भोको पेटमा बलेको आगो

समसामयिक विषयलाई टपक्क टिपेर कथाहरूमा उनिएको सुन्दर लघुकथा माला हो सुशिला देउजाको लघुकथा संग्रह ‘पेटको आगो’ । संग्रहित कथाहरू समाजमा मानिस मानिसबीच हुने द्वेष इष्र्या भावलाई मेटाएर सकारात्मक सोच र परिवर्तनको स्वर पाइन्छ । जीवन भोगाइ र अनुभूतिले सायद स्रष्टाका कलम चल्छन् कथाकार देउजाको कलमले पनि तिनै भोगाइलाई कथामार्फत् उठान गरेको छ ।

लघुकथा छोटो कथा भएकाले यसको संरचनाभित्र संग्रह विषय र प्रस्तुति अटाउन सक्नु कथाकारिताको अर्को शिल्प हो । कथाकार देउजाले पेटको आगो कथामा त्यो शिल्पलाई अव्वलका साथ उठाउनु भएको छ । नुनको सोझो कथाले समाजभित्रको कुरूप पक्षलाई प्रस्तुत गरेको छ । जसको नुन खायो उसैका लागि जेसुकै पनि गर्न तयार हुने सामाजिक विसंगतिलाई कथामा प्रस्तुत गरिएको छ ।

बढ्दै गएको चाकडी, चाप्लुसी, नातावाद, कृपावादलाई राम्रो व्यंग्य गर्न सफल नुनको सोझो कथामा दाजुभाई बीच पनि गोली हानाहान हुने अवस्था सिर्जना भएको छ । दाजुभाइबीचको प्रेम र सम्बन्ध थाहा हुँदाहुँदै पनि नुन खाएको व्यक्तिलाई रिझाउन गोली हान्न तयार हुनु हाम्रो समाजको सग्लो चित्र हो । राजनीतिलाई नै व्यंग्य गर्ने अर्को कथा छ सहमति ।

सहमति कथामा दिनैजस्तो नेपाली राजनीतिमा हुने छलफल, वार्ता र सहमतिको सन्दर्भलाई मज्जाले प्रहार गरेको छ । नेताहरू जनता झुक्याउन ठूला ठूला होटलमा बस्छन् । बैठक गर्छन् र कुनै न कुनै बुँदामा सहमति भयो भनेर आउँछन् त्यसै सन्दर्भलाई कथाले सरल रूपमा उजागर गरेको छ ।

पछिल्लोपटक नेपालमा भएको आन्दोलन परिवर्तनका सन्दर्भमा उठाइएका मुद्दालाई समेत कथामा उठान गरिएको छ । नेपाल आएपछि नेपालीहरू निकै इमानदार हुन्छन् भन्ने एक विदेशी पाहुनाको सोचाइ गलत भएको छ । कथामा सकारात्मक सोच लिएर नेपाल आइपुगेका एक विदेशी पाहुना विमानस्थलबाटै बन्दको मार खेप्न बाध्य हुन्छन् ।

नेपालमा जातीय राज्यको माग गरेर चकाइएको आन्दोलनका कारण ती पर्यटकले नेपालको सुन्दर दृष्य हेर्न पनि पाउँदैनन् । ती पर्यटक नेपाल नभई अरू कुनै देश पो पुगेछु कि क्या हो भन्ने सोचमा पुगेर कथा सकिएको छ । घर बस्ने भो, हरामको कमाइ, हस्ताक्षर, सम्बन्ध, कुम्भकर्ण । परिवर्तन, मजबुरीजस्ता कथाले छोटोमै सामाजिक बेथिति, राजनीतिक खिचातानीजस्ता विषयलाई सटिक रूपमा प्रस्तुत गरिएको छ ।

