच, झर्रा नाच, विभिन्न सांस्कृतिक एवं जातिय झाँकीहरू प्रस्तुत गरपएको थियो । स्थापना दिवसकै अवसरमा बुटवल उपमहानगरपालिका को ६१ औँ स्थापना दिवससमेत मनाइएको छ । सोही अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका का नगरप्रमुख शिवराज सुवेदिले स्थानिय तह गठनपछि जनताका आधारभूत आवश्यकतालाई लक्षित गरेर उपमहानगरपालिकाले काम गरेको बताए ।

३५ जनालाई पदक प्रदान
यसैबीच प्रदेश स्थापना दिवसको अवसरमा ३५ जनालाई विभिन्न पदक बाट सम्मान गरेको छ । लुम्बिनीको विकासमा योगदान पु¥याएका र लुम्बिनीमा शान्ति स्तुपा बनाउँदै गर्दा हत्या गरिएका जापानी भिक्षु नावातामेलाई बुद्ध शान्तिपदक (मरणोपरान्त) दिइएको छ । त्यसैगरी प्रदेश प्रमुख जनसेवा प्रथम पदक साहित्यकार मोदनाथ प्रश्रित, प्रदेश प्रमुख जनसेवा पदक द्वितीय पत्रकार एवं साहित्यकार कृष्ण सेन इच्छुक (मरणोपरान्त) र प्रदेशको प्रथम आवधिक योजना तर्जुमा गर्न योगदान गरेका प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठलाई दिइएको छ ।

संघीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा उल्लेख्य योगदान गरेवापत दाङका भगौता थारूलाई प्रदेश प्रमुख जनसेवा पदक तृतीय तथा पूर्वी रुकुमका सूर्यप्रकाश पुन र परम्परा गौतम श्रीमान श्रीमतीलाई मरणोपरान्त प्रदेश प्रमुख जनसेवा तृतीय दिइएको छ ।

प्रदेशको विकासमा योगदान गरेको भन्दै दाङका स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीलाई मुख्यमन्त्री प्रज्वलद्वीप पदक प्रथम दिइएकोे छ ।

प्रदेशको प्रमुख सचिवको रूपमा उत्कृष्ट काम गरेका डा. तीर्थ ढकाललाई प्रदेश सेवा समर्पण प्रथम र प्रदेशसभा सचिवको रूपमा काम गरेका सुरेन्द्र अर्याललाई प्रदेश सेवा समर्पण पदक द्वितीय दिइएकोे छ ।

समाजसेवाश्री प्रथम पत्रकारितामा योगदान गरेका दाङका नारायणप्रसाद शर्मा, समाजसेवाश्री द्वितीय गुल्मीका शमशेरबहादुर खत्री (मरणोपरान्त), संस्कृत शिक्षा विकासको क्षेत्रमा विशिष्ट योगदान गरेकी दाङकी हिमा उपाध्याय (मरणोपरान्त) र प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गरेको भन्दै बाँकेका अशोककुमार क्षेत्रीलाई दिइएको छ ।

त्यसैगरी समाजसेवाश्री पदक तेस्रोबाट दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेका डा. लेखराज सुवेदी, समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान गरेका पाल्पाका घण्टप्रसाद अर्याल, स्वास्थ्य क्षेत्रमा उल्लेखयनीय योगदान गरेका गौतमबुद्ध मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमलई दिइएकोे छ ।

थारू भाषा साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत दाङका महेश चौधरीलाई प्रदेश रत्न प्रथम, शिक्षा र सामाजिक क्षेत्रमा विशिष्ट योगदान गरेका गुल्मीका परमानन्द भण्डारीलाई प्रदेश रत्न द्वितीय (मरणोपरान्त), कृषि क्षेत्रमा विशिष्ट योगदान गरेका रूपन्देहीका सिपी शर्मा र शशीधर पौडेलले प्रदेश रत्न द्वितीय दिइएकोे छ ।

त्यसैगरी प्रदेश रत्न तृतीय पदक पाउनेमा भाषा साहित्यबाट कपिलवस्तुका डा. विष्णुराज आत्रेय, चित्रकला र मूर्तिकला क्षेत्रबाट रूपन्देहीका नर्वु लामा, शिक्षा क्षेत्रबाट अर्घाखाँचीका बुद्धिबहादुर रायमाझी, अल्लो उद्यम व्यवसायमा उल्लेखनीय योगदान गरेकी चित्रकली बुढा, खेलकुद क्षेत्रमा उल्लेख्य योगदान गरेका गुल्मीका सोमपाललाई दिइएकोे छ । यसैगरी पुथाश्री शिखर द्वितीय पदक पर्यटन क्षेत्रमा योगदान गरेका बांकेका कृष्णलाल चौधरीले प्राप्त गरेका छन ।

प्रदेश प्रज्ञा द्वितीयबाट लुम्बिनी वाणिज्य क्याम्पस र प्रदेश प्रज्ञा तृतीयबाट रेसुङ्गा माध्यमिक विद्यालयलाई विभुषित गरिएको छ । प्रजापति गौतमी तृतीयबाट महिला सशक्तिकरणको क्षेत्रबाट दाङकी पिमकुमारी गिरी र रोल्पाकी भागीरथी घर्तीलाई दिइएकोे छ ।

दंगीशरण बलिहाङ प्रथमबाट थारू भाषा साहित्यमा उत्कृष्ट योगदान गरेका सगुनलाल चौधरी (बेपत्ता), दंगीशरण बलिहाङ द्वितीयबाट मगर भाषा साहित्यमा उत्कृष्ट योगदान गरेका जितबहादुर थापा मगर (मरणोपरान्त)लाई दिइएकोे छ ।

त्यसैगरी दंगीशरण बलिहाङ तृतीयबाट थारू भाषा प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेका बर्दियाका एकराज चौधरी, उर्दु भाषाको क्षेत्रमा उल्लेख्य योगदान गरेका बाँकेका अब्दुल लतिफ सौफ र अवधि भाषा साहित्यमा योगदान गरेका नवलपरासीका कौशलेन्द्र श्रीवास्तवलाई प्रदान गरिएको छ । पदक प्राप्त गर्ने सम्पूर्ण लाई प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री शंकर पोखरेल, संघीय सांसद सुजिता शाक्य, आन्तारिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले सम्मान गरेका थिए । सोही अवसरमा पदक सिफारिस समितिलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया