खोजखबर

सारंगीलाई हेप्ने !

सामयिकी

डा. धनप्रसाद सुवेदी २०७६ फागुन ३ गते ६:४१ मा प्रकाशित

बहालवाला प्रधानमन्त्री र दुईजना पूर्वप्रधानमन्त्रीले एउटा सांगीतिक कार्यक्रममा बाँसुरी, सारंगी, मादल बजाएको विषयलाई लिएर यतिवेला सामाजिक सञ्जालमा खुब आलोचना भइरहेको छ ।

प्रधानमन्त्री रहेका र भइसकेका व्यक्तिले बाँसुरी, सारंगी, मादल छुनु, बजाउनु भनेको दुनियाँमा कहीँ नभएको अक्षम्य अपराध हो भनेजस्तै गरी सामाजिक सञ्जालमा टीकाटिप्पणी भएको देख्दा हाम्रो चिन्तन, बुझाइ ‘कुर्कुरे बैँसमा कुकुरको पुच्छर बांगो देख्दा पनि हाँस उठ्ने’ स्तरमा रहेछ भन्ने लाग्यो ।

सायद हामीलाई धेरै फुर्सद भएर, अरूको टीकाटिप्पणी नगरी खाएरको नपच्ने भएर अनि त्यसको अभिव्यक्तिको मुख्य माध्यम सामाजिक सञ्जाल भएकाले पनि हामीलाई हरेक साप्ताहिक, अर्धसाप्ताहिक रूपमा एउटा एउटा आलोचनाको खजानाको खाँचो हुने गरेको छ । प्रधानमन्त्रीको बाँसुरी प्रकरण पनि यस्तै खजाना भएको देखिन्छ ।

हामी चिया पसल, चौतारो, सार्वजनिक यातायातदेखि लिएर बिहे, बटुलो, भोजभतेर जस्ता हरेक जमघटमा नेताको आलोचना र गाली गर्न अघि सर्छौं । त्यस्ता जमघटमा हामीले गर्ने कुराको सार हुन्छ, हाम्रा नेता खत्तम भए, नेताले देश बिगारे । हुन पनि हाम्रो नेतृत्व अपेक्षा गरेजस्तो नभएकै हो ।

जनअधिकार, राष्ट्रियता र परिवर्तनका लागि जेलनेल भोगेका, टाउकोको मोल तोकिएका नेताहरू जब सत्तामा पुग्छन्, तब ‘जुन जोगी आए पनि कानै चिरेका’ अथवा ‘उही ड्याङको मूला’ भनेजस्तै कुराले आकाश–पाताल हाँक्छन् तर कामले भने माखो मार्दैनन् । नातावाद, चाकडी, भ्रष्टाचार, कुर्सीमोहको चक्रव्यूहमा रुमलिन्छन् ।

त्यसैले, हाम्रा प्रायः सबै नेताले जनविश्वास गुमाइसकेका छन् र जहाँसुकै उनीहरूको आलोचना हुन्छ, जुन स्वाभाविक पनि छ । तर, चिया पसलदेखि बिहे भोज र कसैको मलामी जाँदासमेत जो सबैभन्दा बढी चर्को स्वरमा नेतालाई गाली गर्छ, नेताका ढोकाढोका चहारेर चाकडी बजाउने अनि ठूला संरचना, जस्तो सडक, नहर, भवनदेखि लिएर दशैँमा हालिने पिङसमेतको उद्घाटनका लागि नेतालाई बोलाउने पनि उही हुन्छ ।

कवि केवलपुरे किसानले उहिल्यै ‘उद्घाटनका लहरहरूले सारा नेपाल..’ कवितामार्फत् उद्घाटनका नाममा हुने विकृतिप्रति व्यंग्य गर्नुभएको थियो । हुन पनि हाम्रा नेता, जनप्रतिनिधिको मुख्य काम नै उद्घाटन नै हो कि जस्तो देखिन्छ र कोहीकोही वेला त लाग्छ, प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्मको काम उद्घाटन र अतिथिका लागि दौडिनु हो ।

