चीनबाट नेपालीको उद्धार

काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको हुवेई प्रान्तबाट नेपालीलाई उद्धार गरिएको छ । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले वुहान र आसपासका क्षेत्रबाट नेपालीलाई शनिबार राति उद्धार गरेर नेपाल ल्याएको हो ।

विमानस्थलमा उनीहरुको पहिलो चरणको स्वास्थ्य परीक्षण गर्दा कसैलाई पनि संक्रमण देखिएको छैन । १८५ मध्ये १४३ छात्र छन् भने तीनजना बच्चासहितका ४२ छात्रा छन् । उनीहरु सबै वुहान आसपासका सहरबाट विमानस्थल आएका थिए । चीङचउ, चीङमन, वनसी, शयान, यिथाङलगायत सहरबाट उनीहरु बस चढेर विमानस्थलमा आइपुगेका कतिपय विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गरेका थिए । कतिपयले एयरपोर्ट आइपुग्न १२ घण्टाको बस यात्रा गरेका छन् ।

स्थानीय समयअनुसार रातको साढे ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं उडेको थियो । उनीहरुलाई भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । चीनबाट फर्किएकालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ ।

यसैगरी उद्धारमा गएका विमानका ‘ककपिट क्रु’ लाई कम्तीमा एक साता आइसोलेसनमा र बाँकी ‘क्याबिन क्रु’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहेका छन् ।

तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी शनिबार नै पूरा गरिएको छ । भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरी तयारी शनिबार पूरा गरेको सहरी विकास मन्त्रालयअन्तर्गत संघिय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यान्वयन काठमाडौंका सहसचिव कुमार घिमिरेले बताए ।

क्वारेन्टाइनमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै आइसोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रंगरोगन, बगैँचा निर्माण, भौतिक संरचना एवं विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको उनले बताए ।

क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुका साथै प्राधिकरणको चारवटा भवन प्रयोग गर्नेगरी व्यवस्थापन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्नेगरी चारवटा भवनमा सबै संरचना जडान गरी व्यवस्थापन गरिएको छ । भवनमध्ये ब्लक ए मा ८६, ब्लक बि मा ८९ र ब्लक सि मा २५ जना गरी कूल २०० जना क्षमता रहेको क्वारेन्टाइन तयार पारेको सचिवालयका उपसचिव विदुर खड्काले बताए ।

क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सिसिक्यामरा, आठ टेलिभिजन, सबै ब्लकमा स्पीकर जडान गर्नुका साथै तीनवटा वासिङ मेसिन, ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रस, माक्स र औषधिलगायत दैनिकरूपमा आवश्यक सबै सामग्री प्रत्येक श्यैयामा शनिबार नै पु¥याइएको छ । एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीन श्यैया रहने गरी कोठाको व्यवस्थापन गरिएको छ ।

शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ । मनोरञ्जनका लागि दुई ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने क्यारेमबोर्ड, लूडो र बच्चाका लागि बललगायतका खेल सामग्री व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभई कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ ।

दुईवटा स्वास्थ्य टोली चौबिसै घण्टा रहनेछन, जसमध्ये नेपाली सेनाका क्याप्टेन डा.नवीन फूँयालको नेतृत्वमा नर्ससमेत स्वास्थ्य टोली क्वारेन्टाइनभित्र रहनेछ । नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहितको संयुक्त चिकित्सक टोली तयारी अवस्थामा बाहिर रहनेछ । क्वारेन्टाइनमा पुगेको २४ घण्टाभित्र र १४ दिनमा स्वास्थ्य जाँच एवम् रगत संकलन गरिनेछ । अरु दिन व्यक्ति स्वयम्ले स्व–जाँच गर्न मिल्ने थर्मोमिटरका माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुईपटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नुपर्नेछ ।

कुनै कुरा आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ । जाँच शंकास्पद देखिए क्वोन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल तथा शसस्त्र प्रहरी अस्पतालमा अबिलम्ब स्थानान्तरण गर्नेछ । सरकारले विभिन्न अस्पतालमा १४७ आइसोलेसन वार्ड तयार पारेको छ ।

क्वारेन्टाइनमा रहँदा अभिभावकसँग प्रत्यक्षरूपमा भेटघाट गर्न पाइने छैन । क्वारेन्टाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ । प्रत्येक दिन बिहानको नास्ता, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ । ६ वटा खाना संकलन केन्द्रमा राखिएपछि कन्ट्रोल रुमबाट माईकमार्फत जानकारी गराएपछि खाना लिने व्यवस्था गरिएको छ ।

पत्रकारका लागि क्वारेन्टाइन बाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्यांकीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ । चौबिसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ । क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ ।

प्रतिक्रिया