पर्सिजाको जितमा रोहितको गोल

काठमाडौं । राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले बिहीबार पर्सिजा जकार्ताका लागि गोल गरेका छन् । जकार्ताले मलेसियाली क्लब सबाह एफए माथि २–० को जित निकाल्दा रोहितले टोलीका लागि दोस्रो गोल गरे । पर्सिजाले प्रिसिजन अन्तर्गत इस्ट जाभा गभर्नर्स गोल्डकपमा सहभागिता जनाइरहेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा पर्सिजाका लागि फरवार्ड मारको सिमिच र रोहितले १–१ गोल गरे । यसअघि समूह चरणको पहिलो खेलमा पर्सिजाले पर्सेला लामोंगानलाई ४–१ ले पराजित गरेको छ ।

पर्सिजाको २ खेलमा ६ अंक छ । अब समूहको अत्निम खेलमा पर्सिजाले समान ६ अंक बोकेको अरिमा एफसीसँग प्रतिस्पर्धा गर्नेछ । यस खेलमा विजयी भएको खण्डमा टोली समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । अरिमाविरुद्धको खेल शनिबार हुने कार्यक्रम रहेको छ ।
सन् २०१३ मा रोहित पहिलो पटक पर्सिजामा आबद्ध भएका थिए ।

पछि २०१५ मा मलेसियाका सुपर लिग टोलीमा आबद्ध हुँदा उनको घुँडामा चोट लागेको थियो । त्यसपछि भने उनी झन्डै एक वर्ष भन्दा लामो समय मैदान बाहिर बस्नु परेको थियो । चोट मुक्त भएर २०१७ मा पुनः उनी पर्सिजामा आबद्ध भएका थिए । दुई वर्षअघि पर्सिजालाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । रोहितले यसै सिजनको सुरुवातमा क्लबसँग २ वर्षको लागि सम्झौता नवीकरण गरिसकेका छन् ।

प्रतिक्रिया