यदि त्यसो हो भने चुनाव नामको जात्रा नगरे हुने थियो भन्न सकिन्छ । हामी जनता उस्तै छौँ, कुनै कार्यक्रम गर्नुपर्दा सकेसम्म प्रधानमन्त्री, मन्त्री, पार्टी अध्यक्षलाई नै कार्यक्रमको प्रमुख, विशेष, विशिष्ट अतिथि बनाउन मरिहत्ते गर्ने । अनि हामी मतदाता भनौँ वा जनताको यस्तो मनस्थितिभन्दा हाम्रा नेताको सोच पनि भिन्न हुने कुरै भएन ।

‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै अरू सबै कुरा छाडेर हाम्रा मन्त्री, सांसद, मेयर, उपमेयर, वडाअध्यक्ष अनि पार्टीका नेता प्रमुख र विशिष्ट अतिथि हुन, समाचारमा नाम छपाउन र फेसबुकमा फोटो पोस्ट्याउन मरिहत्ते गर्छन् । प्रधानमन्त्री र केही भूपू प्रधानमन्त्रीले सारंगी, बाँसुरीहरू बजाएको कुरा त्यही उद्घाटन संस्कृतिको एउटा शृंखला हो, कुनै अनौठो र यत्रोविधि हल्लाखल्ला गर्न आवश्यक कुरो हुँदै होइन ।

प्रधानमन्त्री, मन्त्री, पार्टीका केन्द्रदेखि तल्लो समितिसम्मका पदाधिकारी, नेताहरू हरेक दिन कुनै न कुनै कार्यक्रममा अतिथि भएकै हुन्छन्, कार्यक्रमको प्रकृतिअनुसार रिबन काटेर, बत्ती बालेर, स्विच दबाएर, गमलामा पानी हालेर, पिरामाथि उभिएर सलामी खाएर, किताबका कभर देखाएर, सिठ्ठी फुकेर, बोको पर्सिएर, ढोल र झ्याम्टा बजाएर, फेटा गुथेर, भलिबल वा फुटबल फ्याँकेर, गुडाएर, शंख फुकेर वा अरू कुनै तरिकाले कार्यक्रमको उद्घाटन, विमोचन, शुभारम्भ, श्रीगणश आदिका औपचारिकता पूरा गरेकै हुन्छन् ।

त्यस्ता कुरामा हामीलाई चासो हुँदैन । करोडौँ, अर्बौं रुपैयाँ घोटाला भएर बन्ने सडक, भवन, नहर, खानेपानी, बिजुली आदिका उद्घाटन गरेको कुरालाई हामी एकदमै राम्रो काम ठानिरहेका हुन्छौँ । महिला, दलित, जनजाति, बालबालिका, मानवअधिकार आदिका नाममा ठूलाठूला होटलमा महँगा विदेशी रक्सीको चुस्कीसँगै अर्बौं खर्बौं रुपैयाँ झ्वाम्म पार्ने कार्यक्रममा हाम्रा नेताहरू सरिक भइरहेका हुन्छन्, हामीलाई यतातिर कुनै चासो छैन ।

तर, कला क्षेत्र, जसलाई राज्यले सधैँ उपेक्षा गरेको छ, बाँसुरी, सारंगी, मादलजस्ता नेपाली मौलिकताका वाद्यवादनहरू, जुन आधुनिक वाद्यवादनहरूका चपेटामा लोप हुने अवस्थामा पुगेका छन्, तिनको प्रवद्र्धनका लागि कलाकारले कार्यक्रम गर्न चाहे र सधैँ उपेक्षित रहेको क्षेत्रतर्फ देशका प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरूलाई ध्यानाकर्षण गराउन खोजे ।

हुनसक्छ, धेरै मुस्किलले, अनेक प्रयत्नपछि आयोजकले त्यो अवसर पाए । अनि यस्ता कुरामा चाहिँ हामीलाई असह्य हुने ? केके न भएजस्तो गरेर सामाजिक सञ्जालमा कुर्लने ? यसबाट स्पष्ट हुन्छ– हाम्रो सोच, चिन्तन, विचार अनि कलाकारिताप्रतिको धारणा ।