कथाकार राजनीतिकदेखि समाजजिक सांस्कृतिक र मानसिक उपजहरूलाई समेत कथामा समेट्न सफल देखिएको पाइन्छ । छाउपडी शीर्षकको कथामा महिलाको महिनावारीलाई लिएर बनेका पारिवारि र सामाजिक अनि घार्मिक सोचलाई प्रस्तुत गरिएको छ । हिन्दू धर्म मान्नेहरू महिनावारीलाई पापको रूपमा हेर्छन् । चार दिनसम्म महिनावारी हुँदा छोइ बार्ने चलन र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा प्रथाको रूपमा रहिरहेको छाउपडी प्रथालाई कथामा समेट्नु सकारात्मक पक्ष हो ।

खास गरी सुदूरपश्चितिर महिलालाई महिनावारी हुँदा अलग्लै गोठमा राख्ने चलन प्रथाकै रूपमा रहेको छ । छाउपडी बस्दा गोठमै महिलाहरू निसास्सिएर र मरेका छन् सर्पले टोकेर मरेका छन् भने बलात्कृत हुनुपरेको अवस्थासमेत छ । अहिले सरकारले समेत यो प्रथाको विरोधमा छाउ गोठ भत्काउने अभियान चलाइरहेको सन्दर्भमा कथाकारले कथामा छाउ बसेकी निर्दोष नारीको मृत्युलाई प्रस्तुत गरेको छ ।

जुजु शीर्षकको कथाले नेपाली समाजमा जेष्ठ नागरिकप्रति गरिने व्यवहारलाई उठाएको छ । तागत छउञ्जेल आफ्ना हुने बल सकिएपछि छोराछोरीबाटै आश्रमतिर छोडिनुपर्ने बाध्यतालाई यस कथाले सरल रूपमा चित्रण गरेको छ । मन्दिर जाने भनेर झुक्याएर आफ्नै सन्ताले वृद्धाआश्रम पु¥याउँदाको वियोगान्त कथालाई समेत कथाकारले छोटो कथामा आएको पाइन्छ ।

शीर्ष कथामा पेटमा लागेको आगोको रूपलाई चित्रण गरिएको छ । एक वृद्धाले नातिको जन्मदिनमा मन्दिरमा गएर दीर्धायुको कामना गर्नु गरिबलाई एक छाक खाना खुवाउन खोज्दै पसल पुग्नु र पसलमा केही चन्दा माग्ने मान्छेहरू आएर धम्क्याउनुजस्ता सन्दर्भ हाम्रो समाजकै बिम्ब हुन् । कथामा लुटेर, धम्काएर खान पल्केकाहरूलाई पेटको आगो कस्तो हुन्छ भन्ने देखाउने कथा छ कृतिभित्र ।

परदेश, ऊ आएन, पुन्य कमाउने तरिका, पीडितलगायत ७५ वटा कथा छन् पेटको आगो कथा संग्रहभित्र । लघुकथाकार सुशिला देउजाले हाम्रै वरिपरिका समाजिक, सांस्कृतिक, राजनीतिक र धर्मिक विषयलाई सरल रूपमा प्रस्तुत गरेको देखिन्छ । ससाना विषयलाई कथामा रोचक ढंगले प्रस्तुत गर्न सक्नु कथाकारको निकै राम्रो शैली हो ।

मानिसले आफ्ना जीवनमा भोगेका देखेका र अनुभूत गरेका विषयलाई रोचक रूपमा प्रस्तुत गरिएको पेटको आगो कथा संग्रभित्रका कथाहरू पढेपछि पाठकहरू आफ्नै कथानुभूति गर्न सक्छन् । संग्रहभित्रका कथाले प्रायः विषयलाई उठाइदिएको छ तर निष्कर्ष के हो भनेर समाधान दिन भने सकेको छैन । तर, कथा प्रस्तुतीको शैलीले पाठकलाई लघुकथा पढ्नमा रुचि भने जगाउँदै जान सक्ने देखिन्छ ।

लघु कथा विधामा पेटको आगो कथासंग्रह अब्बल कृति हो । यसले नेपाली साहित्यको लघुकथाकाशमा एउटा इँटा थपेको छ ।

कृतिः पेटको आगो
लघुकथाकारः सुशिला देउजा
प्रकाशकः समी साहित्य प्रतिष्ठान
विधाः लघुकथा
पृष्टः १०८
मूल्यः रु १९९

प्रतिक्रिया