हामी असल भएर निस्कनासाथ अहिलेका हाम्रा नेता पनि असल हुन बाध्य हुन्छन्, नत्र विस्थापित हुन्छन् र अरू असलहरू जन्मिन्छन् । सामाजिक सञ्जालमा नेताहरूलाई खुइल्याइरहँदा हामीले आफूतिर पनि फर्किएर हेर्न आवश्यक छ होला भन्ने लाग्छ । प्रधानमन्त्रीले बाँसुरी बजाएको कुरालाई कतिपयले सामाजिक सञ्जालमा ‘रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ’ भन्ने ऐतिहासिक उक्तिसँग जोडेर व्यंग्य गर्न भ्याए ।

रोम जलिरहँदा निरोले बाँसुरी बजाएकाले ऊ इतिहासको नालायक शासक थियो भन्ने कुरा दुनियाँमा स्थापित छ । ऊ एकजना निर्दयी र नालायक शासकको बिम्ब बनेको छ । तर, निरोले त्यस्तो अवस्थामा बजाएकाले बाँसुरी पनि खराब वाद्यवादन हो भन्ने त होइन । त्यसैले बाँसुरी बजाउने शासक जति सबै निरो हुन् भन्ने ठान्नु गलत हुन्छ ।

कलासम्बन्धी कार्यक्रमको शुभारम्भका लागि अतिथिका रूपमा उपस्थित भएर बाँसुरी बजाउने र देश जलिरहँदा त्यस देशको शासकले बाँसुरी बजाउने कुरा कत्ति पनि मेल खाँदैन । यतिवेला चीनमा फैलिएको कोरोना भाइरसले जनमानसमा त्रास छ, नेपाली जनताका अभाव र महँगीको मारमा छन्, सीमा अतिक्रमण छ, एमसिसीको बहसमा देश विभाजित छ । यस्तोवेला प्रधानमन्त्रीले बाँसुरी बजाउनु भनेको सम्राट निरो हुनु हो भन्ने तर्कका साथ कतिले सामाजिक सञ्जालमा बाँसुरी प्रकरणको तीखो आलोचना गरेका पाइन्छ ।

उनीहरूले भनेजस्तै नेपालको अहिलेकोे परिस्थिति सुखद छैन, ठीक हो, तर असहज परिस्थिति छ भन्दैमा कलाकारले कार्यक्रम नगर्नु ? यस्तो असहज परिस्थितिमा ठूलाठूला तारे होटलमा कति कार्यक्रमहरू भए होलान् ? रक्सीका बोतलहरू कति फोडिए होलान् ? गरिब जनताका नाममा छुट्टिएका कति बजेटहरू हाम भए होलान् ? त्यतातिर कसले खोज्यो ? अनि कलाकारले एउटा कार्यक्रम गरेर नेतालाई बोलाएको कुराचाहिँ आलोचित हुने किन ? के सारंगी, मादल, बाँसुरीजस्ता वाद्यवादनका साधनहरू गरिब, दलित, दुखीहरूले मात्रै बजाउने साधन हुन् ?

प्रधानमन्त्रीहरू जस्ताले अर्बौं बजेटबाट बन्ने र करोडौँ कमिसनको खेल हुने ठूला परियोजनाहरू, भवनहरू, मेसिनहरूसँग सम्बन्धित कार्यक्रममा मात्र जानुपर्ने हो ? होइन भने वर्तमान र पूर्वप्रधानमन्त्रीहरूले बाँसुरी, सारंगी, मादलहरू बजाउँदा किन कोकोहोलो मच्चाउनुपर्ने ? के कला, संगीत, साहित्य भनेका सस्तो मनोरञ्जनको साधन मात्र हुन् ? सारंगी, मादल, बाँसुरीहरू सुख र मनोरञ्जनका साधन मात्र होइनन्, दुःख, पीडा, वेदना र जीवन भोगाइका सबै क्षणको अभिव्यक्तिको सामथ्र्य हुन्छ यिनमा । त्यसैले बाँसुरी बजाउनेहरू सबैलाई निरो देख्नेहरूले एक पटक तिलगंगा गएर आँखा जँचाउन आवश्यक छ ।

कलालाई सस्तो मनोरञ्जनका साधन मात्र ठान्ने मानसिकताले हामी ग्रस्त छौँ । कलामा जीवन, संस्कृति, इतिहास, सभ्यता निहित हुन्छ भन्ने कुरालाई आत्मसात् गर्ने हो अहिलेको बाँसुरी प्रकरण आलोचनाको विषय हुनै सक्दैन । तर, हामीले कलालाई त्यसरी हेर्न र आत्मसात् गर्न चाहँदैनौँ । अझ बाँसुरी, मादल, सारंगी, बिनायो, मुर्चुगा जस्ता बाजाहरू त झन् गरिब, जनजाति, दलितहरूले बजाउने बाजा परे ।

त्यस्ता बाजा प्रधानमन्त्री जस्ता ठूला पदका अनि ठूला भनिने जातिका मानिसले बजाउनु हाम्रा लागि अति नै अपाच्य भयो । त्यसैले, बाँसुरी प्रकरण बाहिरबाट हेर्दा प्रधानमन्त्री, नेताहरूको आलोचना जस्तो देखिए पनि यथार्थमा यो कलाकारिता, हाम्रा मौलिक वाद्यवादन अनि ती वाद्यवादनसँग जोडिएर आएको गरिब, उत्पीडित जाति, वर्ग र समुदायप्रति हामीमा रहेको हेपाहा मानसिकताको अभिव्यक्ति हो ।

अर्को तरिकाले भन्दा यो हाम्रो चेतन–अवचेतन मनमा रहेको ठुल्याइँ, मालिक्याइँ अनि हाम्रा आफ्ना मौलिक कुरालाई उपेक्षा र पराईका तामझामवाला कुराप्रतिको आशक्तिको अभिव्यक्ति हो । गलत कामको आलोचना गर्नुपर्छ । हाम्रा नेताहरू श्रद्धा, सम्मान, प्रशंसाका लायक हुन सकेनन्, आलोचनाका पात्र मात्र बनिए । त्यसैले नेताहरूप्रति आलोचना, व्यंग्य र अझ गालीगलोज पनि हुने गरेको छ, त्यो हुन्छ । तर, जुनसुकै कुरामा पनि आलोचना गर्नैपर्छ अथवा आफ्नो पक्षको नेता छ भने जस्तोसुकै गलत कुरा होस्, ढाकछोप गर्नुपर्छ, चाकडी गर्नुपर्छ भन्ने कुराचाहिँ ठीक होइन ।

हाम्रा नेता असल र कुशल भइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो । उनीहरू असल र कुशल नभइदिएकामा हामीले उनीहरूको आलोचना गर्ने हो । व्यक्तिको गुण र दोषका आधारमा प्रशंसा वा आलोचना गर्नुपर्ने हो तर हामीमा त्यो संस्कृतिको अभाव छ । हामी गलत कुराको आलोचना होइन, गालीगलोजमा उत्रिन्छौँ र राम्रा कुराको समर्थन होइन, अनावश्यक प्रशंसा, स्तुति र चाकडीमा लाग्छौँ । यी दुवै कुराले गर्दा हाम्रा नेताहरू बिग्रिएका हुन् । नेताहरू बिग्रिनमा हामी जनताको पनि ठूलो हात छ ।

हामीलाई मनपरे पनि वा मन नपरे पनि, जनअपेक्षा र युगीन आवश्यकताअनुसार असल र कुशल हुन नसकेका भए पनि अहिलेका हाम्रा नेता भनेका यिनै केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, उपेन्द्र यादव, बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द, कमल थापाहरू नै हुन् । जति नै राम्रा र जति नै शक्तिशाली भए पनि सी जिनपिङ, नरेन्द्र मोदी, डोनाल्ड ट्रम्पहरूबाट हाम्रो नेतृत्व हुने होइन ।

कुटे पनि, पिटे पनि मेरा बाउ यिनै हुन् भनेजस्तै अवस्थामा हामी छौँ । र, हामीले आत्मसात् गर्नैपर्ने कुरा, नेता हामीबीचबाटै जन्मिने हुन्, जनता अर्थात् हामी असल भयौँ भने कमसलहरू नेता भइरहन सक्दैनन् । हामी असल भएर निस्कनासाथ अहिलेका हाम्रा नेता पनि असल हुन बाध्य हुन्छन्, नत्र विस्थापित हुन्छन् र अरू असलहरू जन्मिन्छन् । सामाजिक सञ्जालमा नेताहरूलाई खुइल्याइरहँदा हामीले आफूतिर पनि फर्किएर हेर्न आवश्यक छ होला भन्ने लाग्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय